काठमाडौं अगस्ट ३१ ।

वरिष्ठ पत्रकार बबिता बस्नेतको पुस्तक ‘समय साक्षी’ सार्वजनिक भएको छ ।
प्रकाशक संस्था बुक हिलले आज आयोजना गरेको कार्यक्रममा प्रथम गभर्नर हिमालय शम्शेर राणा, कथाकार भुवन ढुङ्गाना, लेखक बस्नेत र उनका मातापिताले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पहिलो गभर्नर राणाले यात्रा गर्दाको दैनिकीको स्वरुपमा पुस्तक आएको बताए । तीनचार पृष्ठका छोटा अध्याय रहेकाले पुस्तक पढ्न रुचिकर रहेको उनले सुनाए । लेखक बस्नेतले यात्राका बेला भेटेका विषयवस्तुलाई महिला अधिकारसँग जोडेर प्रस्तुत गरेको जानकारी कार्यक्रममा राणाले गराए ।
पुस्तकका विषयमा समीक्षात्मक मन्तव्य व्यक्त गर्दै कथाकार ढुङ्गानाले पुस्तकमा दुई सय १२ वटा निबन्ध समेटिएको बताए । विदेश गएका बेलाको यात्रा संस्मरणका विषय बढी रुचि लाग्ने खालका भएको उनले सुनाए । लेखक बस्नेतले यात्रा धेरैले गर्ने गरे पनि अभिलेख नराख्ने गरेको सुनाउदै आफूले यात्राका बेला भेटिएका विषयवस्तुलाई समेटेर पुस्तक लेखेको जानकारी गराए। यसमा आफ्ना कथा र यात्राका कहानी समेटिएको उनले जानकारी गराइन् ।
कार्यक्रममा बुक हिलका संस्थापकद्वय पवन आचार्य र भूपेन्द्र खड्काले यात्रा संस्मरणमा उल्लेखनीय पुस्तक पाठकसामु ल्याउन सफल भएको बताए ।






