भानु जयन्तीको अवसरमा गीत लेखन प्रशिक्षण

SHARE:

बिजय हितान
लन्डन । विश्व नेपाली साहित्य महासंघ साउथ युकेले गीत लेखन गोष्ठी र भानु जयन्ती कार्यक्रम सम्पन्न गरेको छ ।

गत जुलाई आठ तारिखका दिन केन्टोवरीमा बेलायतको साउथ शाखाका कार्यवाहक अध्यक्ष करिष्मा घमको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रम नेपाली भाषी आदिकवि भानुभक्त आचार्यको तस्बिरमा अध्यक्षबाट खादा ओढाएर सुरु गरिएको थियोे । भानुभक्तका बारेमा संक्षिप्त परिचय कविद्वय सन्ध्या गुरुङ र लाहाङ चेम्जोङले दिएका थिए ।

विश्वभरि छरिएर बसेका नेपाली साहित्यकारहरूलाई एउटै सूत्रमा आबद्ध गराई सिर्जनशील लेखनमा एकजुट बनाउने उद्देश्यले स्थापित विश्व नेपाली साहित्य महासंघ केन्द्र र युकेको साउथ शाखाले समय समयमा विभिन्न कार्यक्रम गर्दै आएका छन् । कार्यक्रमको अर्को चरणमा नेपालबाट केही समयका लागि बेलायत आएका गीतकार भावेश भुमरीले उपस्थित साहित्यकार, गीतकार र साहित्यानुरागीहरूलाई गीत लेखनसम्बन्धी प्रशिक्षण दिएका थिए । गीतकार भुमरीले आफू गीत लेखनमा लाग्दाको प्रसङ्गदेखि गीत लेखनको सङ्घर्ष र अनुभवलाई पस्केका थिए ।

गीतको सिद्धान्त र सिर्जनामै स्नातकोत्तरको शोधपत्र गरेको सन्दर्भ कोट्याउँदै भुमरीले भने, ‘सर्जकले आफ्नो विधाको सिद्धान्तलाई थोरै भए पनि अध्ययन गरेर अगाडि बढ्दा सिर्जना राम्रो हुन्छ ।’
गीत लेखनसम्बन्धी प्रशिक्षण दिँदै भुमरीले गीतको परिचय, गीत र कवितामा समानता र भिन्नता, गीतका विशेषताहरू, गीतका तत्व, गीतको संरचना या बनावट, गीत रचनामा शब्द चयन, गीतका विषय र गीत सिर्जनामा अपूर्णतालाई पूर्णतालगायत विभिन्न विषयमा प्रशस्त व्याख्या गरेका थिए । गीत रच्दा प्राविधिक रूपले गीतकार जति कुशल हुन सक्यो त्यति गीत राम्रो हुने कुरामा भुमरीले जोड दिएका थिए । यसको अभावमा गीतकारले गीत सिर्जनामा कुन ठाउँमा कमीकमजोरी भयो भन्ने कुरा थापा नपाउने भनाइ राखेका थिए ।

गीतको लोकप्रियता साहित्यका सबै विधाभन्दा बढी भएको वास्तविकता कोट्याउँदै भुमरीले यसमा कलम चलाउन पनि जोड दिएका थिए । उनले दिएको प्रशिक्षण गीत रच्न चाहनेहरूका लागि प्राविधिक रूपले निकै लाभदायक बनेको थियो ।
विश्व नेपाली साहित्य महासंघ केन्द्रका अध्यक्ष विश्वासदीप तिगेलाले आफ्ना कुरा राख्दै भावेश भुमरीको प्रशिक्षणबाट आफू धेरै लाभान्वित भएको र उपस्थित सबैलाई लाभ पुगेको बताएका थिए । यस प्रकारका कार्यक्रमले सर्जकलाई ताजकीकरण गर्न धेरै भूमिका खेल्ने पनि उनको विश्वास थियो । आफ्नो संस्थाले यस्तो कार्यक्रम आयोना गर्न पाउनु सौभाग्य भएको उनले बताए ।

विश्व नेपाली साहित्य महासंघ बेलायतको साउथ शाखाका सल्लाहकार तथा साहित्यकार विजय हितानले पनि प्रशिक्षणबाट आफू लाभान्वित भएको बताएका थिए । कार्यक्रममा महासंघले अगस्ट १२ मा आयोजना गर्न गइरहेको अन्तर्राष्ट्रिय सम्मेलनका बारेमा हितानले जानकारी गराएका थिए ।

सङ्गीतकार तथा गायक थिर थापाले सञ्चालन गरेको औपचारिक कार्यक्रमको अध्यक्षता गरिरहेकी कवि तथा गीतकार करिष्मा घमले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए । त्यसपछि सेवन्त राई, लाहाङ चेम्जोङ, सन्ध्या गुरुङ, विजय हितान, अमित थेबे, सर्वधन राई, विश्वासदीप तिगेला, थिर थापा, भावेश भुमरी, गणेश पुन, करिश्मा घम, कल्पना थापाले आ–आफ्ना सिर्जना सुनाए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!