नियात्रा : गोर्डन राम्जिले पकाएका गोरुको मासुका स्वाद !

SHARE:

अलौकिक सहर लन्डनको भूमिगत रेल अड्डा चेरिङक्रसदेखि बाहिर जमिनमा निस्कँदा आकाशमा ताराहरु टिमटिम टल्किरहेका मज्जाले नजर लगाउन मिल्छ । हामी आकाशगङ्गामा भएका तिनै असङ्ख्य ताराहरु र सडक किनारमा बलिरहेका बत्तिको सहाराले सुस्तरी अगाडि बढिरहेका छौं । त्यसरी हिँड्ने क्रममा सबैभन्दा अगाडि मेरो छोरो छ । र, उनले आफ्नो मोबाइलमा मानचित्र हेर्दैहेर्दै मार्गदर्शकको भूमिका निभाइरहेको छ । छोराको उमेरले तीन दशक पारगरिसकेपछि मैले मानचित्र हेर्न पूर्णकालीनरुपले फुर्सद पाइसकेको छु । मानचित्रको भरमा हामी त्यसरी हिँड्दै गर्दा उनको पछिपछि छोरी, म र अन्तिममा मेरी श्रीमतीले लामोलामो सास तान्दै पछ्याइरहेकी छिन् ।

हुन त, यो कुनै घनाघश्यको उकाली भने निश्चय नै हुँदै होइन । बेलायतको राजधानी लन्डनका चिल्ला सडकहरुका बयान हुन् । अझै मौसमको कुरो गर्ने हो भने अक्टोबर महिनाले आँधा यात्रा पूरा गरिसकेको छ । अब त्यसै त अक्टोबरको ठण्डी महिना । त्यहीँमाथि लन्डनको चिसो । हामीलाई आ-आफ्ना कानहरु चिसिएर बिलय भइँरहेको महसुस भइरहेका छन् । त्यसरी एक रफ्तारमा सडक किनारमा हिँड्दै गर्दा चिसोको उत्पातले कन्सिरीमात्र होइन । अझ नाकदेखि सिँघान तुरुरु चुहिरहेको अनुभव गरिरहेका छौं ।

तर, खै किन हो किन ? मलाई त्यसबेला कनसिरीहरुभन्दा हत्केलाहरु पो बढी चिसिँदै गएको भित्रभित्रै महसुस भइरहेको छ । त्यसैले जाडोले चिसिएका हत्केलाहरुलाई सर्लक्कै पतलुङ्को गोजीमा लुकाएर छिमेकी देश भारतमा बनेको क्लार्क जुत्ताले निकालेको चुरुमचुरुम आवाजसहित म सुस्तरी अगाडि बढिरहन्छु । केहीबेरमा हाम्रा पयरहरु चेरिङ्क्रश रेल अड्डामा पुगेर दायाँ घुम बायाँ घुम भनेर एकछिन परेड खेल्छ । किनभने मोबाइलमा मानचित्रले आफ्नो ठाउँ पत्ता लगाउन केही समय लगाइरहेको छ । एकछिनपछि मोबाइलले मानचित्र देखाउन थाल्छ । त्यसपछि क्रमशः अगाडि बढ्छौं र केहीबेरमा स्ट्रान्ड सडकमा पुगेर हाम्रा पयरहरु पुनः दोस्रो चोटी रोकिन्छ ।

बग्रेल्ती मानिसहरु र आधुनिक मोटरहरुले भरिभराउ लन्डनको बहुत चर्चित स्ट्रान्ड सडक सिटी अफ वेष्टमिनिस्टरमा लमटन्न परेर टाँगिएको वर्षौं भइसकेको छ । मेरो जीवनको इतिहासलाई थोरै कोट्याउने हो भने पनि मैले त्यस सडकमा आजभन्दा लगभग ३० वर्ष अगाडि प्रथमचोटी पाइला पारेको थिएँ । भनौं, त्यतातिर बरालिहिँडेको तिनै अविस्मरणीय यादहरु मेरो मस्तिष्कमा अझैसम्म ताजै भएर बसेको छ । त्यसपछि मेरा पाइतालाहरुले तिनै सडकको किनारहरुमा कतिचोटी डोब पारेको होला ? त्यो चाहिँ मलाई फिटिक्कै याद छैन । तर साँचोसाँचो बताउने हो भने मलाई एउटा कुरोको चाहिँ अवश्य याद छ । ‘म अझै जीवित छु र सोही सडकमा पुनः टेकिरहेको छु ।’

वास्तवमा त्यो साँझ २२ अक्टोबर २०२१ को साँझ हो । साँझ झमक्कै परिसकेकोले बाटोको किनारमा मुस्किलले बाँचेका रुखपातमा बसेर संगीत भर्ने चराचुरुङ्गीहरु त्यस बेलुकीपखलाई बिदाइ गरेर अघि नै बास बसिसकेका छन् । तर चराचुरुङ्गीहरुमात्र बास बसेर बिचरा लन्डन सहर के शान्त हुन्थ्यो र ? सप्ताहान्त मनाउन लन्डनमा आएका जड्याहाहरु बाटैभरि छ्यासछ्यास्ती देखिन्छन् । के युवा, के युवती, के वृद्धा उनीहरु यतिका धेरै छन् कि हामीलाई सडकको किनारमा खुट्टा टेक्ने ठाउँ दिइरहेका छैनन् ।

