
मेरो हातमा एउटा पुरानो सिलाबरे थाल थियो । तिनै थालमा चामल थाप्नको लागि म खाद्य गोदाम, फत्तेपुरमा लाम लागिरहेको थिएँ । बिहानीको सूर्यको प्रकाशले धर्तीमा स्पर्श गर्न लागेको थियो । हुन त सूर्यको प्रकाश जतिसुकै चम्किलो किन नहोस् । मेरो भविष्य भने त्यति चम्किलो छँदै थिएन । बरु त्यसको सट्टामा अन्धकारमय थियो । म चामल थाप्नको लागि खुरन्धार दुई घण्टा जति लाम लागेको थिएँ । त्यसबेला म जस्तै पहाडदेखि आएका अन्य भरियाहरु पनि त्यहाँ थुप्रै थिए । मेरो पालो आएपछि खाली थालमा चामल थापें । त्यसपछि चन्द्रनहरको किनारमा फर्कंदै गर्दा विश्वयुद्ध विजय गर्ने एकजना गोर्खाली सिपाही जतिकै खुसीले फुरुङ्गै भएको थिएँ ।
म तिनताका १५ वर्षको मात्र थिएँ । भनौ ठेट्ना नै थिएँ । अनि गाउँमा मलाई असाध्यै दुःख थियो । किनभने हाम्रो जग्गा जमिन पनि त्यति धेरै छँदै थिएनन् । त्यसैले थोरै खेतिपाती गर्दथ्यौं । हरेक वर्ष अनिकालको मारमा परिरहेको हुन्थ्यौं । अझै हामीलाई त्यस वर्ष अनिकालले निक्कै चाँडै नै छोपेको थियो । त्यसैले विकासे चामल बोक्नको लागि एउटा ढाकर तयार पारेको थिएँ । र, तिनै रित्तो ढाकरलाई बोकेर बुईपा, खोटाङ्देखि कोसीको किनारै किनार हिँड्दै फत्तेपुर बजार झरेको थिएँ । फत्तेपुर बजार सप्तरी जिल्लामा पर्छ । त्यसैले आँखा चिम्लेर बेस्सरी हिँड्दा पनि खोटाङ्देखि फत्तेपुर झर्न मलाई तीन दिन लागेको थियो ।
फत्तेपुर झर्दा मसँग केही समानहरु थिएनन् । केबल म थिएँ र एउटा रित्तो ढाकर थियो । र, ढाकरलाई साथ दिने एउटा टेकुवा थियो । अझै मैले त्यसबेला जिन्दगीमा पहिलोचोटी ढाकर बोकेको थिएँ । अथवा त्यो नै मेरो ढाकरसितको पहिलो अनुभव थियो । त्यसैले पहिलो दिन ढाकर बोक्नु मलाई निक्कै अफ्ठ्यारो लागेको थियो । तर बिस्तारै बिस्तारै सिक्त्तै गए । र, नयाँ नयाँ अनुभवहरु बटुल्दै गएँ । हुनत त्यो भन्दा अगाडी डोको बोकेको अनुभव चाहिँ निक्कै धेरै थियो । तर डोकोभरि सामान बोकेर बिसाउने ठाउँ खोज्दा निक्कै झ्याउलो हुने गर्थ्यो । त्यसको सट्टा ढाकर बोक्त्ता मलाई थोरै सहज भएको महसुस गरें । किनभने ढाकरमा टेकुवा लगाएर जताततै बिसाउन सकिँदोरहेछ ।
कुरो २०३७ सालको हो । अथवा निर्दलिय व्यवस्था वा बहुदलिय व्यवस्था ठीक भन्ने जनमत संग्रह भएको अर्को वर्ष । अनि ठयाक्कै महिना असोजको थियो । सोही महिनाको अन्ततिर गाउँमा धुमधामको साथ दशैँको आगमन हुँदै थियो । स्वाभाविक रुपमा केटाकेटीको लागि दशैँ ज्यादै प्रिय हुने गर्दथ्यो । किनभने दशैँमा केटाकेटीहरुले नयाँ नयाँ कपडा लगाउने मात्र नभएर मीठा मीठा खानेकुरो खान पाउँदथे । तर अन्य मानिसहरुको भन्दा मेरो लागि दशैँ अलिक पृथक थियो । किनभने मार्क्सको भाषामा म सर्वहारा बर्गको मानिस हुँ । अझै ठेट खस भाषामा भन्ने हो भने अति बिपन्न परिवारमा जन्मेको हुँ भन्न सान्दर्भिक ठहरिन्छ । खैर जे सुकै भनिएता पनि अन्य केटाकेटीहरुको जस्तो मलाई हरसुविधा मिल्दैनथ्यो ।
तिनै दशैँको मौका छोपेर एक दिन मेरी आमाले म र बैनीको लागि केही कपडाहरु किन्ने रहर गर्नु भयो । त्यसैले बुईपा बजार निस्कियौं । त्यस समयमा हाम्रो गाउँघरको दोकानहरु बुईपा बजारमा मात्र थिए । किनभने बजारमा झुरुप्पै नेवारहरुको बस्ती थियो । र, उनीहरुले मात्र खेतीको सट्टा व्यापार गर्ने गर्दथे । अझै त्यसबेला बुईपामा पनि माथिल्लो र तल्लो गरेर दुईवटा मात्र कपडा पशलहरु थिए । माथिलो पशलमा चक्र श्रेष्ठ र मुनीको पशलमा राम नारायण श्रेष्ठको दोकान थियो । छिप्तीदेखि हिँड्दै बुईपा बजार पुग्दा मुनिको पशल पहिले भेटिन्थ्यो । त्यसैले हामी तिनै मुनिको पशलमा पस्ने निधो गर्यौं ।
