लण्डन डिसेम्बर २१ ।

बेलायतमा स्कार्लेट ज्वरोले हजारौँ मानिस विरामी परेका छन् ।
बेलायतमा यो ज्वरोका ३० हजार विरामी फेला परेका छन् र १६ बालबालिकाको मृत्यु भएको छ । बेलायतको स्वास्थ्य सुरक्षा संस्थाले गत साता मात्रै स्कार्लेट ज्वरोबाट १० हजार विरामी परेको जानकारी दिएको छ । स्वास्थ्य संस्थाले उक्त ज्वरो यूरोप हुँदै अमेरिका पुग्ने चेतावनी दिन थालेका छन्। उक्त संस्थाकी प्रमुख स्वास्थ्य सल्लाहकार प्रोफेसर सुसन हकिन्सले यो निकै डरलाग्दो भएको बताएकी छन्। यो ३ गुणा बढी भएको उनको भनाइ छ।
गार्डियनको रिपोर्ट अनुसार सेप्टेम्बर १२ यता २७ हजार मानिस यो ज्वरोबाट संक्रमित भएका छन् । अनुमानविपरीत अत्यधिक मात्रामा विरामी भेटिएको जनाइएको छ । स्थानीय अधिकारी र स्वास्थ्य सुरक्षा टोलीलाई जानकारी गराउने चिकित्सकबाट यो तथ्याङ्क आएको हो । हाल बेलायतमा पेनसिलिन र एन्टी बायोटिक औषधिको अभाव रहेको छ। साथै नर्सहरू पनि आन्दोलनमा उत्रिएका छन् ।
स्कार्लेट ज्वरो ब्याक्टेरियाको कारणले हुन्छ। यसले घातक संक्रमण निम्त्याउन सक्छ। स्कार्लेट ज्वरो जीवाणु संक्रमण हो। यो ज्वरो ग्रुप ए स्ट्रेप ब्याक्टेरियाबाट फैलने गर्छ। यो संक्रमण भएका वेला उच्च ज्वरो आउँछ। शरीरको तापक्रम निकै बढ्छ। घाँटीमा खसखस हुनुका साथै गर्धनको नसा सुन्निने हुन्छ। लगभग १२ देखि ४८ घण्टापछि शरीरमा राता बिबिरा देखा पर्दछन्। यस्ता बालबालिकाले बान्ता पनि गर्न सक्छन्। उक्त ज्वरोबाट ५ वर्षदेखि १५ वर्षका बालबालिका प्रभावित हुन्छन्।
उक्त ज्वरोबाट संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिमा छिटै सर्ने गरेको चिकित्सकहरूले बताएका छन् । सामान्यतया २ देखि ५ दिनभित्र अरूलाई संक्रमण हुने गर्छ। हाच्छ्यूँ‚ र्याल र कफबाट यो रोग फैलन्छ। समयमै उपचार हुन नसके यसले मिर्गौला‚ कानमा समस्या ल्याउनुका साथै, निमोनिया र आर्थराइटिस हुने गर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार यसका विरामी फ्रान्स‚ आयरल्याण्ड‚ नेदरल्याण्ड्स‚ स्वीडेन लगायतका युरोपेली मुलुकमा देखिन थालेका छन् ।
यो ज्वरो अब अमेरिकामा फैलिने भन्दै बाइडेन प्रशासन सतर्क भएको छ। अमेरिकामा पनि यो ज्वरोका विरामी रहेको विश्वास गरिन्छ ।






