गीतका केही सैद्धान्तिक र व्यावहारिक कुरा

SHARE:

भावेश भुमरी
म विगत एक महिनाअगाडिदेखि केही समय रहने गरी काठमाडौँबाट बेलायत आएको छु । विश्व नेपाली साहित्य महासंघ बेलायतद्वारा आयोजित ‘गीत लेखन गोष्ठी २०१८’ मा मैले बेलायतमा बसोबास गर्दै आउनुभएका केही गीतकारहरूलाई केन्टवरीमा करिब एक घन्टा पैँतालीस मिनेट प्रशिक्षण दिएको थिएँ । यो लेख सो प्रशिक्षणमा वितरण गर्न तयार पारेको हुँ । मेरो स्नातकोत्तरको शोधपत्रबाट लिइएको यस लेखलाई आश्यकताअनुसार थपघट गरिएको हो । बेलायतमा बसोबास गर्नुहुने धेरै गीतकारहरू चाहेर पनि सो कार्यक्रममा उपस्थित हुन सक्नुभएन । उहाँहरूको चाहनाअनुसार यसलाई प्रकाशन गर्न
्रचाहेको छु ।

गीतको चिनारी र विशेषता :
स्रष्टाले सिर्जने अनुभूतिजन्य, मूलत: आख्यान शून्य, लय, सुर र सङ्गीतबद्ध, सङ्क्षिप्त, आत्मपरक र अनाटकीय रचना गीत हो ।
साहित्यका सबै विधालाई पाठ्य, श्रव्य र दृश्य गरी गीत भागमा बाँडेर हेरिन्छ । गीतलाई पहिले श्रव्य विधा भनिथ्यो भने अहिले प्रविधिका कारण दृश्य विधा पनि भन्नुपर्ने भएको छ । गीत अति सरल र सहज विधा हो । भाव प्रक्षेपणका दृष्टिकोणबाट हेर्दा गीत साहित्यका सम्पूर्ण विधाभन्दा अगाडि देखिन्छ ।

यस्तो हुनाको कारण गीत सुन्नासाथ एक झोक्कामा बुझ्ने सरल हुनु हो भने यसलाई बौद्धिकता वा दर्शनले नलाद्नु पनि हो । यसमा बिम्ब तथा प्रतीक पनि सरल र सहज ढङ्गले प्रयोग हुन्छन् । एकचोटी पढ्दा या सुन्दा नै मनलाई आनन्दित पार्न सक्ने हुनाले गीत अत्यन्त कोमल हुन्छ । यो श्रुतिमधुर हुनाले शक्तिशाली पनि बन्न पुग्छ । यसै कारण गीतले बौद्धिकदेखि सामान्य समुदायका मनलाई समेत पक्रन सक्छ ।

गीत र कवितामा समानता र भिन्नता :
समानता–गीतको कविताको मूल स्रोत हो । कविता र गीत दुबै पद्य विधा हुन् । कविता र गीत दुबैमा विशिष्ट लेखन शैली अपनाइन्छ । दुबै विधामा लय, ताल र अनुप्रासहरूको प्रयोग हुन्छन् । भिन्नता– कविताको आकार निश्चित हुँदैन, कविले आफ्नो इच्छाअनुसार कविताको आकार निर्धारण गर्छ ।
गीतको आफ्नै आकार हुन्छ, गीतले गीतकारलाई आकारमा बाँध्छ । एउटा कवितामा एकभन्दा बढी विषय समावेश गर्न सकिन्छ तर गीतमा एउटा विषयभन्दा अर्को विषय राख्न पाइन्न । कविता आख्यानपरक हुन्छ तर गीत आख्यानविहीन हुन्छ । कविताले रेखीय आकार लिन्छ तर गीतले चक्रीय आकार लिन्छ । कविता वाचनलाई मध्यनजर गरेर रचिन्छ तर गीत गायनलाई ध्यान दिएर रचिन्छ । कवितामा जटिल भाषा शैलीको प्रयोग गर्न सकिन्छ । गीतमा भने सरल र सुललित भाषा शैलीको प्रयोग गरिन्छ ।