दोकानघर अलिक लाम्चोखाले तर निक्कै ठूलो थियो । त्यस घरलाई दाजु र भाइको गरेर दुई भागमा बिभाजन गरिएको थियो । दाजुको घरमा दोकान थियो । र, भाइको चाहिँ त्यसबेला खालि नै देखिन्थ्यो । हामी दोकानमा पुग्दा एक्कैजना पनि ग्राहक थिएन । दोकानको बायाँ कुनामा एउटा होचो पलङ थियो । तिनै पलङ्गमाथि साहुजी मज्जाले पलेँटी कसेर चिया पिइरहनु भएको थियो । हामी दोकानभित्र पस्ने बितिक्कै आमाले मेरो लागि एक जोर दौरा सुरुवाल र बैनीको लागि एउटा जामा छानि हाल्नु भयो । कपडा छानिसकेपछि तिनलाई लिएर साहुजीको नजिकै पुग्नु भयो र आमाले मुख खोल्नुभयो ।
‘जेठा दसै आयो । नानीहरुको लागि कपडा किन्न भनेर आको । यिनीहरुलाई छानेको छु । खै ! दाम कति पर्छ होला कुन्नि ?’ मनभरी त्राश लिएर तिनै कपडाहरु देखाउनु भयो ।
आमाको कुरो सुने पनि साहुजीले एकछिन नसुने झैँ गरिरहें । त्यसैले उहाँको मुखदेखि केही प्रति उत्तर आउन सकेनन् । म ढोकाको छेउँमा उभिरहेको थिएँ । अनि त्यस्तो हेपाहा प्रवृत्तिको साहुजीको अनुहार मज्जाले नियालिरहेको थिएँ । हुनत बुईपाका दोकानेहरु कम्ता मात्तिएका हुन्छन् भन्ने निक्कै धेरैचोटी सुनेको थिएँ । मलाई उक्त्त भनाई त्यसबेला सहि नै रहेछ भन्ने लागिरह्यो । उनी केही नबोले पनि बरु आमाको नाममा पुरानो हिसाब किताबहरु छन् कि भनेर सुरुसुरु खाताहरु पल्टाउन थाल्नु भयो । पहिलो, दोश्रो र तेश्रो गरेर निक्कै धेरै खाताहरु पल्टाइँ सकेपछि एउटा खाताको पानामा निक्कैबेर घोत्लिनु भयो ।
‘काइँली आमै ! पोहोर सालको नै १ सय २० रुपैयाँ रहेछ । त्यसको साँवा ब्याज गरेर २ सय पुगिसकेछ । आज पैसा ल्याउनु भाको छ कि छैन ?’ अनुहार धमिलो बनाएर साहुजी बोल्नु भयो ।
‘अह, छैन् नि । अनि त्यत्रो पुगेछ । हेर न, हामी दुःखी छौं । जेठाको ऋण तिर्न भनेर गाउँभरी ऋण खोजें । कसैले पत्याउँदै पत्याएनन् । त्यहि भएर बिना पैसा आको छु । नआउँ भने पनि कसरी । वर्षमा एकचोटी छोराछोरीलाई नयाँ कपडा किनिदिउँ कि भनेर हो । बरु मेरो लागि केही परेन । तर नानीहरुलाई चाहिँ किनिदिउँ कि भनेकी छु । त्यसो भए अब के गर्नु होला त ?’ आमाले उल्टै साहुजीलाई प्रश्न गर्नु भयो ।
आमाको कुरो सुनेर साहुजीको मुहारमा सरर बादल लागेर आयो । ‘कहाँ त्यसरी हुन्छ ? पोहोर सालको चुक्त्ता नगरी एक टुक्रा कपडा पनि उधारो दिन मिल्दैन । आज त्यतिक्कै घर फर्केर जानुहोस । फेरि ऋण खोजेर आउनोस् है । यसचोटी हाताहाती मात्र हो । तपाइँलाई मात्र होइनँ अरु कसैलाई पनि उधारो दिएको छैन । कुरो बुझ्नु भयो कि नही ?’ त्यसबेला साहुजी थोरै आबेगमा आएर बोल्नु भयो ।
‘जेठा ! नरिसाउना हौ । दशैँको समयमा सबै केटाकेटीहरुले नयाँ कपडा लगाएको देखेपछि मेरो पनि नानीहरुले नयाँ लगाओस् भन्ने रहर हुन्छ । यस वर्षसम्मलाई देऊ । अर्को वर्ष त मेरो छोरो १६ वर्ष पुग्छ । त्यसपछि ५०-६० किलो सामान त मज्जाले बोक्न सकिहाल्छ । तिम्रो दोकानको सरसमान धरानबाट वर्षमा एक-दुई पटक ल्याइ दियो भने पनि केही त छिनिहाल्छ नि,’ आमाको मुखदेखि अनुरोधको साथ नरम बोली निस्क्यो ।
‘यति कलिलो छ । भारी बोक्न के सक्थ्यो र ? फेरी यसले भारी बोक्न सकेन भने अरु ठाउँ कहाँदेखि ल्याएर तिर्नु हुन्छ र ? ल ल भयो । अब अरु धेरै नबोल्नोस । बरु म घाँटी सेरिएर मर्छु । म तपाईलाई उधारो दिन सक्त्तिनँ । तपाइँले कुरो बुझ्नु भयो कि भएन ?’ साहुजी निक्कै धेरै झोक्किए । त्यति भनि सकेपछि आमाको हातमा भएको कपडा टिपेर उनले दराजमा थन्क्याउन थाले ।
