नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा कवि बैरागी काइँलालाई अभिनन्दन

SHARE:

काठमाडौं १८ मार्च २०२३ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले नेपाली संस्कृतिकर्मी एवं प्रसिद्ध कवि बैरागी काइँला (तिलविक्रम नेम्वाङ)लाई अभिनन्दन गरेको छ ।

सुनसरी धरानको सैनिक भवनमा शनिबार आयोजित कार्यक्रममा कवि काइँलालाई कोशी प्रदेश प्रमुख परशुराम खापुङले आँखीझ्यालमा सजिएको ताम्रपत्र, दोशल्ला ओढाएर अभिनन्दन गरेका थिए । अभिनन्दन गर्नुअघि उनलाई रथारोहणका साथ नगरपरिक्रमा गरिएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका काइँलालाई कविता–काव्य एवम् याक्थुङ मुन्धुमको खोज–अन्वेषण तथा लेखन, सम्पादन, अनुवाद क्षेत्रमा दिएको अतुलनीय योगदान वापत नागरिक अभिनन्दन गरिएको प्रतिभा प्रतिष्ठान बेलायतका अध्यक्ष अध्यक्ष गणेश राईले बताए ।

याक्थुङ लिम्बू समुदायका मुन्धुमविद् समेत रहेका काइँलाको अभिनन्दनमा मौलिक याक्थुङ समुदायको येवा–फेदाङ्मा–साम्बा, महिला समूहको नौमती बाजा, किरात याक्थुङ चुम्लुङको च्याब्रुङ, किरात राई यायोक्खाको साकेला, तामाङ घेदुङको सेलो र डम्फु, नेवारी समुदायको धिमे बाजागाजासहित सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

काइँलाका कविता–काव्य विधातर्फ ‘बैरागी काइँलाका कविताहरू’ र ‘अन्धा मान्छेहरू र हात्ती’ गरी दुई कविताकृति प्रकाशित छन् । काइँलाको जन्म वि.सं. १९९६ साउन २५ गते बुधबारका दिन पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकामा भएको थियो ।

नेपाली वाङ्मय जगतका विशिष्ट प्रतिभा काइँला कविता–काव्य तथा मुन्धुमका क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानवापत साझा पुरस्कार, गोरखा दक्षिणबाहु, रत्न–शोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार, जगदम्बाश्री पुरस्कार, राष्ट्रिय कलाश्री सम्मान, आदिवासी गीति सम्मान, हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार, युगकवि सिद्धिचरण पुरस्कार, प्रतिभा सम्मान, धरणीधर स्मृति पुरस्कार आदि सम्मान र पुरस्कारद्वारा सम्मानित तथा पुरस्कृत भइसकेका छन् ।

त्यस अवसरमा गायक दीप श्रेष्ठलाई ताम्रपत्रसहित नगद ५० हजार रुपैयाँको प्रतिभा सम्मान र कवि सुदीप पाख्रिनलाई ताम्रपत्रसहित नगद १ लाख रुपैयाँको प्रतिभा पुरस्कार प्रदान गरिएको थियो । समारोमामा झापा, मोरङ, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ र उपत्यकाका करिब तीन सय लेखक तथा साहित्यकारहरुको जमघट भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!