बेलायत – ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्यूएस) ले आगामी आइतबार, ८ नोभेम्बर २०२६ का दिन लण्डनमा आयोजना हुने वार्षिक ‘रिमेम्बरेन्स सन्डे परेड’ मा सहभागी हुन आफ्ना सम्पूर्ण सदस्यहरूलाई हार्दिक आह्वान गरेको छ।
पहिलो तथा दोस्रो विश्वयुद्धका साथै विश्वका विभिन्न युद्धहरूमा वीरगति प्राप्त गरेका भूतपूर्व गोर्खा सैनिक तथा पुर्खाहरूको योगदान र त्यागको सम्मान गर्दै उहाँहरूको स्मृतिमा यो परेड आयोजना गर्न लागिएको हो।
लण्डनको मुख्य परेड सम्पन्न भएपश्चात् बिजिडब्यूएसका सदस्यहरू बेलायती रक्षा मन्त्रालय नजिकै रहेको गोर्खा स्मारकमा पुग्ने कार्यक्रम छ। त्यहाँ संस्थाका अध्यक्ष मेजर टिकेन्द्रदल देवान जेपीले पुष्पाञ्जली अर्पण गरेपछि पुर्खाहरूको स्मृतिमा दुई मिनेट मौनधारण गरिनेछ।
बिजिडब्यूएसले हरेक वर्ष यस परेडमा सक्रिय सहभागिता जनाउँदै आएको छ। यस वर्षको परेडका लागि आयोजकका तर्फबाट ६० वटा टिकट उपलब्ध गराइएको संस्थाले जनाएको छ।
लण्डनको कार्यक्रम समापन भएपछि फार्नबोरोस्थित ‘गोर्खा भवन’ मा सहभागी सदस्यहरूका लागि भेटघाट तथा रात्रिभोज (मेसिङ) को व्यवस्था गरिएको छ। उक्त भेटघाट कार्यक्रमका लागि सुरेन्द्र चोम्बाङले एक ब्यारल बियर प्रायोजन गर्नुभएको जानकारी बिजिडब्यूएसका जनसम्पर्क सचिब प्रकाश गुरुङले जानकारी दिनुभएको छ।
कार्यक्रमको चुस्त व्यवस्थापन तथा आवश्यक तयारीका लागि इच्छुक सदस्यहरूलाई यथाशीघ्र आफ्नो नाम दर्ता गराउन संस्थाले अनुरोध गरेको छ। साथै, परेडमा सहभागी हुने सम्पूर्ण सदस्यहरूका लागि ‘गोर्खा ह्याट’ अनिवार्य गरिएको छ।