हुन त स्ट्रान्ड सडकमा मात्र नभएर यहाँ रहेका हरेक सडक, चोक र ससाना गल्लीहरुमा हरेक शुक्रबारको बेलुकी मादक पदार्थ सेवनकर्ताहरुले ठूल्ठूला आवाजहरु निकालिरहेका हुन्छन् । उनीहरुको आवाजले भरिएको गीतसंगीत र थेम्स नदीको सुस्केरा लिँदै सडक किनारमा हिँड्नका लागि एक प्रकारले रमाइलो नै भइँरहेको छ । त्यसैले हामी अति आनन्दित हुँदै क्रमशः हिँडिरहेका छौं । तर एकछिनपछि व्यस्त सडक स्ट्रान्डलाई त्यहीं छाडिराखेर सर्लक्कै दाहिनेतिरको गल्लीमा मोडिन्छौं । तिनै साँघुरा गल्लीमा छिरेपछि त्यतिका धेरै मानिसहरुको हुलमा कसोकसो मेरा नयनहरु सडक किनारमा रहेका घरबारविहीन मानिसहरुको अनुहारमा पुगेर सुस्तरी बिसाउँदा मेरो आङ जिरिङ्ग भएर आउँछ ।

दुनियाँको त्यति अनौठो सहर लन्डनमा जाडोले कुकुरको खुट्टाझै कुक्रुक्कै बाङ्गो पारेर सुतिरहेको तिनै घरबारविहीन मानिसहरु देख्दा मेरो हृदय घरीघरी जलिरहने गर्दछ । तैपनि मैले उनीहरुको रमिता हेर्न शिवाय के नै गर्न सक्थे र ? यसो गोजीदेखि निकालेर दुई-चार सिलिङ् दान दिन त मन लागिरहेको हुन्छ । तर, अहिलेसम्म पैसाले मलाई नै पुगिसकेको अवस्था छैन । बरु उनीहरुलाई देखेपछि साँच्चै यो संसार कति विचित्रमय छ भन्नेचाहिँ मलाई मनमनै लागिरहेको छ । तर आ… छाड्दे, व्यर्थैमा मलाई यसबेला कुनै दार्शनिक हुनु परेको छैन । त्यसैले मानिसहरुको जीवनकहानी जानिरहन मलाई के जरुरी छ भन्ने सोचे र खुरुखुरु मेरा कदमहरु अगाडि बढाइरहेँ । त्यसपछि सेभोइ कोर्टमा पुगेर म एकछिन टक्क रोकिए ।

हामी सेभोइ कोर्टमा अवस्थित ‘होटल सेभोई’को अगाडि पुगेपछि छोराले मोबाइलको सहायताले तस्बिरहरु लिन थाल्छ । तारा र छोरीले तस्बिरका लागि विभिन्न पोजहरु दिँदै गर्दा म केहीबेर सडकको किनारमा उभिएर होटललाई नजर लगाइरहेको छु । त्यसरी होटलको सामुन्ने खडा भइरहँदा मनमनै भनें, ‘बाफ रे बाफ ! मेरो भाग्य दह्रोरहेछ । त्यसैले भाग्यले डोर्‍याएर त्यति सुन्दर होटलको अगाडि ल्याइँ पुर्‍यायो ।’ त्यसपछि म एकछिन बेजोडले खुसी भएँ । अनि होटलको इतिहासलाई स्मरण गर्न थालिहालें ।

त्यति आनन्ददायक एवं प्रतिष्ठित होटलको उद्घाटन ६ अगस्ट १८८९ मा भएको थियो । अहिले होटलका मालिक साउदी अरबको राजकुमार अल-वालिद बिन तलाल छन् । उनले होटललाई २ सय २० मिलियन पाउन्डमा खरिद गरेका हुन् । हुन त हामी यस होटलमा आउनु अगाडि अर्को प्रख्यात होटल ‘डोरचेष्टर लन्डन’ पुगेका थियौं । जसको मालिक ब्रुनाईका राजा सुल्तान हुन् । खै के भएर हो कुन्नि ? दुनियाँका धनाढ्य राजा र रजौटाहरुले आफ्नो प्रतिष्ठाका लागि लन्डनमा होटल किन्ने होडबाजी नै चलाएका छन् ।

हुन त त्यतिका धनि राजा र राजकुमारहरुलाई पैसाको खास्सै के आवश्यक पर्छ होला र ? त्यसैले त्यस होटल राजकुमारले खरिद गरेपछि होटललाई पुरै मर्मत गरेका थिए । होटलको मर्मत सम्भारपछि सन् २०१० मा तत्कालीन बेलायती राजकुमार चार्ल्स (अहिलेको राजा चार्ल्स तेस्रो)को बाहुलीबाट होटलको दोस्रोचोटी उद्घाटन भएको थियो ।

