आउँदो १२ अगस्ट आइतबारका दिन युकेको साहित्यिक पवित्रभूमि क्यान्टवरी सहरमा विश्व नेपाली साहित्य सम्मेलन हुँदैछ । विश्व नेपाली साहित्य महासङ्घको आयोजना र नेपाली साहित्य विकास परिषद्लगायतका साहित्यिक संघसस्थाहरुको सहआयोजनामा सम्पन्न हुने उक्त कार्यक्रमको बारेमा साहित्य महासङ्घका विश्व केन्द्रीय समितिका अध्यक्ष विश्वासदीप तिगेलासँग एभरेष्ट टाइम्सको निम्ति दुत पुनले गरेको संक्षिप्त कुराकानी :
विश्व नेपाली साहित्य सम्मेलन भन्नुभएको छ, यसको मुख्य उद्देश्य के हो ?
नेपाली साहित्यमा अदेख्खा सच्चाई धेरैछन् । नेपाली साहित्य र नेपाली भाषा साहित्यको परिभाषामा भएका भिन्नता तथा विविधतालाई सुसूचित गर्न, भाषा र साहित्यलाई भूगोलले बाँध्न सक्दैन भन्ने विषयमा बहस गर्न, देशको नाम नेपाल भएकोले भाषाको नाम नेपाली भएको हो या अहिले यो सम्पर्कको भाषालाई खस जुम्ली भाषा भन्ने हो बारे बहस गर्न, खस भाषामात्र नेपाली भाषा हो भने अन्य मातृभाषा वा खसभाषा नबोल्नेहरु नेपाली हुन् कि होइन्न ? भारत, भुटान, म्यानमारलगायतका मुलुकमा रहेकाले नेपाली बोल्छन् तर उनीहरुसँग नेपाली नागरिकता छैन, उनीहरुले खस नेपाली भाषामा वा मातृभाषामा लेखेका साहित्य नेपाली साहित्य हुन कि होइन्न ? नेपाल बाहिर छरिएकालाई डायस्पोरा, प्रवासी (रिलोकेटेट) भन्ने विषयमा गम्भीर छलफल गर्न । खस नेपाली लेखनलाई ध्वनी विज्ञानको आधारमा गर्ने वा परम्परागत विरासतको आधारमा गर्ने ? नेपाली साहित्यलाई विश्वसामु कसरी लैजाने आदि विषयमा गम्भीर छलफल र बहस गरी सत्यताको नजिक पुर्याउने हाम्रो मुख्य उद्देश्य हो ।
को को सहभागी हुँदैछन् ?
नेपालबाट केही साहित्यका शिखर व्यक्तित्वहरुलाई निमन्त्रणा गरिएको छ । यहीं युकेका महत्वपूर्ण प्रोफेसर, पूर्वराजदूत, डाक्टरहरु, राम्रा साहित्यकारहरु, सम्भव भए हिन्दी र अन्य भाषाका साहित्यकारहरु, युकेका राम्रा साहित्यकारहरु, शुभ चिन्तकहरु र साहित्यिक सङ्घसंस्थाका प्रतिनिधिहरु तथा विश्व नेपाली साहित्य महासङ्घका देशविदेशका प्रतिनिधिहरुको सहभागिता रहनेछ । मिश्रित सहभागिता रहने भएकोले महत्वपूर्ण कार्यपत्रहरु अंग्रेजीका र नेपाली दुवै खालका रहनेछन् । यस कार्यक्रमको निम्ति नेपाली दूतावास लन्डनको समेत सहयोग र सद्भाव
रहेको छ ।
सम्मेलन कुन ठाँउमा हुँदैछ ?
युकेको सबैभन्दा ठूलो साहित्यिक पवित्रभूमि क्यान्टवरी सहरमा हुनेछ । उद्घाटनशत्र क्यान्टवरी सिसी युनिभर्सिटीको मुख्य कार्यक्रम हलमा हुनेछ ।
व्यवस्थापन कसरी भइरहेको छ ?
साहित्यकार केदार सुनुवार ‘संकेत’ संयोजक र वातावरणविद् विजय हितान सहसंयोजक रहेको ५७ सदस्यीय आयोजक तथा व्यवस्थापन समिति निर्माण भई क्रियाशील रहेको छ । केन्द्रीय कार्यसमिति, विश्वभर रहेका साहित्य महासङ्घका १९ मुलुकका २६ शाखाहरुका प्रतिनिधि, युकेमा रहनुभएका संरक्षक तथा आजीवन सदस्य, साहित्य महासङ्घ साउथ युके शाखाकी काबा अध्यक्ष करिष्मा घम, साउथ वेस्ट शाखाको अध्यक्ष लालसुन्दर राई, युकेको पहिलो समितिका अध्यक्ष समिप हाँङवाङ ‘जर्जर’ लगायत सिंगो शाखा समिति साथै युकेमा रहनुभएका लब्धप्रतिष्ठित साहित्यकार तथा समाजसेवीहरुको सहयोग र सद्भावमा यो विश्व सम्मेलन सम्पन्न गर्न गईरहेका छौं ।
दोस्रो विश्व नेपाली साहित्य सम्मेलन भन्नुभएको रहेछ नि ?
हो, हामीले पहिलो विश्व नेपाली साहित्य सम्मेलन सन् २०१३ सालमा काठमाडौंमा सम्पन्न गरेका थियौं । त्यसबेला भारत, बर्मा, भुटान, हङकङलगायतबाट पाल्नुभएका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न गरेका थियौं । ११ बुँदे घोषणा गरेका थियौं । यसपटक युकेमा गर्दैछौ, भिसा, खर्चलगायतले निक्कै गाह्रो भए पनि यो दोस्रो सम्मेलन भव्यतापूर्वक सम्पन्न गर्ने हरसम्भव पहल गरिरहेका छौं । सन् २०१० मा स्थापना भएको यस साहित्य महासङ्घले साहित्यको क्षेत्रमा धेरै महत्वपूर्ण कामहरु गर्दै आइरहेको छ ।
अन्तमा, के भन्नु चाहानु हुन्छ कि ?
साहित्यमा जीवन र जगत अटाएको हुन्छ । कथा, कविता आदि सिर्जना गर्नु मात्रले साहित्य कर्म पूरा हुँदैन । अझ नेपाली साहित्यको सवालमा धेरै सुधार्नु छ । सच्याउनु छ । र, अन्य मुलुकले झैं हामीले पनि साहित्यको विकास गर्दै नेपाली पहिचान र प्रतिष्ठा बढाउने उद्देश्यले यो बृहत् कार्यक्रम आयोजना
गरेका छौं ।
यो सम्पूर्ण नेपालीको साझा जिम्मेवारी पनि भएकोले सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई सम्मेलनको निम्ति सहयोग र सहभागिताको निम्ति हार्दिक अनुरोध गर्दछु । हामी तपाईलाई स्वागत गर्न सम्मेलनस्थलमा पर्खेर बस्नेछौं ।