साहुजीको बोलि सुनेर आमाको अनुहार धुमिल हुँदै गएको र हृदय चिरिरहेको मैले अति नजिक बाट हेरें । म अलिक सानै थिएँ । त्यसैले केही गर्न सक्त्तिनथे । तैपनि, ‘आमा ! ल भैगो । अब हामी घर जाउँ,’ भने । त्यसपछी हामी बाटो लाग्यौं । तर बाटोमा हिड्दै गर्दा, ‘मैले यस वर्ष नयाँ कपडा नलगाउने निधो गरें । जुन दिन कमाउन सकिन्छ । सोहि दिन लगाउँला नि । किन सानो मन गर्नु हुन्छ ?’ भनेर आमालाई शान्त्वना दिने प्रयत्न गरें । तर उल्टै आमाले मलाई श्रध्दासहित, ‘छोरा ! गरिब हुनु जतिको नराम्रो यस संसारमा अरु केही छैन रहेछ । तैपनि ऋण लागोस्, दिन नलागोस् भन्छ,’ भनिन् । उहाँको हृदयस्पर्शी भनाइलाई मैले बाटो काटिन्जेलसम्म सम्झिरहें ।
त्यसपछि हामी घरमा झर्यौं । भोलिपल्ट बिहानीको उज्यालो भुइँमा खस्ता नखस्तै आमाले मलाई उठाउनु भयो । अनि केही दिन अगाडि सहरमान भान्जाले दिनु भएको पुरानो सर्ट हातमा दिँदै, ‘ला ! यो सर्ट लिएर दमैगाउँ जा । अनि दमाईलाई भनेर अलिक सानो बनाएर लगा,’ भन्नु भयो । मैले, ‘आमा ! हुन्छ, भैहाल्छ नि,’ भनें । र, सर्टलाई थपक्कै हातले समातेर म बसिरहेको कुनामा राखें । सायद पौष्टिक तत्व नपुगेकोले होला कि के भएर हो । म मान्छे पनि अलिक मरिन्च्याँसे र गान्टेमूला जस्तै नै थिएँ । त्यहिँ भएर सर्टलाई निक्कै घटाउनु पर्थ्यो । तर त्यो सर्टलाई घटाउन पनि मलाई त्यति सहज चाहिँ छँदै थिएन । किनभने सर्ट अलिक पुरानो थियो । त्यसैले अब दमैले त्यो घटाउन मान्ने हो कि नमान्ने हो भनेर सानो पिरमा परें ।
पोहोर सालको दशैँमा पनि मेरो सुरुवालको घुँडा फाटेको थियो । र, तिनै सुरुवाल टाल्नको लागि कान्छा दमाईकोमा लाँदा बेस्सरी थर्काइ खाको त्यसबेला बिरमाईलो तरिकाले सम्झिरहें । अब यसपाली चाहिँ के भन्ने होला भनेर मलाई झन पिरको भारी थपिँदै गयो । हुनत म भर्खर भर्खरै उठेको थिएँ । त्यसैले पहिले मुख धुनको लागि घर बाहिर निस्कें । तर फर्केर घरभित्र आउँदा आमाले कोदोको खोले बनाइ दिइँ सक्नुभएको रहेछ । त्यहि कोदोको तुरुरु खोले खाएपछि हातमा सर्ट बोकेर हुरुरु दगुर्दै दम्कु पुगिहालें ।
म दम्कु पुग्दा पूर्व क्षितिजमा घाम एक टाङ्गो उदाइँ सकेको थियो । तैपनि कान्छा दमाई भर्खरै उठेका रहेछन् । त्यसैले आँगन छेउँमा टुकुक्र बसेर मुख धोइँरहेका देखें । उनले हालसालै उँभोखोलादेखि एउटी दमिनी बिहे गरेर ल्याएका थिए । सायद त्यसैले अलिक अबेलासम्म सुतेको होला भन्ने मनमनै सोचें । एकछिनपछि उनले मुख धोइ सके । अनि अम्खोरा भुइँमा राख्न खोज्दा मलाई उनको सामु खडा भइरहेको देखेपछि एकचोटी झसङ्ग झस्किए । झस्किए मात्र त भैइँहाल्थ्यो । ‘एइ किरुवा ! कुकुरले टट्टी नखाइँ यति बिहानै कता हिडेको ?’ उनले घर थर्किने गरि मुख छाडिहाले । यसै त मलाई देख्ने बितिक्कै के के भन्लान भनेर हल्का त्राश उत्पन्न भइँरहेको थियो । उनको त्यस्तो बोलीले म थर्रर मात्र भइनँ । बायाँ छातीमा तीखो तिरले प्रहार गरेको जस्तै अनुभूति भयो ।
तैपनि मसँग अन्य धेरै उपाय थिएन । त्यसैले, ‘कान्छा दाइ ! यो सर्ट घटाइ दिनुहुन्छ कि भनेर आको हजुर ?’ सानो स्वरमा बिन्ती भाउँ चढाएँ । अनि उनको नजिकै पुगेर सर्टलाई उनको हातैमा थमाइँ दिएँ । उनले सर्टलाई एक झलक हेरे र, ‘यति बिहानै यस्तो थोत्रे कपडा लिएर आउने हो ? यो मोरोले त मेरो दिनै पो बिगार्यो ।’ भनेर भुइँमा फ्यात्तै मिल्काइ दियो । उनले सर्ट भुइँमा फाल्दा मेरो दिल चसक्कै दुखेको थियो । उसै त म डरछेरुवा मान्छे थिएँ । त्यसैले उनको त्यस्तो व्यवहारलाई केबल मैले क्वारक्वार्ती हेर्न सिबाय अन्य केही गर्न सक्त्तिनथे । त्यसैले उनलाई हेरिमात्र रहें ।