विश्वको त्यति प्रतिष्ठित होटल सेभोईले धनाढ्य मानिसहरुको आकांक्षा त यस्सै पूरा गर्ने नै छ । त्यसबाहेक होटलमा राजा एडवार्ड सातौं, राष्ट्रपति ह्यारी ट्रुमेन र प्रधानमन्त्री विन्स्टन चर्चिलसम्मले आराम गरेका हामीसामु इतिहास छ । तर राजनीतिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुमात्र नभएर होटलमा गीत संगीतका पारखीहरुदेखि हलिवुडका नायक नायिकाहरुसम्मले त्यहाँका बिस्ताराहरु तताएका छन् । अझै यसो भनौं । ती कलाकारहरुका लागि क्यालिफोर्निया र लस एन्जलसपछिको दोस्रो बास बस्ने घर नै लन्डनको त्यस होटल हो भनेर ठोकुवा गर्दा कुनै फरक नपर्नु पर्ने हो । होटलभित्र जो जहाँसुकै बसेको भए तापनि बिचरा चार्ली चाप्लिनले त्यस होटलमा बस्दा कुन कोठा छानेका थिए होला ? अनि विश्वविख्यात ‘सेक्स सिम्बल’ भनेर चिनिने मार्लिन मुन्रोले त्यहाँ बस्दा कसलाई सम्झेकी थिइनँ होली भनेर म अहिलेसम्म अचम्म मानिरहेको छु ।

हामी हिँड्दै होटलको अगाडि पुग्दा भोकले हिरिक्कै भएका छौं । त्यहीमाथि त्यति व्यस्त सडकमा निकै लामो समयसम्म हिँडेकोले थाकेर लखतरण पनि भएका छौं । त्यसैले हामी त्यहाँ एक अर्कामा नबोली हिँडिरहेका छौं । तर सबैजना चुपचाप भए पनि सुस्तरी होटलभित्र छिर्दछौं । होटलभित्र पस्ने बितिक्कै एउटा अङ्ग्रेजी भट्टी पसलमा पुगेर हामी ठोकिन्छौं । अब भट्टी पसल भन्नेबित्तिक्कै बेलायतमा हुर्केको छोराछोरीको मुखमा पानी आइहाल्छ । अझै भट्टी पसलको ठीक अगाडि एकजना बेयरा हातमा मेनु बोकेर उभिरहेको देख्छौं । उनलाई देखेपछि छोरा सुस्तरी हिँडेर उनको नजिक पुग्छ र हतारहतार एक बोतल वाइन मगाइ हाल्छ ।

हाम्रो खाना खाने समय बेलुकीको ९ बजेर ४५ मिनेट जाँदाको छ । अनेकौं प्रयत्नहरु गर्दा पनि त्यो भन्दा अगाडिको समयमा हामी टेबल आरक्षण गर्न सफल भएको थिएनौं । त्यसैले समय नभइन्जेलसम्म बारमा बसेर मज्जाले वाइन पिउँछौं । बारभित्र मानिसहरुको निक्कै हुल देखिन्छन् । अझै कसैकसैले दिउँसो भएको फुटबल खेलका कुरोहरु गरिरहेका छन् । बेलायतमा सबैभन्दा रमाइलो त के हुन्छ भने नेपालमा जस्तो हरेक गल्ली, चोक र भट्टी पसलमा राजनैतिक गफहरु हुँदैनन् । केबल फुटबलको कुरो हुन्छ । हामी एक आपसमा केही नबोले पनि कुहिरेहरु बोलेको सुनिरहेको छौं । तर ताराचाहिँ त्यत्ति अङ्ग्रेजी बुझ्दिनन् । त्यसैले हातमा वाइनको गिलास लिएर त्यस कोठाको सिलिङ्मा झुन्डाइएका आकर्षक चान्डिलिएरहरु र भित्तामा सजिएका तस्बिरहरु हेरेर मन्त्रमुग्ध भइरहेकी छिन् । तिनीहरुलाई देख्दा पैसा भयो भने मानिसले जे पनि गर्न सक्ने रहेछन् भन्‍ने मलाई पनि महसुस भइरहेको छ ।

एकछिनपछि म यसो हातको घडी हेर्छु । हाम्रो खाना खाने समय हुनै लागेको रहेछ । एकपटक, ‘समय भयो,’ भन्छु । अनि गिलासको वाइन स्वाट्टै बनाउँछु । त्यसपछि म सबैभन्दा अगाडि हिँड्न थाल्छु । मेरो पछिपछि छोराछोरी आउँछन् र श्रीमती अरु बेलाझैं अन्तिममा पछ्याउन थाल्छिन् । हामी दुई/चार कदम हिँडेर रेष्टुराँको रिसेप्सनमा पुग्छौं तर त्यसबेलासम्म रिसेप्सन अझै व्यस्त देखिन्छ । अझै रिसेप्सन अगाडि २-४ जना मानिसहरु कतै खाना खाने टेबल पाइएला कि भनेर पर्खिरहेको बिरमाइलो दृश्य नजर लगाउन मिल्छ । रिसेप्सनमा ठ्याक्कै अगाडि पुगेपछि छोरीले स्वागतिकासँग हाम्रो नाम छ कि छैन भनेर एकचोटी जाँच गरिन् । रेष्टुराँ अति व्यस्त भएकोले स्वागतिका थोरै तनावमा देखिन्थिन् । तैपनि उनले हाम्रो नाम सोधेर कम्प्युटरमा हाम्रो नाम जाँच गर्न सुरु गरिन् ।