गीतका विशेषताहरू :
आत्मपरकता : आत्मपरकता गीतको महत्वपूर्ण विशेषता हो । यसमा संवेगात्मक रूपमा गीतकारका निजी अनुभव, अनुभूति र विचारहरूको प्रस्तुति रहेको हुन्छ । गीतकारले देखेका, भोगेका र अनुभूत गरेका विषयवस्तुहरूलाई आफ्नो दृष्टिकोणको कसी लगाएर रचनामा प्रस्तुत गर्छ । चाहेको बेलामा गीत सिर्जना गर्न सम्भव हुँदैन । रचनाका लागि वाह्य वातावरण, आन्तरिक, मानसिक स्फूरण आदि कुराले मद्दत गरेका हुन्छन् । गीतमा विशेष प्रकारको मनोद्वेगले काम गर्ने भएकाले यसमा अन्य विधामा झैँ वस्तुतत्व पस्न सक्दैन ।

स्रोताहरूको ध्यान आकृष्ट गर्न गीतकार गीतमा समाहित हुनैपर्छ । यसरी समाहित हुँदा गीतकारले गीतमा निजी अनुभूति प्रस्तुत गरेको हुन्छ र यसलाई नै आत्मपरकता मानिन्छ । वास्तवमा निजी आत्मप्रकाशन गीत हुने हुनाले आत्मपरकता नै यसको विशेषता हो ।

सङ्क्षिप्तता : गीतमा सङ्क्षिप्त आयाम हुन्छ तर यति नै भन्ने निश्चित किटान भने भइसकेको छैन । अन्तर्मनको भावना प्रकट गर्नका लागि चरमोत्कर्षमा पुगेका बेलाको एकपल मात्र गीत हो भन्ने अर्थमा यसलाई लम्ब्याउँदा कृत्रिम बन्छ । त्यसरी लम्ब्याउँदा त्यसमा वस्तुतत्व पस्छ र आख्यानको बाटोतिर मोडिन पुग्छ ।
गीतमा अनुभूतिको छोटो उच्छलन या एउटा झोक्का मात्र प्रवाहित हुने हुनाले यसको आयाम सङ्क्षिप्त बन्न पुग्छ । गीत रेकर्डिङ वा प्रसारणका हिसाबले पनि स्थायी र पहिलो अन्तरापछिका बीच भागमा सङ्गीतको अंश रहँदासमेत तीनदेखि पाँच मिनेटसम्मको समयको हुनुपर्ने हिसाबले गर्दा यसको आयाम सङ्क्षिप्त हुनै पर्छ ।
आख्यान शून्यत: गीतमा अनुभूतिको एक झोक्का राख्नुपर्ने हुँदा गीतकारले आख्यानको प्रयोग नगरी आफ्नो मनस्थितिलाई सोझै पोख्न पुग्छ । यस्ता गीत अनुभूतिप्रधान र कसिलो बन्न पुग्छन् । गीतमा आख्यान हुन पुग्यो भने भाव तथा अनुभूतिको संवेगात्मक पोखाइ हुँदैन ।

एकान्विति : एकान्विति पनि गीतमा अनिवार्य रूपले रहेको हुन्छ । यसले गीतको आन्तरिक बनोटसँग सम्बन्ध राखेको हुन्छ । यसले गीतका प्रत्येक भाग, हरफ या अनुच्छेदलाई एउटा सूत्रमा उन्ने काम गर्छ । एउटा गीतमा एकभन्दा बढी भाव नरहने हुनाले यसले एउटै भाव अर्थात् विचारलाई अगाडि सार्छ ।

एउटा गीतमा एकभन्दा बढी विषयवस्तु रहेमा यसले श्रोता या पाठकहरूको मनलाई आकर्षित गर्न सक्दैन । गीत जुनै विषयमा रचिए तापनि यसको स्थायीमा जुन विषयवस्तुको बीजारोपण हुन्छ, अन्तराहरूमा त्यसैसँग सम्बन्धित विषयले विस्तृत रूप लिएको हुन्छ । यस कारणले पनि गीतमा एकान्विति रहनैपर्छ ।
वैयक्तिकता एवम् इमान्दारित: गीतमा अभिव्यक्तिगत निश्छलता एवम् वैयक्तिकताको महत्वपूर्ण भूमिका रहेको हुन्छ । गीतकार आफैँ गीतमा उपस्थित हुने भएकाले उसको मानसिक अवस्था र व्यक्तित्व प्रकट भएको पाइन्छ । गीतको पात्र दोस्रो या तेस्रो पुरुष जेमा भए पनि गीतकारले आफ्नै अभिव्यक्ति दिइरहेको हुन्छ । यसमा एकै पात्र स्वयम् गीतकार बोल्ने हँुदा पाठकहरू अलमलिनु पर्दैन अर्थात् सोझै बुफ्न सक्छन् ।