म त्यसबेला अवाक अवस्थामा थिएँ । तर उनको नजिकै उभिरहेको थिएँ । हामी दुईजना उभिरहेको ठाउँ नजिकै एउटा बाख्राखोर थियो । त्यहिँ खोरदेखि उनको दिदी कान्छी दमिनीले खाना पकाउनको लागि दाउरा निकाल्दै थिइन् । मलाई देखेर उनकी भाई बेस्सरी झोक्किएको देखेपछि ऊँ तिर फर्किएर भनिन् –
‘ए कान्छा ! गरिब छ भनेर किन त्यति सार्हो हेप्छस् हँ ? यो पनि काइँला बुढाले पाँच भाई छोराहरु र पाँच बैनी छोरीहरु हुर्काइ सकेपछि ६० वर्षको उमेरमा पाएको छोरो पो हो त । बुढाले घरघडेरी र सबै जग्घा जमिन छोराहरुलाई बाँडी दिएर अहिले पो गरिब भाका छन् त । तर राईको छोरो हो बा भाग्यमानि पो जन्मेका छन् कि ? ठूलो भएर कतै मलायाको भर्ती गयो भने तैले सिलाएको कपडा लगाउनै पर्दैन । के लाउँथ्यो यसले । उतै उतै सहर बजारतिर सिलाएको लगाउँछ । सानोमा दुःख छ भनेर पछिसम्म दुःख नै हुन्छ भन्ने के ठेगान हुन्छ र ?’
दिदीको भनाइँले मलाई हल्का राहत मिल्यो । त्यसपछि उनले म तिर टाउको फर्काइनँ । ‘ल ल तिमी घर जाउँ, म यस्लाई सम्झाउँछु है,’ भनिन् । उनकी कुरो सकिँदासम्म मेरो जडौरी सर्टले अन्य कतै ठाउँ नपाएर भुइँमा बङलङ्गै लडिरहेको छड्के आँखाले निक्कै लामो समयसम्म हेरिराखें । त्यसपछी मेरो मनलाई थामेर म आफ्नो बाटो लागें । बाटो ओरालै ओरालो थियो । त्यसैले उफ्रँदै उफ्रँदै घरमा फिरें ।
घरमा पुगेर थपक्कै बाख्रा खोलेर जङ्गलतिर लागें । गोठालादेखि फर्केपछि बेलुकाको खाना खानको लागि तयार भएँ । हाम्रो परिवारमा बाबु, आमा, बैनी र म गरेर जम्मा चार जना थियौं । सान्दाजुलाई घर छाडेर हामी सरेपछि एउटा सानो मतानमा बस्दै आएका थियौं । अनि सम्पतिको नाममा खाम्तेलमा बनेको ठयाक्कै एकमाना चामल पाक्ने माटोका भाँडा थियो । तिनै भाँडामा हरेक बिहान बेलुकी आमाले एकमाना चामलको भात पकाउनु हुन्थ्यो । खाना पाकेपछि बराबरी चार भाग लगाएर खाने गर्थ्यौं । तिनताका हरेक दिन अघाइन्जेल खाना खाने सपना पनि मेरो लागि निक्कै ठूलो सपना हुन्थ्यो । तर जसरी बाँच्न सकिन्छ, त्यसरी बाँचौ भन्ने कुरो नै हाम्रो परिवारको लागि पहिलो प्राथमिकता थियो ।
तर कुनै कुनैबेला आमाले मलाई अलिक बढी नै माया गर्नुहुन्थ्यो । त्यसैले, ‘छोरा ! तँ नै अलिक बढि खा । चाँडो चाँडो बढेर कतै पछि लाहुर पो गइँ हाल्छस् कि ? अनि हामी बुढाबुढीलाई सुख दिन्छस् कि ?’ भन्नुहुन्थ्यो । र, मलाई नै अलिक बढि खाना पस्केर दिनुहुन्थ्यो । त्यसबेला एकजना मातृवात्सल्य आमाले आफ्नो छोराप्रति देखाउनु भएको त्यो प्रेम भन्दापनि अलिक पक्षपात हो कि भन्ने मैले बुझ्थें । र, उहाँको त्यस कार्यले म झन् दुःखित हुन्थे । किनभने मभन्दा सानी मेरी बैनी थिइँ । उनलाई मभन्दा बढि मायाको खाँचो थियो ।
अझै शरिर जिङरिङ्ग परेका मात्र होइन धेरै उमेर गएर कुप्रो हुनु भएको मेरो बाबु झन ७५ वर्षको बृध्द हुनुहुन्थ्यो । त्यस उमेरमा उहाँलाई झन धेरै स्याहारसुसारको आवश्यकता थियो । आमा आफै घुँडाको बिमारी हुनुहुन्थ्यो । तर पैसाको अभावले उपचार गर्न सकेको थिएनौं । साँच्चै भन्ने हो भने त्यसबेला मेरो परिवारको अवस्था निक्कै बेहाल थियो । त्यस्तो अवस्थामा अब म चाहिँ अघाइन्जेल खाना खाने र मबाहेक घरको अन्य सदश्यहरुले अलिक थोरै खानु पर्ने आमाको विचारलाई मेरो दिलले पटक्कै मान्दैनथ्यो । त्यसैले, ‘होइँन, आमा तपाइँ नै अलिक बढि खानुहोस् है । अझै तपाइँ बिमारी पनि हुनुहुन्छ,’ भनेर मेरो थालमा पस्केको एक चोइली खाना आमालाई नै फर्काइँ दिन्थें ।