उनी त्यसरी कम्प्युटरको मोनिटरमा घोप्टीरहेकी देखेर अर्को एकजना सुइरे गोरा हाम्रो नजिक आइपुग्छ । अनि तपाईंको नाम भनेर छोरीलाई सोध्छ । छोरीले उनको नाम बताउनेबित्तिक्कै उसले बोकिरहेको टेबलेटमा यसो औंलाहरु खेलाउँछ । त्यसपछि, ‘ल मलाई पछ्याउनुहोस्,’ भन्छ । हामी उनको पछिपछि लाग्छौं । उनले लगेर हामीलाई एउटा टेबलमा राख्छ । र, ऊँ त्यहाँदेखि हामीसँग केही नबोली बिलय भइहाल्छ । तर उसले हाम्रो साथमा टेबलेट मेनु छाडेर जान्छ । टेबलेट हाम्रो साथमा पर्ने बितिक्कै मैले मेनुका पानाहरु सरर पल्टाउन थाल्छु । तर त्यहाँ भएका धेरैजसो खानेकुरोहरुको नाम जान्न मलाई अलिक गाह्रो हुन्छ ।

वास्तवमा सेभोइ ग्रिल फ्रेन्च र अङ्ग्रेजी खानाको मिश्रित भोजनालय हो । त्यसैले मेनुसम्बन्धी मलाई अलिक थोरै ज्ञान छ । त्यसैले मैले मोटामोटीमात्र बुझ्नसक्छु । तारालाई त झन् आकाशको फल आँखा तरि मर नै भइरहेको छ । त्यसैले धिला नगरी, ‘म मेनु हेर्न जान्दिन है,’ कसैलाई संकेत नगरी उनले मेनु हेर्नबाट हात उठाउँछिन् । किनभने कम्प्युटर सम्बन्धी उनलाई झन् थोरै ज्ञान छ । अब त्यतिका ठूल्ठूला छोराछोरी साथमा भएपछि व्यर्थैमा मैले पनि के टाउको दुखाइरहने है भन्दै मेनुका पानाहरु पल्टाउन थपक्कै बन्द गर्छु । मैले पनि हात उठाएपश्चात्, ‘तिमीले मेनु हेर्नु र म वाइनको सूची हेर्छु,’ भन्दै छोराले उनको बैनीलाई हुकुम दिन्छ ।

छोराको कुरो सुनेपछि सायद छोरीले राम्रै प्रकारका खानाहरु मगाउँछिन् होली भनेर एकमनले ढुक्क हुन्छु । तैपनि के भरोसा हुन्छ र भन्दै उनले मेनु पढिन्जेलसम्म मैले उनको मुहार पढिरहन्छु । उनले मेनु हेरिसकेपछि दाहिने हात उठाएर बेयरालाई बोलाउँछिन् । बेयरा थोरै मुस्कान छाड्दै हाम्रोसामु आइपुग्छ । ऊँ सानो कदको छ । मानौं मभन्दा अझै सेक होचो छ, तैपनि शारीरिकरुपमा अलिक बूढो देखिन्छ । सायद बूढो भएकै कारणले होला बेयरा अड्डादेखि ऊँ ढलकढलक ढल्किँदै हाम्रो नजिक सुस्तरी आएको थियो । तर ऊँ हाम्रो नजिक आउँनेबित्तिक्कै हामीलाई अलिक फरक अनुहार देखेर होला ?

‘तपाईंहरु कहाँदेखि आउनुभएको हो ?’ बिना साइनो सानो स्वरमा प्रश्न सोध्छ ।
‘नेपाल,’ प्रतिउत्तर दिँदै म बोल्छु । मान्छे अलिक बैगुनी रहेछ । किनभने मैले दिएको उत्तर राम्ररी नसुनी उनले आफ्नो परिचय दिन सुरु गर्छ ।
‘मेरो नाम क्लिफोर्ड हो । अनि म गोवामा जन्मेको भारतीयमूलका हुँ । तर अहिले म मुम्बईमा बसाइँ सरेको छु । यहाँ आउनु अगाडि लगभग २५ वर्ष जति मैले पानीजहाजमा भान्सेको काम गरेको थिए । एक महिना अगाडि बेलायत आइँपुगेको हुँ । अनि १० दिन अगाडिदेखि यहाँ काम सुरु गरेको छु,’ उनले भन्यो ।

भाँचिएको अंग्रेजी भाषामा उसले आफ्नो परिचय दिएपछि, ‘काम पाउनु भएकोमा बधाई छ,’ मैले भनें । उनले हाम्रो खानाको अर्डर लिन्छ । सानो पानामा लेखेको टिपोट अझै एकचोटी पढेर हामीलाई निश्चित गर्छ । त्यसपछि ऊँ सरासर भान्साघरतर्फ विलय हुन्छ । म त्यसै त धैर्यता हराएको मानिस हुँ । अब विश्वभरि ख्याति प्राप्त गरेको गोर्डन राम्जीको रेष्टुराँमा कुन कुन खाना के कति स्वादिष्ट हुन्छ होला भनेर छटपट्टिन थाल्छु । विचरा क्लिफोर्ड हामीसँग एकछिन हराएका मात्र के थिए, फर्केर आउँदा सानो डालोमा एउटा भुक्केरोटी (सावर डो) लिएर उपस्थित जनाइहाल्छ । तर उनी त्यहाँ आउनुभन्दा अगावै ड्रागोसले हामी सबैको गिलासमा भरिभरि वाइन सारिसकेका थिए ।

