लन्डन । प्रत्येक वर्ष अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरले आयोजना गर्ने आदिकवि भानुभक्त जयन्ती र सुन्दरप्रसाद मानन्धर ‘सुप्रमा’ पुरस्कारको वितरण कार्यक्रम यही २८ जुलाईमा हुने भएको छ ।
कार्यक्रम ६० पानफिल्ड, आबिवुड, लन्डन, एसई२ ९डीक्यूमा दिउँसो एक बजे सुरु हुने समाजका अध्यक्ष सुमलकुमार गुरुङले जानकारी दिए । उनले कार्यक्रममा सहभागिताका लागि सबै बेलायतका साहित्यिक संस्थाका अध्यक्ष, प्रतिनिधिहरूलाई निमन्त्रण गरिएको बताए ।
प्रत्येक वर्ष वितरण गरिने सुप्रमा पुरस्कारको राशि २५१ पाउन्ड र प्रशंसापत्र रहेको छ । हालसम्म सो पुरस्कार मुकेश राई, केदार सङ्केत, कृष्ण बजगाई र दुर्गाप्रसाद पोखरेल पाएका छन् । यस वर्षको, पाँचौ सुप्रमा पुरस्कार समाजसेवी तथा वरिष्ठ साहित्यकार, पूर्व त्रि.विका लेक्चरर, किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष, सुमाया राईलाई उनको कृति ‘अव्यक्त अभिव्यक्ति’ कविता सङ्ग्रहका लागि प्रदान गरिन लागेको अनेसास बेलायतले प्रस्ट पारेको छ । बेलायतका सर्जकहरूको अति क्रियाशील संस्था अनेसासले प्रत्येक वर्ष नेपाली साहित्यका हस्तीहरूका जयन्ती क्रमैसँग विगत एक दशकदेखि मनाउँदै आएको छ ।