अनुभूतिप्रधान गीत जन्माउन गीतकार बाह्य वा समाजपरक चेतबाट मुक्त भएको हुन्छ । वैयक्तिकताका कारण गीत कृत्रिम नभई सहज हुन पुग्छ । गीतकार आपूmभित्रको सौन्दर्यलाई विशेष सावधानीसाथ गीतमा प्रस्तुत गर्छ र यो नै इमान्दारिता हो । यही इमान्दारिताका माध्यबाट गीत ओजपूर्ण बन्न पुग्छ ।
सम्बोधनात्मक प्रस्तुति: गीतको अर्को विशेषता सम्बोधनात्मता पनि हो । गीतकार गीतमा प्राय कसैलाई सम्बोधन गरेर भाव प्रस्तुत गर्छ । सर्जकले सिर्जनामा आपूm स्वयम् पसेर वा नपसेर पात्रका माध्यमबाट रचना सिर्जेको हुन्छ ।

उसले मिश्रित तरिकाले पात्रकै विचार प्रस्तुत गरेर पनि रचना सिर्जेको हुन्छ । उसले कसैलाई सम्बोधन गरेर वा नगरेर या पात्रपात्राद्वारा एकअर्कालाई सम्बोधन गरेर पनि रचना सिर्जना गर्न सक्छ । यसरी गीतमा सम्बोधनात्मक प्रस्तुति रहन पुगेको हुन्छ ।

गीतका तत्व :
भाव : गीतका विभिन्न तत्वहरूमध्ये अनिवार्य तत्व भाव हो । भावले गर्दा नै गीत स्तरीय बन्न पुग्छ । विद्वान्हरूले भावको विश्लेषण गर्दै नौ प्रकारका स्थायी भावकोे उल्लेख गरेका छन् । भाव अचेतन मनद्वारा प्रकट हुने मानसिक प्रक्रिया हो । मनमा गुम्सिएका ग्रन्थिबाट उत्पन्न हुने भाव अभिव्यक्त भएपछि मानिसले हल्का महसुस गर्छ । यही भावबाट गीत सशक्त बन्छ र यसले श्रोताहरूको मन छुन पुग्छ । त्यसैले भाव गीतको अनिवार्य तत्व हो ।

कल्पना : ‘कल्पना’ को अर्थ ‘स्मृतिपटलमा उत्पन्न नयाँ कुरा’ हो । यस अर्थअनुसार कल्पनाले नवीनतम् विचारलाई अगाडि बढाउँछ । कल्पनाले सिर्जनालाई सशक्त बनाउने काम गर्छ । कल्पनाको शक्तिले गर्दा नै पाठक या श्रोताहरूको मनलाई गीतले सरल तरिकाले छुन पुग्छ ।

सङ्गीत: सङ्गीत गीतको अनिवार्य तत्व हो । सङ्गीतबाट पृथक् रहेर गीतको कल्पनासम्म पनि गर्न सकिन्न । गीतका सर्जकहरू प्रभावकारी तरिकाले गीत प्रस्तुत गर्छन् र आनन्दमय ध्वनिका माध्यमबाट श्रोताहरूको मन खिच्न सफल हुन्छन् । यही कारण गीतमा लय हुन्छ र लयमै प्रभावकारी सङ्गीत सिर्जना हुन्छ । सङ्गीतले श्रोताहरूको मनलाई सजिलै छुन्छ र प्रवाभ पार्छ । यसरी गीतमा रहने सङ्गीतले गीतलाई जीवन्त बनाउन महत्वपूर्ण काम गरेको हुन्छ ।

बिम्ब एवम् प्रतीक
बिम्ब : ‘बिम्ब’ले ‘प्रतिच्छाया’ भन्ने अर्थ दिन्छ । यसको जन्म भाषिक ध्वनिको सहयोगले अमूर्त अनुभूतिबाट हुन्छ । यसलाई इन्द्रियजन्य अनुभूतिले जन्माउँछ । बिम्बले अभिव्यक्तिलाई सादृश्यात्मक बनाउने भूमिका खेल्छ । यसलाई इन्द्रियजन्य अवस्थाका आधारमा स्पर्शात्मक, श्रव्यात्मक, दृश्यात्मक, गन्धात्मक, गत्यात्मक, आस्वादात्मकजस्ता विभिन्न वर्गमा बाँडिएको छ ।