अघिल्लो साल गाउँमा एउटा घटना घट्यो । भलेम्पा बाजेको अचानक निधन भयो । उहाँको एकजना छोरो थियो । उहाँ दिवंगत हुनु भएपछि हामीले ठेक्कामा खाँदै गरेको खेत पनि छोरोले बेचिदियो । त्यसपछि त हाम्रो झन बिचल्लीको दिन सुरु हुन थालेको थियो । तैपनि त्यस बेलुकीको खाना खाएपछि, ‘छोरा ! भोलीदेखि घरमा खानको लागि चामल छैन । त्यसैले तँ भोली दिक्त्तेल जा । दिक्त्तेलमा पुगेर देवाम्पा दाजुलाई भेट । जिल्ला सदरमुकाममा विकासे चामल खोलेको छ रे भन्ने अघि बेसाहा खोज्न लेक्पातिर जाँदा सुनेको थिएँ । हुनत म आफै पनि जान सक्थे । तर मेरो घुँडाको पांग्रा बिग्रेको हुनाले भारी बोक्न सक्न छोडेकी छु । दाजुलाई भेटेर के कति बगडा चामल दिनुहुन्छ, लिएर आइजा है,’ भन्नुभयो ।
मैले जबाफ फर्काउने क्रममा ‘हुन्छ, आमा ! किन सुर्ता गर्नुहुन्छ । म गइ हाल्छु नि,’ भनें ।
भोली बिहान सबेरै म उठता आमाले प्लाष्टिकको झोलाभित्र एउटा नाम्लो र जुटको बोरा तयार गरि दिनु भएको थियो । अब तिनै झोलालाई बोकेर घामको झुल्कामा दिखुवा खोला पार गरें । तर खोलादेखि रातोडाँडासम्मको उकाली चढ्दा मेरो मन अचम्मै खेलिरहेको थियो । खै किन हो किन मलाई त्यसबेला बाँच्न पटक्कै मन लागिरहेको थिएन । जिन्दगीसँग ज्यादै बिस्मात लागिरहेको थियो । ‘यत्तिका धेरै दुःख पाउनु भन्दा त झुन्डिएर मरौ कि के हो ?’ भन्ने यदाकदा लाग्ने गर्दथ्यो । तर रातोडाँडाको नजिकै एउटा खोल्सो थियो । तिनै खोल्सोमा बहिरहेको स्वच्छ पानीलाई धित मरिन्जेल पिएँ । त्यसपछि डाँडामा पुगेर एकछिन बिसाएँ । अनि डाँडादेखि आफ्नो जन्मभूमि छिप्तीलाई एक झमट हेरेर, ‘होइनँ ! अहिले नै यो जीवनको नाश नगरि हालौं । बरु अझै धेरै परिश्रम गरौं । त्यसैमा म लगायत मेरो परिवारको भलाइ हुन्छ,’ भन्ने विचार लिएँ ।
रातोडाँडा पार गरेर जाँदै गर्दा देवाम्पा दाजुलाई मनभरी सम्झँदै हिडें । देवानको बाबु भएकोले देवाम्पा भनेतापनि उहाँको खास खास नाम ‘रत्न राई’ हो । तत्कालिन समयमा निर्दलिय पञ्चायती व्यवस्था थियो । र, उहाँ त्यस व्यवस्थाको जिल्ला पञ्चायतको सदश्य हुनुहुन्थ्यो । अब दिक्त्तेल पुगेर उहाँलाई कहाँ भेट्ने ? भेटेपछि कसरी मनभरीका वेदनाहरु पोख्ने ? हृदयभित्र बसिरहेका उकुसमुकुस र छटपटीहरुलाई कसरी सुनाउने ? फेरि त्यतिका धेरै दुःख सुनाएपछि दाजुले मलाई के सम्झने हुन् ? त्यसपछि उहाँले के भन्ने होला ? भन्ने अनेकन अडकलबाजीहरु गरें । तैपनि उहाँ आफ्नै फूपुको छोरो हुन् । आजसम्म मलाई माया गर्नै भनेकै उहाँ एकजना मात्र त हुनुहुन्छ । त्यसैकारण मन ढुक्क बनाएर बोल्छु भन्ने आँट कसेर सुरुसुरु हिडिरहें ।
हुनत उहाँ जिल्ला पञ्चायतको सदश्य मात्र नभएर हाम्रो हाईस्कूलको सँचालक समितीको अध्यक्ष पनि हुनुहुन्थ्यो । मैले गत साल स्कूल पढाइ शुल्क तिर्न नसकेपछि हेडमास्टरले, ‘तैले महिनावारी र जाँच फि दुवै तिरेको छैनस् । त्यसैले बार्षिक परिक्षा दिन पाउदैनस् । यदि स्कूल पढ्ने हो भने अर्को वर्ष पनि यही कक्षामा पढ्नु पर्छ,’ भनेका थिए । उक्त्त कुरो कक्षाको सबै साथिहरुले चाल पाएपछि मलाई थोरै हीनताबोध भएको थियो । त्यसैले अब उप्रान्त स्कूलको ढोका पुनः कहिले नटेक्ने प्रण गर्दै सँधै सँधैको लागि स्कूल छोडेको थिएँ ।
