काठमाडौं २४ अगस्ट २०२२ । किर्तीमानी आरोही दिवंगत शम्भू तामाङको स्मृतिमा प्रकाशित ‘स्मारिका’ विमोचन गरिएको छ ।
तामाङ रिमठिम पर्यटन सञ्जालले बुधबार काठमाडौंको पकनाजोलस्थित एक होटलमा आयोजना गरेको कार्यक्रममा पूर्वरक्षामन्त्री एवं नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान, वाग्मती प्रदेश उपसभामुख राधिका तामाङ, आयोजक संस्थाका अध्यक्ष अमर बमजन तामाङले स्मारिका विमोचन गरेका हुन् । स्मारिकामा आरोही तामाङको संघर्ष, उहाँले पुर्याउनुभएको योगदान, उहाँप्रति विभिन्न व्यक्तिहरुले दिएको प्रतिक्रिया र तामाङ रिमठिम पर्यटन सञ्जालको गतिविधि समेटिएका छन् ।
स्मारिका प्रकाशक तामाङ रिमठिम पर्यटन सञ्जाल र सहप्रकाशक तामाङ सोसाइटी अफ अमेरिका रहेको छ । स्मारिका विमोचन कार्यक्रममा महासचिव छेटुप लामाले स्वागत मन्तव्य राख्नुभएको थियो भने पत्रकार विष्णु मोक्तानले स्मारिकाका विषयबारे प्रकाश पारेका थिए ।
संस्थाका पदाधिकारी, पर्यटनसँग सम्बन्धित विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिलगायतको उपस्थिति थियो ।
क्यान्सरले थलिएका आरोही शम्भू तामाङको गत असार २३ गते हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो । उनी ६७ वर्षको थिए । तामाङले सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी गिनिज बुकमा नाम लेखाउन सफल भए ।
सिन्धुपाल्चोकको ह्रिस्याङगोमा जन्मिएका तामाङले सन् १९७३ मे ५ को दिन १७ वर्ष ६ महिना १५ दिनको हुँदा सगरमाथा सफल आरोहण गरेका थिए । उनले आरोहण गरेको २९ वर्षपछि मात्रै अर्का आरोही तेम्बाछिरीले १६ वर्षको उमरेमा सगरमाथा आरोहण गरेर तामाङको रेकर्ड तोडेको थियो ।