प्राचीनकालमा केमेट (इजिप्ट) बाट पकाउन सुरु गरिएको भुक्केरोटी (सावर डो)लाई सबैभन्दा पहिले मैले नै श्रीगणेश गर्छु । परिवारको सबैभन्दा ठूलो मानिस हुनु त्यो नै एउटा फाइदा छ । रोटी तिनै रेष्टुराँमा पकाएकोले अलिक आलोतातो नै रहेछ । यदि बाहिर पकाएर खरिद गरेर ल्याइएको हो भने सुखेर बाहिरीभाग छुर्पीजस्तै चाम्रो हुन्थ्यो होला ? तातोतातो रोटीमा मैले फ्रेन्च नौनी दलेर जसोतसो एक-दुई गाँस चपाइहाल्छु । तर तारालाई रोटी खान अलिक समस्या हुन्छ । किनभने उनलाई अल्लारे बैंसले छुन पाउँदा नपाउँदै उनको अगाडिको दाँत झरिसकेको छ । त्यसैले झरेको दातको ठाउँमा श्रीपेच (क्राउन) गुथिरहेकी छिन् । त्यसैले थोरै डराउँदै डराउँदै रोटी चुँडाउदा उनले सिधै अगाडिरहेको भरि वाइन बङलङ्गै पोखिन र गिलासलाई उतानो बनाइदिइन् ।

त्यसरी टेबलमा लडेको वाइनको गिलासले ३ सय ६० डिग्री पुरै घुमेर आफै थकाइ मार्छ । गिलासले थकाइ मारेपछि मैले उनको मलिन अनुहारलाई राम्ररी हेर्छु । सय पूर्णाङ्क भएको ‘टेबल म्यानर’ परीक्षामा उनले सायद दस नम्बर पनि प्राप्त गर्न सक्तिनन् होली भन्ने मेरो मनमा लागिरहन्छ । त्यस घटनाले सबैभन्दा ठूलो क्षति त छोरोलाई भइरहेको थियो । किनभने छोराले बेलायती स्टर्लिङ् दुई पाउन्ड घटी पचास मूल्यको वाइन छानेको थियो । हुन त त्यो बाहेक अर्को विकल्प पनि थिएन । त्यहाँ उपलब्ध हुने सबैभन्दा सस्तो वाइन पनि त्यो नै हो । अरु वाइनको मूल्य त ४ अंकभन्दा माथिको मात्र थियो ।

अ… बरु टेबलमा भएको त्यस घटनाले सबैभन्दा बेखुसीचाहिँ हाम्री छोरी भएकी छिन् । छोरी भएर हो कि खै के भएर हो । उनी अलिक पिन्चे स्वभावकी छिन् । त्यहाँ पोखिएको रातो वाइनको छिर्काहरु छोरीको हातेझोलामा पर्न गएको दृश्य उनले बिरमाइलो मान्दै हेरिरहेकी थिइन् । अनि वाइनले हातेझोला भिजेको दृश्य देख्दा उनको मुखबाट एक्कासी, ‘मम्मी ! के गर्नु हुन्छ ?’ भनेर प्रश्न गरेकी थिइनँ । उनको मुखदेखी निस्केको त्यो प्रश्नले खासै कसैलाई असर त परेको थिएन तर उनको अनुहार बिस्तारै प्रशान्त महासागरमा भएको मरियन ट्रेन्चभन्दा पनि बढी कालो निलो र गहिरो भइँरहेको मैले नजिकैदेखि नियालीरहेको थिएँ ।

मैले छोरी सोलिसिटर भएको उपलक्षमा मुटु मिचेर एउटा हाते झोला स्यानल (क्लासिक फ्लाप) किनिदिएको थिएँ । अब कतै वाइनले त्यो नै पो बिग्रने होकि भनेर एकछिन तर्सिरहेको छु । यदि बिग्रिहाल्यो भने भाउ बढेको बेला बेच्न कठिन हुन्छ भन्ने लागिरह्यो । नत्र भने जाबो एकमाना कोदोको पिठो पनि नअटाउने त्यो हातेझोलाको मूल्य कति होला भनेर मैले यहाँ उजागर गरिरहन त्यति उपयुक्त ठानिन् । आखिर स्यानल भनेपछि त्यसको मूल्य कति होला भनेर सबैले गुगल गरिहाल्छन् । टेबलमा देखिएको वाइनलाई सबैले पुछ्न थाल्छौं । जे होस टेबलमा सजिएको अभागी नापकिनहरुको हालत बिजोक हुन्छ । नापकिनहरुको त्यस्तो दुर्गती देखेपछि क्लिफोर्डले नयाँ नापकिनहरु ल्याउँछ । त्यसपछि हतारहतार टेबल पुछ्न मद्दत गर्छ । टेबल त पुछेपछि सफा नै देखिन्छ । तर एक गिलास ‘अर्जेन्टाइन काइकन क्लासिको’ वाइनले अल्पायुमा बिदा लिँदा मेरो भित्री दिलचाहिँ त्यसबेलासम्म रोइरहन्छ ।