तर दाजुले सो कुरो चाल पाएपछि गरिबको छोरो भएपनि मेरो दिकुको छोरो हो । अनि केटो एकदम जेहन्दार पनि छ भनेर हेडमास्टरलाई जत लगाउनु भएको थियो । त्यसपछि पोहोर सालको बार्षिक परिक्षामा बस्न पाएको थिएँ । हुनत परिक्षामा बसेपनि नबसेपनि आखिर खास्सै असर पर्दैन थियो । किनभने मसँग न कितावहरु नै हुन्थे न कपिहरु नै । तैपनि हाप छुट्टीभन्दा उसो स्कूलबाट भागेर घर झर्नु पर्थ्यो र बाख्रा गोठाला जानु पर्थ्यो । जे होस् परिक्षा दिएँ र कक्षा चढ्ने अवसर पाएँ । अझै उहाँले मलाई त्यो अवसर मात्र प्रदान गर्नु भएको थिएन । त्यो वर्षभरीको अर्ध शुल्क मिनाहा पनि गरिदिनु भएको थियो ।
मनभरि पिरको भारी बोकेर एक्लै बाटो काट्दाकाट्तै एकछिनपछि दिक्तेल पुगिहालें । बजारको बीच भागमा भोटेकान्छा साहुजीको घर थियो । उनको वास्तविक नाम चाहिँ मलाई थाहा थिएन । तर सबैले उनलाई भोटेकान्छा नै भनेको सुनेको थिएँ । दाजु अन्य समयमा तिनै घरमा बस्ने गर्नु हुन्थ्यो । तर जब म त्यहाँ पुगें । तब उहाँ त्यहाँ हुनुहुन्नथ्यो । त्यसपछि बङ्लङ्ग बङ्लङ्ग हिड्दै भवन गैरामा झरि पुगें । किनभने जिल्लाका प्रायजसो कार्यलयहरु त्यतै थिए । त्यहाँ पनि उहाँलाई भेटन नसकेपछि बाटोमा भेटिएका मानिसहरुलाई सोध्न थालें । कसैकसैले ‘हाटडाँडा’ तिर जाउँ भन्ने सल्लाहा दिए ।
बटुवाहरुको कुरो सुनेर म त्यतै लागें । मध्यान्हको पारिलो घामले दिक्त्तेल बजारलाई बिदाइँ गर्दैगर्दा म हाटडाँडा पुगिसकेको थिएँ । हाटडाँडाको नजिकै दुईवटा ठूल्ठूला खाद्य गोदामहरु थिए । अब गोदाम घरको अगाडी आइँपुगेको छु । दाजुलाई भेटेपछि त्यसैपनि १५-२० किलोग्राम बगडा चामल त मिलाई दिइ हाल्नुहुन्छ भनेर ढुक्क मन थियो । तर कसोकसो बजारको बीचबाट पहिलो चोटी भारी बोकेर हिड्नु पर्छभन्दा थोरै ग्लानी भइरहेको थियो । तर जे होस् ‘पहिलो प्राथमिकता भनेको जीवन नै हो । त्यसपछि मात्र अरु चिज हुन्’ भनेर पूर्ण तयार भएको थिएँ ।
नभन्दै एकछिनपछि दाजुसँग मेरो भेट भयो । मेरो मनमा लागेको सबै बृतान्त सुनाएपछि, ‘थैइया, अलिक धिलो आयौ । अघिसम्म फालाफाल चामल थियो । अहिले सबै बाँडेर सकियो । हुनत बगडा चामल हाम्रो जस्तो मिठो त छैन । तर प्रति किलो १ रुपैया ७० पैसा पर्ने चामल एकदम सस्तो थियो,’ भन्दा मेरो सपना केवल सपनामा नै परिणत भयो । अब गोदामकै सबै चामल सकिएपछि मैले घरमा गएर के भन्ने होला भनेर पिरको भारी झन थपिन थाल्यो ।
तर मैले त्यति धेरै सोची नसक्त्तै, ‘अब घरमा खाने चामल छ कि छैन ? कि म कसैलाई चिठी लेखि दिउँ,’ ठूलो स्वरमा बोल्नुभयो । मैले जबाफ फर्काउने क्रममा, ‘छन त छैन् । तर सौतेनी आमाको छोरा हुँ । मेरो परिवारको मात्र सौतेनी आमाको छोरो नभएर सारा गाउँकै सौतेनी आमाको छोरा भइरहेको छु । त्यसैले गर्दा म जन्मेको गाउँका दाजुभाईहरु कसैलाई मन परेका छैनन् । अझै त्यसैको फाइदा उठाएर पशलको नेवारले मात्र होइँन, दाजै दमै र कामीले त मलाई हेप्छन्, हजुर । आ…ठिक्कै छ । जे होस् होस्,’ भनेर सानो स्वरमा बोलें ।
मेरो कुरो सुनेपछि, ‘मावली भाइ ! तिम्रो कुरो म राम्ररी बुझ्छु । जिन्दगी खेपाइ हो । अनि तल र माथि भइरहन्छ । लु बरु यसो गर्नु । पर्सि फत्तेपुर झर्नु । मैले मेरो जग्गा जमिन सबै सरकारी कार्यलयमा धितो राखेर जनताको सेवाका लागि १ सय बोरा चामल निकाल्दै छु । जस्ले जति बोके पनि हुन्छ । बोक्नेले ६० प्रतिशत पाउँछ र ४० प्रतिशत जिल्लामा बुझाउनु पर्छ । म अहिले एकदम व्यस्त छु, लु तेसै गर्नु,’ भन्नुभयो । र, मेरो नजरबाट उहाँ सुस्तरी बिलय हुनुभयो ।