प्रतीक: खास धारणा व्यक्त गर्ने बिम्बकै विशिष्ट रूप प्रतीक हो भनिएको छ । प्रतीकले वास्तविक अर्थलाई अर्काे वस्तुमा आरोपित गर्छ । यसले पूरै गीतलाई ध्वन्यात्मक बनाउने काम गर्दछ । सार्वजनिक, व्यक्तिगत, विश्वव्यापी र स्थानीय गरी विभक्त प्रतीकका रूपमा नदीनाला, वनपाखा, फूलपातलगायत मिथक्, दन्त्यकथा घटित घटना वा इतिहास आदि आउँछन् । गीतकारले आफ्ना भाव सोझो अभिव्यक्त नगरी प्रतीकको सहारा लिन पुग्छ र गीतलाई चरमोत्कर्षमा पु¥याउँछ । यसैले गर्दा पनि गीतमा प्रतीक अनिवार्य रहन्छ । प्रतीकविना गीतको सौन्दर्य बढ्दैन ।

भाषा : गीतको अपरिहार्य तत्व भाषा हो । भाषाका माध्यमबाट नै गीतले पाठक र श्रोतासम्म पुग्ने काम गरेको हुन्छ । पाठक या श्रोताहरूले गीत बुफ्नका लागि भाषाकै माध्यम पक्रनुपर्छ । यसैले पनि गीतको अस्तित्व भाषासँंग जोडिन पुगेको हुन्छ । कुनै समीक्षक या समालोचकले भाषाकै माध्यमले गीतको अध्ययन र विश्लेषणको काम गर्छ । हरेक दृष्टिले गीतका केस्रा केस्रा केलाउने काम भाषाबाटै हुन्छ । यिनै कारण नै गीतको अभिन्न तत्व भाषा हो ।

गीतको संरचना या बनावट
संरचनागत रूपले गीतका मुख्य दुई खण्ड हुन्छन् । पहिलोे खण्डलाई ‘मुखडा’ वा ‘स्थायी’ भनिन्छ । यसमा गीतको मूलभाव रहेको हुन्छ । गाउँदा यो पटकपटक दोहोरिन्छ । दोस्रो खण्ड ‘अन्तरा’ हो । यो कम्तीमा दुई वा सोभन्दा बढी अनुच्छेदमा रहन्छ । अन्तराले स्थायीको मूल भावलाई क्रमश: पुष्टि गर्दै जान्छ । गीतको अन्तरा स्थायी भावको केन्द्रीयतामा घुम्छ अर्थात् अन्तरा आइसकेपछि पुन: स्थायी दोहोरिन्छ । त्यसैले यसको गति रैखिक नभई चक्रवृत्तिमा रहेको हुन्छ ।
गीतमा स्थायीको भूमिका निर्वाह गर्नलाई फुर्के पद पनि आउने गर्छन् । गीतमा रहेको भावसँग सामन्जस्यता नरहने यस्ता पद हरफकै रूपमा प्रयोग हुन्छन् । गीतिहरफका सुुरु, बीच वा अन्त्यमा थेगो आउन सक्छ । थेगोले पनि गीतको भावसँग सम्बन्ध राख्दैन । गीतको अन्त्यमा मात्र आउनेलाई रहनी भनिन्छ । यसले पनि गीतको भावसँग कुनै सम्बन्ध राख्दैन । गीतमा आएका थेगो र रहनी निम्नलिखित उदाहरणमा देखाउन सकिन्छ—
गीतको अन्तरसंरचनाले लय उत्पन्न गराउँछ । नेपाली गीतको अन्तरसंरचना आफ्नै परिपाटीमा रहेको छ । प्राय गरेर नेपाली गीत ३/३//३/३, ४/४//४/२, ३/२/३/२//३/३ र ४/४//४/४ जस्ता १२, १४ वा १६ अक्षरको संरचनागत समानतामा रहेका छन् । अक्षरगत समानताबाटै लयको निर्धारण हुन्छ । संरचनागत समानता नभए लय भङ्ग हुन्छ । संरचनागत समानता नभएका या लय भङ्ग भएका गीतहरू पनि छन् ।
गीतको संरचना या बनावटका केही उदाहरण:
क) संरचना: ४/४/४/२
तिमी सोध्छौ/बाटो हिँड्दा/मान्छे किन/लड्छ
उनी भन्छन्/लड्ने मान्छे/सधैँ अघि/बढ्छ
– भावेश भुमरी, भिजेको चिठी
ख) संरचना: ३/२/३/२/३/३
फुलेको/हो कि/जवानी/तिम्रो/कि पूmल/चाँपैको
नियाल्दा/पनि/लाग्छ कि/दाग/यी दुई/आँखैकोे
– भावेश भुमरी, भित्र छ फूलको साँध
ग) संरचना: ४/४/४/४
पश्चिम फक्र्यो/धौलागिरि/पूर्व छाया/खस्दै आयो
मलाई उनको/सम्झनाले/भित्रैसम्म/कस्दै आयो
– भावेश भुमरी, भिजेको चिठी
घ) संरचना: ४/४/३
तिमी फूलमा/मुस्काउने/रहेछ्यौ
मेरै रातकी/जून पनि/भएछ्यौ
– भावेश भुमरी, भिडभित्र छु बिरानो म
ङ) संरचना: २/४/४/२
मेरो/गाउँ छैन/बस्ने ठाउँ/छैन
विवश/जिन्दगीको/कुनै भाउ/छैन
– भावेश भुमरी, भिडभित्र छु बिरानो म
च) संरचना: ४/३/२
नसम्झाऊ/आकासका/तारा
जूनले छाड्दा/आँसुका/धारा
– भावेश भुमरी, भीरफूलको छाया
छ) संरचना: मिश्रित लय
सोल्टीज्यू सोल्टीज्यू
माया गाँसौँ चोखै छ दायाँ छेउ
बैँसैमा सोल्टीज्यू बैँसैमा
– भावेश भुमरी, भिजेको चिठी
ज) संरचना: भङ्ग लय
मायाको लठ्ठामा अडिएको पुल
पहिलोचोटि सँगसँगै तर्दा
विश्वास दुई खम्बामा उभियो
शङ्काको बाढी टाढिँदै गयो
– भावेश भुमरी, भिजेको चिठी