टेबलदेखि बेयराले बिदा लिएपछि एउटी चिनियाँ मूलकी बेयरा आउँछिन् । उनी त्यहाँ आएर हाम्रोसामु माइकल एन्जेलोको पियटाझैं ठिङ्गै खडा भइँ रहन्छिन् । भ्याटिकनमा भएको पियटाको मूर्तिमा चाहिँ भर्जीन म्यारीले शूलीमा चढाएर मरेका छोरा जिससलाई काखमा राखिरहेको बिरमाइलो दृश्य देख्न सकिन्छ । तर ती बेयराले चाहिँ एउटा किस्तीमा ४ वटा कार्लिङफोर्ड सिपी समातिरहेकी रमाइलो दृश्य देखिन्छ । उनी त्यसरी हाम्रोसामु आएर उँभिरहेकी देख्ने बितिक्कै क्लिफोर्ड उनको नजिकै आइपुग्छ । र, केही बोल्दै नबोलि एक-एकवटा सिपीरहेका बटुका हाम्रो अगाडि थपकथपक राखिदिन थालिहाल्छ । त्यसरी हाम्रो अगाडि बटुकाहरु राख्दै गर्दा उसले सबैभन्दा पहिले तारा त्यसपछि छोरी अनि छोरा र अन्तमा मलाई राखिदिन्छ ।

बेयराले पानीजहाजमा निक्कै लामो समयसम्म काम गरेकोले बेलायती नियमलाई चाहिँ उनले उल्लंघन गर्दै गरेनन् भन्ने मलाई लाग्छ । बरु उनले दिएको बटुकाभरि चिसो बरफ छ । तिनै बरफमाथि ठ्याक्रक्कै आँधा खोलिएर आन्द्राभुँडी देखिरहेको एउटा कार्लिङ्फोर्ड सिपी मज्जाले आराम गरिरहेको देखिन्छ । त्यसलाई टेबलमा राखिसकेपछि, ‘सेभोइ ग्रिलमा पकाइने सिपी कार्लिङ्फोर्डदेखि नै खरिद गरेर ल्याइएको हो,’ कसैले प्रश्न नसोध्दै क्लिफोर्डले त्यसो भन्छ ।

जुन सिपीलाई कार्लिङफोर्ड तालमा खेती गर्ने गरिन्छ । अनि कार्लिङ्फोर्ड तालचाहिँ आयरल्यान्ड र उत्तरी आयरल्यान्डको बीच भागमा अवस्थित रहेको छ । त्यस ठाउँमा सिपीको खेती आजभन्दा लगभग ४५ वर्ष पहिले पिटर र आनले सुरु गरेका थिए । आरल्यान्डमा गरिने सिपी खेतीको त्यति गर्विलो इतिहास केही वर्ष अगाडि डब्लिन भ्रमणमा पुग्दा मैले चाल पाएको थिएँ । अनि त्यहाँको सिपी ज्यादै प्रख्यात हुनुपर्ने मुख्य कारणचाहिँ आइरिस सागरबाट उत्पन्न हुने ज्वारले नै हो भन्ने गरिन्छ । तिनै सागरमा उत्पन्न हुने ज्वारभाटाले हरेक चोटी हिर्काउँदा पानीमा पोषणयुक्त पदार्थ लिएर आउँछन् भन्ने कुरो मलाई आइरिसहरुले बताएका थिएँ ।

डब्लिनमा हुँदा त्यस्तो कथा सुने पनि त्यो भन्दा अगाडि कार्लिङफोर्ड सिपी मेरो घाँटीदेखि मुनि कहिल्यै पसेको थिएन । त्यसैले त्यो सिपी खानको लागि म एकदम आतुर आतुर छु । अझै त्यति धेरै पोषणयुक्त्त सिपीमा चाड्नी अङ्गुरको झोल, निचोरिएको गाला स्याउको रस र सयपत्री फूलको दुई-चार पत्रहरु पनि मिसाइएको देखिन्छ । काँचो सिपी अगाडि परेपछि दायाँबायाँ हेर्दै नहेरी सर्लक्कै उँचाल्छु र आँखा एकझमट बन्द गरेर स्वट्टै निल्छु । तर मैले त्यसबेला काँचो सिपीमात्र होइन काँचो सयपत्रीको फूल पनि सिपीसँगै खाएँ । सयपत्री फूलका पत्रहरु पनि मानिसहरुले खान मिल्नेरहेछ भन्ने कुरो मैले त्यसबेलामात्र चाल पाएँ । हुन त ‘सेभोइ’ शब्दलाई नेपालीमा ठ्याक्कै उल्था गर्ने हो भने पनि एकप्रकारको ‘बन्दाकोपी’ हुन आउँछ । अब बन्दाकोपी होटलमा सयपत्रीको खाना पनि खान हुनेरहेछ भनेर म थोरैबेर सोचनीय बनिरहन्छु ।

केहीबेरमा हातमा किस्ती लिएर फेरि तिनै चिनियाँ युवती हाम्रोसामु आइपुग्छिन् । पहिलोचोटी झै दोस्रोचोटी उनी त्यहाँ आउँदा खाना बोकेर ठिङ्गै उभिरहेकी देखिन्छिन् । दोस्रोचोटी पनि त्यसो गरेकी देखेपछि उनले हामीलाई सिधै खाना दिन नमिल्ने नियम रहेछ भन्ने म बुझ्छु । उनी त्यसरी उभिरहेको एक्कैछिनमा हतारहतार ड्रागोस् उनकी अगाडि हाजिर हुन्छन् । हुन त ड्रागोस पेय पदार्थको बेयरा भए पनि खानाका बेयरा क्लिफोर्ड अन्त कतै व्यस्त भइरहेको छ । त्यसैले उनको कर्तव्य पूरा गर्न ड्रागोस त्यहाँ आएका हुन् भनेर म बुझ्छु ।

