टोकियो १२ जुलाई १२ । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको मङ्गलबार अन्त्येष्टि गरिएको छ । जापानका लोकप्रिय नेता आबेको शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला एक व्यक्तिले गोली प्रहार गरेपछि निधन भएको हो । गोली प्रहार गरेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ४१ वर्षका ती व्यक्तिले घरेलु बन्दुक प्रयोग गरेको पाइएको छ ।
टोकियो टावरमा रहेको जोजोजी मन्दीरमा उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिका क्रममा उहाँकी श्रीमती अकी, जापानका प्रधानमन्त्री फुमियो किशिदा, केही सांसदहरू र विदेशी प्रतिनिधि तथा व्यवसायीक अगुवालगायत सहभागी भएका थिए । सन् १९५४ मा जन्मिनु भएका आबेको ६७ वर्षको उमेरमा निधन भएको हो ।
देशको पश्चिमी क्षेत्रमा पर्ने नारा भन्ने सहरमा चुनावी मन्तव्य दिइरहेका बेला उनको हत्या भएको हो । लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेता समेत रहेका आबेले आफ्नो पार्टीलाई जिताउनका लागि चुनावी सभाहरूमा सम्बोधन गर्दै आएका थिए । आबेको निधन भएपनि पूर्व निर्धारित निर्वाचन भने गत आइतबार नै भएको छ ।
दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाएका आबले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिएको थिए । आफ्नो अस्वस्थताका कारण पर्याप्त काम गर्न नसकेको भन्दै उनले राजीनामा दिएका थिए ।
उनी सन् १९९३ देखि निरन्तर नौ पटक सांसद भएका थिए । उनले पार्टीमा सामाजिक मामिला विभागको निर्देशक र महासचिवको जिम्मेवारी निर्वाह गरेका थिए भने सरकारी भूमिकामा मन्त्रिपरिषद्को उपप्रमुख सचिव र प्रमुख सचिव भएर काम गरेका थिए । मन्त्रिपरिषद्मा भने २००५ मा उनले पहिलो पटक सहभागी हुने मौका पाएका थिए ।
उनी पहिलो पटक सन् २००६ मा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । त्यति उनी जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका थिए ।