संरचना र लयमा कहीँ कतै अलमल भएमा गाइएको कुनै गीत गुनगुनाउँदै गीतको रचना गरेमा पनि आफूले रचेको गीतको संरचनाको लय मिल्छ तर आफू के कुरामा सजग हुनुपर्छ भने पुनानो गीतका शब्द र भावको गन्धसम्म आफ्नो रचनामा राख्न हुँदैन । यसरी विभिन्न अक्षर सङ्ख्याका लयमा गीत रच्दै जाँदा पनि आफूमा लयको ज्ञान बढ्दै जान्छ ।
गीत रच्दा कुन अवस्थामा कुन अक्षरलाई सिङ्गो र कुन अक्षरलाई आधा उच्चारणमा राख्ने भन्ने कुरामा गीतकार निश्चित हुनुपर्छ । प्राय गीतकारहरू यस्तो अवस्थामा अल्मलिँदा गीतको संरचनाको लय भङ्ग हुन जान्छ ।
जस्तो कि
संरचना: ४/३/२
नसम्झाऊ/आकासका/तारा (ऊ अक्षर सिङ्गो उच्चारण)
जूनले छाड्दा/आँसुका/धारा
नसम्झाऊ न/आकासका/तारा (ऊ अक्षर आधा उच्चारण)
जूनले छाड्दा/आँसुका/धारा

यसरी गीतकारले अर्थअनुकूल अक्षरहरूको प्रयोगमा ध्यान दिनुपर्छ ।
गीतमा उचित शब्द चयनको नितान्त खाँचो छ । सबै शब्द गीत गायनमा रहन सक्दैनन् । अत: गीत रच्दा सङ्गीत र गायनमा मीठा लाग्ने कोमल र सुललित शब्द चयन गर्नुपर्छ । गीतमा विनम्रतालाई पनि ध्यान दिनुपर्छ । गीतकार गीतरचनामा इमान्दार र विनम्र हुननसकेमा गीतले अरुको मन छुन सक्दैन ।
यसका साथै विषयवस्तुको आवश्यकता पनि त्यत्तिकै महत्वपूर्ण छ । अर्थात् गीत रचनामा विषय चयन हुनैपर्छ । ससाना विषयलाई लेखन कला र शैलीले सुन्दर बनाउन सके सुन्दर गीत बन्छ । कतिपय ठाउँमा गीत लेख्दा आधा मात्र या स्थायी मात्र बन्छ, बाँकी बन्न नसकेको अवस्थामा स्थायीलाई पृष्टपोषण गर्ने वैकल्पिक बाटोबाट अगाडि बढ्दा गीत पूरा गर्न सहज बाटो बन्छ ।

समग्रमा भन्दा गीत आफैँमा सशक्त र लोकप्रिय विधा भएकाले यसलाई सिर्जना गर्ने सर्जकहरूको सङ्ख्या बढ्दो छ । लेख्न रहर गरेर मात्र राम्रो गीतकार बनिँदैन, थोरै भए पनि यसको सैद्धान्तिक पक्षलाई बुझेर रच्दा यसको सबलतामा बल पुग्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!