ड्रागोस त्यहाँ आएर हामीलाई एक-एक डबका सुफ्ले हाम्रो अगाडि राखिदिन्छ । सुफ्ले सिकुटीजस्तै धुँवासो लगाएर बनाएको एकप्रकारको माछा ‘हेड्डक’का परिकार हो । जस्लाई त्यतिक्कै पिसेर एकदम बाक्लो पनिरसँग मिसाएर बनाइएका हुन्छ । गोर्डन राम्जीले त्यति मिठो परिकारको नाम चाहिँ हेन्लीमा जन्मेका आर्नोल्ड बेनेटको उच्च सन्मान गर्दै ‘आर्नोल्ड बेनेट’ भन्ने राखिदिएका छन् । आर्नोल्ड तिनै व्यक्ति हुन् जसले आफ्नो जीवनकालमा ३४ वटा उपन्यासहरु र कैयन कथाहरु लेखेका छन् । हुन त त्यति मिठो परिकारको नाम जस्तोसुकै भए तापनि मैले काँचो माछामा घोलिएको पनिर मज्जासँग ज्युनार गर्छु । तर दुर्भाग्यबस ताराले त्यतिबेला काँचोमाछा मुखमा हाल्न चाहिँ पटक्कै सक्दै सकिनन् ।

एकछिन अगाडिमात्र ता-तातो सुफ्ले आएको थियो । तर अहिले पेटभित्र बास बसिसकेको छ । अब तेश्रो कोर्स आउने पालो “बिफ वेलिङ्टन” को छ । बिफ वेलीङटन त्यस रेष्टुराँको मूख्य परिकार हो । तैपनि बिफ वेलिङ्टन नै त्यसको नाम कसरी रहन गयो होला भन्ने रोचक कथाहरु अहिले पनि बजारमा छ्यास्छ्यास्ती सुन्न सकिन्छ । पेष्ट्रीभित्र मासु पकाउने चलन अहिलेको होइन उहिलेको हो । तर सबैभन्दा पहिले त्यो चलन ग्रिसमा सुरु भएको थियो भन्नेकुरो मैले एथेन्समा पुगेर मात्र चाल पाएका थिएँ । जुन कुरोमा प्रायः यूरोपका मानिसहरु दुईमत हुन सक्त्तै सक्त्तैनन् । खास गरेर प्रथम ड्युक अफ वेलिङ्टनले वाटरलुको युध्दमा नेपोलियन बोनापार्टलाई हराए पश्चात् बिजयोत्सव मनाउँने क्रममा त्यसप्रकारको मासु पकाइएको थियो । जसलाई सम्झना गर्दै गोर्डनले त्यस परिकारको नाम ‘बिफ वेलिङ्टन’ राखेका हुन् भन्ने भनाइ सुन्न पाइँन्छ ।

खैर जे सुकै भए तापनि बिफ वेलिङ्टनले गोर्डन राम्जीलाई करोडपति बनाउन धेरै ठूलो मदत गरेको छ । उनले सेभोइमा पकाउँने बिफ चाहिँ प्रतिष्ठित ‘कम्बरिया’ गाईगोरुका ठूल्ठूला मासुका चोक्टाहरु हुन् । जस्लाई न्युनतम पनि ४२ दिनसम्म झुण्डाएर राखेर अति नरम बनाइने गरिन्छ । त्यसपछि जङ्गली च्याउँ र पिठो मिसाएर बनाएको पेष्ट्रीको बिचमा राखेर पोलिन्छ वा बेक गरिन्छ । साधरणतय गोरुको मासु रेयर, मेडियम र वेलडन गरेर ३ प्रकारले पकाउने चलन रहिआएको छ । तर त्यहाँको भान्सेले दिएको सल्लाहलाई उपयुक्त्त सल्लाह मानेर हामी पनि मेडियमनै खाने रहर गरेका छौं ।

हामीलाई त्यति प्रतिष्ठित भोजनको प्रतिक्षा गर्न त्यति धेरै समय लागेन । किनभने मुस्कानको खडेरी लागेकी तिनै चीनिया युबती हाम्रो सामु खडा भइसकेकी छिन् । र, उनले हाम्रो सामु दुईहातले एउटा किस्ति समातिरहेकी छिन् । तर त्यसबेला उनलाई त्यहाँ देख्ने बितिक्कै क्लिफोर्ड हस्याङ्फस्याङ् गर्दै हाम्रो नजिकै आइँपुग्छ । त्यसपछि बिफ वेलिङ्टन धमाधम ओसार्न थाल्छ । किनभने त्यो भोजन निश्चित तापक्रममा ज्युनार गर्नुपर्ने हुन्छ । क्लिफोर्ड र तीनै चीनिया बेयरा एक आपसमा बोलेको त मैले सुन्न सकेको छैन । तैपनि ती दुईजनाको संयुक्त कार्य देखेर म छक्क परिरहेको छु । आखिर उनीहरु एकअर्कामा नबोलेपनि नेपाली राजनीतिज्ञहरुले चीन र भारत दुवै हाम्रा अशल छिमेकी राष्ट्रहरु हुन् भन्नेसम्म सुनेको थिएँ । त्यसैले ती देशहरुबाट आएका बेयराहरुलाई मनमनै अशल छिमेकीहरु, ‘धन्यबाद छ है,’ भनिरहेको छु ।

