काठमाडौं । सरकारले दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारीले ४६ औं दिनमा अनशन स्थगित गरेकी छन् ।

जेठ १५ गतेदेखि अनसनमा बसेकी अधिकारीलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले शुक्रबार साँझ जुस खुवाएका हुन् । त्यसअघि उनलाई कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षर गरेको दुई बुँदे पत्र दिइएको थियो ।
पत्रमा २०७२ असोजमा जनाएको पाँच बुँदे प्रतिवद्धता कार्यान्वयन गर्ने उल्लेख छ । साथै त्यसको अनुगमन गरी प्रतिवेदन बनाउन सरकार र गंगामायाले तोकेको प्रतिनिधि रहेको अनुगमन समिति बनाउने पनि पत्रमा उल्लेख छ ।
गंगामायाले छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै आएकी छन् । वीर अस्पतालमा अनशनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीको केही वर्षअघि निधन भएको थियो । छोरा नुरप्रसाद वेपत्ता छन् ।
हत्या आरोपी छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्म समर्पण गरेपछि उनलाई डिल्ली बजार कारागारमा राखिएको छ ।