उहाँसँग छुटेपछि मलाई जिन्दगीमा त्यतिका धेरै सहयोग गर्ने देवाम्पा दाजुको बाहेक अरु कसैको नाम जान्न नपरोस् भन्दै गर्वित भएको थिएँ । दाजुसँग छुटेर ४ घण्टा जति हिडेँ । त्यसपछि साँझपख घरमा पुगेको थिएँ । बिहानी पख खाएको खोलेले समयमा नै बिदा लिइसकेको थियो । तर मलाई देख्ने बितिक्कै,- ‘छोरा ! चामल ल्याइँनस् ?’ निन्याउरो मुहारमा आमाको मुख खोलियो ।
‘आमा ! दिक्त्तेलमा छैन रहेछ । दाजुले पर्सी फत्तेपुर झर्नु भन्नुभएको छ,’ भनेर छोटो उत्तर फर्काएँ । चामल घरमा ल्याएर खाना पकाउने प्रतिक्षा गरेकी मेरी आमाले चिण्डोमा लुकाएर राखेको जगेडा चामल निकालेर पातलो खोले बनाइन् । त्यस बेलुकी हामी सबैजनाले अलिअलि खोले खाएर भाक्लाकभुक्लुक्कै सुत्यौं । भोली बिहान उज्यालो हुँदा म कमलाम्पाको घरमा पुगेर एउटा ढाकर बुनी मागिरहेको थिएँ । त्यसपछि एउटा खुकुरी बोकेर दम्कुडाँडा जङ्गल पुगें । त्यहाँदेखि एउटा चिलाउनेको हाँगालाई काटेर ढाकरलाई बिसाउने टेकुवा बनाएँ ।
पर्सिपल्ट ढाकर र टेकुवा तयार भयो । त्यसपछि परदेश लाग्ने बेलामा आमाले नै मेरो लागि समानहरु मिलाइँ दिन थालिन् । ढाकरभित्र तल्लो घरदेखि मागेर ल्याएको एउटा सिलाबरे भाँडो राखिदिनु भयो । र, ‘मेरो छोरालाई खाना खाने एउटा थाल,’ भनेर भाडाको जोडी एउटा सिलाबरे थाल पनि राख्नु भयो । बेलुकी सुत्दा ओढ्ने भनेर एउटा खास्टो तयार पारिदिनु भयो । तिनै खास्टोले भाडा र थाल एकपोका पार्दिनु भयो । आमाको त्यो कार्यशैली मैले निक्कै प्रेमपूर्वक हेरिरहेको थिएँ ।
अझै आमाले घर छाड्ने बेलामा, ‘छोरा ! हाम्रो आशा र भरोसाको केन्द्रबिन्दु भनेको केबल तँ मात्र त हो । त्यसैले बेतलीको भिरमा राम्ररी जोगिनु है । किनभने त्यहाँ एकदम ठूलो पहरा छ । अनि पहराको बाटोमा स-साना अखेटाहरु मात्रै छन् । त्यहाँदेखि चिप्लिएर बङलङ्गै लडियो भने ऐइया भन्नै पाइँदैन । एक्कैचोटी कोसीमा झरेर डुबिमरिन्छ । त्यहिँमाथि ढाकरको समानले मुनीतिर तान्छ । यदि त्यसरी कोसीमा डुबेर तिमी मर्यौ भने हामी कस्लाई छोरा भन्नु र ?’ आमाले त्यसो भन्दै गर्दा उहाँका आँखाका ढकनीहरु आँसुले पूर्ण भरिएका थिए ।
हामी एक आपसमा छुट्न लागेको थियौं । तर छुट्नु अगाडी आमाले छाडेका तिनै अन्तिम शब्दहरु मेरो कानमा निक्कै लामो समयसम्म गुन्जिरहेको थियो । मैले त्यसबेला जिन्दगीमा पहिलोचोटी ढाकर बोक्दै थिए । हुनत त्यसबेला ढाकरमा अन्य केही समानहरु थिएनन्, खालि नै थियो । तिनै रित्तो ढाकर बोकेर कोशी गड्तीरको बाटैबाटो मैले तीन दिन हिडेर बिताएँ । तर त्यसरी हिड्ने क्रममा हरेक मध्यान्हमा सूर्यको तापले गड्तिरको बालुवालाई मज्जाले तताइँरहेका हुन्थ्यो । र, म तिनै तातो बालुवामा नाङ्गो खुट्टाले ढ्यापढ्याप टेक्त्ता खुट्टा भत्भती पोलिरहेको आभाष हुन्थ्यो । तर जब समयले कोल्टे फेरेर बेलुकी पखमा परिणत हुन्थ्यो । तब कोशीदेखि उत्पन्न भएको चिसो बतासले मेरो शरीरमा घुलमिल हुँदा थोरै आनन्दको अनुभूति मिल्थ्यो ।
कोशी किनारको बाटोलाई बिदा गरेर हिजो बेलुकि फत्तेपुर आइँपुग्दा शरीर गलेर लखतरण भएको थिएँ । जिन्दगीमा त्यतिका धेरै कहिलै हिँडेको थिइनँ । त्यो नै मेरो पहिलो अनुभव थियो । त्यहाँ झरेपछि मेरो खुट्टाका पाइतालाहरु, नलिखुट्टा, घुँडा, पाँसुला र तिघ्रा सबै दुखेका थिएँ । तैपनि मेरो जिउने रहर जीवित नै थियो, मरिहालेका थिएनन् । हामी त्यहाँ झरेपछि अन्य भरियाहरुसँग मिलेर चन्द्र नहरको बायाँ किनारमा बास बसेका थियौं । त्यस बेलुकी मैले गाउँदेखि बोकेको चामल पनि अन्तिम चोटी पकाएका थिएँ । किनभने हरेकदिन मैले खाने चामल हिसाब गरेर तीन माना जति मात्र बोकेको थिएँ । त्यो पनि मधेशदेखि फर्कदा डब्बल तिर्ने शर्तमा आमाले खोजिदिनु भएको थियो ।