टेबलमा हामी सबैले आ-आफ्नो भाग पाएपछि तोरीको पिनाझै पिसेर हिलिपिच्ची बनाएको आलु (मेस पोटाटो) हरियो तुने बोडी, क्रस सलाद र रातो वाइनको जुससँग वेलिङ्टनको स्वाद लिन थाल्छौँ । यदि मैले सत्य कुरोलाई ढाकछोप नगरि भन्ने हो भने वास्तवमा बिफ वेलिङ्टनको स्वाद जिब्रोमा नै बिलाएर गइँरहेको छ । त्यति बिघ्न स्वादिलो गाइगोरुको मासु हुदाँहुदै पनि नेपालीहरुले चाहिँ किन नखाएर उल्टो पूजा गरेका होला भन्ने सोचेर एकछिन दिग्भ्रमित हुन्छु । त्यसैले गोरुको मासु खानेहरु चन्द्रमा पुग्दा नखानेहरु भुइँ छाडन मुस्किल परिरहेकाछन् भन्ने लाग्यो । यदि तपाईलाई पनि गोर्डन राम्जीले ‘बिफ वेलिङ्टन’ कसरी बनाउछन भनेर जान्ने इच्छा भए मैले यहाँ मुनि लिङ्क राखिदिएको छु ।

हाम्रो चौथो खानेकुरो चाहिँ ‘रमबाबा’ छ । सुख्खा फलफूल पिसेर लादि काढिएपछि चुर्लुम्म रममा डुबाएर बनाइएको परिकार रमबाबाको उपनाम ‘बुढी बजु’ पनि हो । आखिर नाम नै बुढी बजु भएपछि मलाई त्यो खान त्यति जोस चलेर आइरहेको थिएन । बरु त्यसको सट्टामा कुमारी युवती ‘भर्जिन गर्ल’ भनेर राखेको भए बुढेसकालले छोए तापनि अलिक मन पर्थ्यो कि भन्ने मनमनै कल्पना गरें । खैर जे सुकै होस आखिर नामले केही हुने कुरै भएन । तर मोन्टर्गलि सडक, पेरिसबाट सुरु भएको रमबाबालाई मैले एकचम्ची पनि खान सक्त्तै सकिन । रमबाबासँग त्यति बिघ्न प्रेम बस्न नसकेपछि हाम्रो खानाको सबैभन्दा अन्तिम कोर्स लिभरडन र कमर्सी क्षेत्र फ्रान्समा पाइने परम्परागत सानो केक आउँछ । जाबो बट्टाइको फूल जत्रो देखिने अनि पटक्कै आकार नमिलेको त्यति सानो केकलाई क्लिफोर्डले अति प्यारको साथ, ‘मेडेलिन्ज केक है,’ भन्दा मेरो मन चयनमा छँदै थिएनँ ।

सेभोइ ग्रिलको समयले मध्यरातलाई बिदाइ गरिसकेको छ । केहीबेर अगाडिसम्म बाहिर सडकमा होहल्लाको माहोल थियो । अब होहल्ला सुस्तरी सकिँदै छ । विश्वको अति प्रतिष्ठित होटल सेभोइमा त्यतिका धेरै भोजनलाई ज्युनार गर्दा के कति स्टर्लिङ पाउण्डले बिदा लियो होला भनेर म यहाँ उजागर गर्न एकदम असमर्थ छु । किनभने हाम्रो समाजले सकारात्मक कुरोभन्दा नकारात्मक कुरोलाई बढि महत्व दिन मन पराउँछ । तैपनि म के समर्थ छु भने त्यहाँ लगभग २ घण्टा जति टेबल कब्जा गरे वापत स्टर्लिङ पाउण्ड ६ र सेवा शुल्क वापत ६० पाउण्ड हो भन्नको लागि मैले थोरै पनि हिचकिचाहट गर्न पर्दैन ।

अन्तमा जस्ले जे सुकै भने तापनि मलाई विश्वको एउटैमात्र ७ तारे होटल ‘बर्ज अल अरब’ दुबाईको २७ सौं तलामा रहेको अल मुन्ताह रेष्टुराँमा हवाइको लाभाबाट निस्केको कालो नुनसँग मिसाएर पकाइएको जापानिज गोरुको मासु वागागु छैटौ तहको स्वाद चाहिँ मेरो जिब्रोबाट अहिलेसम्म भागेर जान मानिरहेको छैन र अनन्तकालसम्म रहिरहने छ भन्ने आशाबादि छु । वागागु खाइसकेपछि ‘कोबे बिफ’ चाहिँ कोबेमा नै पुगेर खाने योजना बुन्दैंछु । तर दुबाईमा मलाई रमाइलो त के लागेको थियो भने अरेबियन सागरको क्षितिजमा डुब्नै लागेको पूर्ण चन्द्रमाको दृश्य हेर्दै पिइने भिन्टेज वाइनको स्वाद सायद विश्वको अरु कुनै रेष्टुराँसँग तुलना गर्न मिल्दैन कि ?

आखिर जे सुकै होस, मैले सेभोइ ग्रिलमा टन्न बिफ वेलिङ्टन हसुरेपछि गोर्डन राम्जीको तिनै एउटा भनाइलाई निक्कै लामो समयसम्म मनन गरिरहेको थिएँ, – “अब म मर्न र स्वर्ग जानको लागि तयार छु ।”

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!