अक्सफोर्ड विश्वविद्यालयको महाविद्यावारिधि प्राध्यापक डा.सुवेदीलाई

SHARE:

लण्डन सेप्टेम्बर ११ ।

अक्सफोर्ड विश्वविद्यालयले प्रा.डा सूर्यप्रसाद सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि ’महाविद्यावारिधि’ प्रदान गरेको छ ।

शनिबार प्राचिन शेल्दोनिअन थिएटरमा एक भव्य दीक्षान्त समारोहका बीच उक्त उपाधि प्रदान गरिएको थियो । अन्तर्राष्ट्रिय कानून र मानव अधिकारको क्षेत्रमा असाधारण वौद्धिक योगदान दिएको भन्दै प्रा. सुवेदीलाई सन् २०१९ मा अक्सफोर्ड विश्वविद्यालयले महाविद्यावारिधि प्रदान गर्ने घोषणा गरेपनि कोभिडको कारणले गत तीन वर्षदेखि हुन नसकेको दीक्षान्त समारोह अहिले सम्पन्न भएको हो ।

दीक्षान्त समारोहमा अक्सफोर्डको कानून संकायकी डीन प्राध्यापक आन डेभिसले प्रा. सुवेदीको परिचय गराएकी थिइन् भने अक्सफोर्ड विश्वविद्यालयकी उपकूलपतिले प्रा. सुवेदीलाई महाविद्यावारिधिको उपाधि प्रदान गरेकी थिइन् । समारोहको अधिकांश भाग प्राचिन ल्याटिन भाषामा सञ्चालन भएको थियो र प्रा. सुवेदी पनि ल्याटिनमै दीक्षित भएका थिए । दीक्षान्त समारोहपछि प्रा. सुवेदीले अध्ययन गरेको अक्सफोर्डको एक्सटर कलेजका प्राचार्य सर रिक ट्रेनरले प्रा.सुवेदीको सम्मानमा एक दिवा भोजको आयोजना गरेका थिए जसमा प्रा. सुवेदी, उनको परिवार, बेलायतको कूटनीति, प्राध्यापन र कानूनको क्षेत्रका व्यक्तिहरू र उनका मित्रहरुको उपस्थिति थियो ।

राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई सन् १९०८ मा उनको बेलायत भ्रमणको समयमा अक्सफोर्डले मानार्थ महाविद्यावारिधि प्रदान गरेको थियो । त्यसको झन्डै ११४ वर्षपछि उक्त उपाधि पाउने प्रा. सुवेदी पहिलो नेपाली हुन् । प्रा.सुवेदी उक्त विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली पनि हुन् । महाविद्यावारिधिको उपाधि प्रदान गर्ने घोषणा गरेको दुई वर्षपछि अक्सफोर्ड विश्वविद्यालयले प्रा. सुवेदीको नाममा प्रत्येक वर्ष कानूनमा विद्यावारिधिको उत्कृष्ट शोध ग्रन्थ प्रस्तुत गर्ने मेधावी व्यक्तिलाई प्रदान गरिने वार्षिक पुरष्कार पनि स्थापना गरेको थियो ।

संसारमा जहाँ गएपनि र जे गरेपनि आफ्नो नेपाली पहिचान कायम गरेका प्रा। सुवेदीले उपाधि लिन मञ्चमा जाने क्रममा नेपाली माटो र आफ्ना स्वर्गीय माता–पितालाई सम्झेको र आफू अनुगृहित भएको बताए। अन्तर्राष्ट्रिय स्तरमा बाह्र वटा ग्रन्थ र पाँच दर्जनभन्दा बढी अनुसन्धानात्मक प्राज्ञिक लेखहरु संसारका विशिष्ट जर्नलहरुमा प्रकाशित गरेका प्रा. सुवेदीले आफ्नो योगदानलाई अक्सफोर्डले यसरी सम्मान गरेकोमा आफू गौरवान्वित भएको बताए ।

यसैबीच बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको निधनपछि र प्रिन्स चाल्र्स बेलायतको राजा भएपछि महारानीले प्रा. सुवेदीलाई सन् २०१७ मा प्रदान गरेको कानूनका शीर्षस्थ विद्वानहरुलाई प्रदान गरिने ’क्विन्स कंसुल’ को पदवी ‘किङ्ग्स कंसुल’ मा परिणत भएको बेलायत सरकारले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!