भोलिपल्ट चामल थापेर चन्द्रनहर किनारमा वरिपरिको झिक्राहरु खोजेर सानो आगो बालेको थिएँ । तर त्योभन्दा ठूलो पिरको आगो मेरो हृदयभित्र दन्दन बलिरहेको थियो । दुईदिन जति चामलको पर्खाइमा बसेपछि देवाम्पा दाजुसँग सक्षिप्त भेट भएको थियो । उक्त्त भेटको अवसरमा, ‘चामल बोक्ने मानिसहरु थोरै झर्छन होला भनेर १ सय बोराको कागजात गरेको थिए । तर मान्छेहरु एकदम धेरै झरे । त्यसैले बस चँढेर हिजो अञ्चलको सदरमुकाम राजबिराज पुगे । त्यहाँ पुगेर सगरमाथा अञ्चलको अञ्चलाधिस जियाउल हकलाई बिन्ति जाहेर गरेँ । त्यसपछि २ सय ८६ बोराको कागज लिएर आएको छु । यहाँ बस्नेहरुले ६ छाक खाना खाँदा १९ बोरा चामल खर्च भइँसकेको छ । “जनताको सेवाको लागि समर्पित भएर राजनीति गरेको हुँ,” त्यसैले त्यो सबै चामल मिनाहा गरिसकेको छु ।’ भनेको सुन्दा मेरा नयनहरु रसिला रसिला भएका थिएँ । त्यसबेला दाजै धेरै धेरै धन्यबाद छ भनेर भन्न मन लागेको थियो । तर म सानो मान्छेले आफूभन्दा ठूलो मान्छेलाई भन्न मिल्छ कि मिल्दैन भनेर दोधारमा थिएँ । त्यसैले केही नबोलि उभिरहेँ । तर एकछिनपछि फेरी उहाँ ढाक्रेहरुको हुलमुलमा बिलय भइँहाल्नु भयो ।
दाजुसँग बिदाइँ भएपछि म केहीबेर भारी मिलाउन थालें । भोली बिहान भालेको डाकमा पहाडको बाटो लाग्नु पर्ने थियो । चामल बोकेर कस्साकस्सी हिड्दा घर पुग्न ७ दिन जस्तो लाग्थ्यो । जति दिन लागे पनि आ…५० किलो त जसरी पनि सक्छु होला भनेर त्यति बोक्ने योजना बनाएको थिएँ । भारीतारी मिलेपछि खुसी हुँदै हामी बेलुकिको खाना पकाउन थाल्यौं । मेरो खाना खाने जोडी डिल्लु माईला थियो । ऊ साइनोले मेरो भतिज भएपनि मभन्दा झण्डै दुई फिट जति अग्लो थियो । खाना पकाउने क्रममा मैले सिलाबरे भाँडामा भात बसाउँदा उनले कराहीमा गुन्द्रुक भुलभुली उमालीसकेको थियो ।
हामी त्यसरी खाना पकाउदै गर्दा हाम्रो नजिकै बायाँतिर मझुवातिरका अन्य दुईजना भरियाहरु पनि थिए । तर उनीहरुले खै कहाँदेखि हो कुन्नि ? अलिकती सुङ्गुरको मासु किनेर कराहीमा परपर भुटिरहेका देखिन्थे । उनीहरुमध्ये सानो चाहिँले, ‘दाजै, छ्या हौ । यो मासु त पटक्कै बलियो छैन रहेछ है । कति चलाउनु हौ, सबै डढिसक्यो । कि मधेशको मासु सबै यस्तै हुन्छ हो ?’ हामीले सुन्ने गरी भन्यो ।
उनको भना सुनेर अर्को भरियाले, ‘सा ना सा गुन्द्रुक नाखो चानेको हिङ्गे,’ अथवा ‘मासु हो नि मासु, गुन्द्रुकभन्दा मिठो हुन्छ,’ भने । चाम्लिङ् भाषामा उनले त्यसो भनेको सुन्दा मेरो दिल थोरै रोएको थियो । अझै त्योभन्दा बढि दिल त त्यसबेला रोयो । जब खाना खाने बेलामा डिल्लु माईलाले झोलादेखि एक फ्वाँक फर्सीको बिया र निभुवाको अचार उसको थालमा फ्यास्सै हाल्यो । उनले लुकाएर बोकिरहेको त्यो अमिलो अचार देखेर मेरो मुखदेखि सरर पानी आयो । त्यसपछि मेरो दिल पनि के मान्थ्यो र ?
‘माईला ! के मलाई पनि अलिकति अचार दिन सक्छौं ? बगडाको चामल र गुन्द्रुकको झ्याम्टा घाँटीदेखि उँधो छिर्दै छिरेन,’ भनेर ऊतर्फ मेरो थाल अगाडी बढाएँ । तर माईला भतिजको हृदय मेरो जति दयालु कहाँ रहेछ र ? मैले त्यसो भनेको सुन्ने बितिक्कै उनले मेरो छातीमा तिखो बाणले बेस्सरी प्रहार गर्दै एकचोटी बोल्यो ।
‘बाबै ! बाडियो भने त सक्किहाल्छ नि ।’






