१ जुलाई १९५८ लाई फर्केर हेर्दा

SHARE:

‘खैनी खाने हो ?’ मेरो बायाँ काँधमा एउटा गरुङ्गो हात राखेर प्रश्न आउँदा म एकचोटी झस्किन्छु । तैपनि त्यो हात एकछिनसम्म मेरो काँधमा नै रहिरहन्छ । अचानक खैनी खाने हो भनेर सोध्ने को रहेछ भनेर हत्तपत्त मेरो मुन्टो आवाज आएको दिशातर्फ फर्काउँछु । तर मुन्टो फर्काउने बितिक्कै पहिले हङकङमा वर्षौंवर्ष सँगसँगै काम गरेको लान्स कर्पोरल चन्द्र लिम्बूको चिरपरिचित अनुहारसम्म पुगेर ठोकिन्छ । अब उनलाई देख्नेबित्तिकै- ‘गुरुजी ! मैले खैनी खान छाडिसकें त,’ छोटो जवाफ फर्काउँछु ।

‘होइनँ हौ लुङ्गा ! पहिले पहिले त छिनछिनमा खैनी ओठमा च्यानु पर्थ्यो । हन आजभोलि त्यस्तो के भो र ? कि निकै लामो समयसम्म बाँच्नु मन छ र ?’ पहिले मधुर मुस्कान छाड्छन् र मेरो कानै नजिक आएर उनले त्यस्तो लेक्चर दिन्छन् । लगभग साढे दुई दशकको अन्तरालपछि सुनेको उहाँको त्यो बोलीले मलाई केवल आकर्षणमात्र गर्दैन । म माझकिराँतमा जन्मेर हुर्केको मान्छे, मेरो दिल हुरुरु उडाएर पल्लो किराँत ताप्लेजुङ, पाँचथर वा तेर्हथुमतर्फ पुर्‍याउँछ । मलाई नेपालको पूर्वी भागमा बस्ने लिम्बूहरुको त्यस्तो बोलीचाली सुन्न असाध्यै मन पर्छ । त्यसैले उहाँको मुख जति खोलिन्छ, म त्यति मन्त्रमुग्ध हुन्छु । तर खै के भएर हो कुन्नि ? त्यति बोलिसकेपछि उनी मैले दिने उत्तरको प्रतिक्षा गर्दैनन् । बरु मानिसहरुको हुलमुलभित्र उनको शरीर सुस्तरी विलय भएर गएको देखिन्छ ।

हो, हामी त्यसबेला तारासँग भट्टीपसलको एउटा कुनामा उभिएर पेयपदार्थ किन्नको लागि बेयराको प्रतिक्षा गरिरहेको थियौं । त्यो भट्टीपसल अन्त कतै नभएर मानभवन, पाटनमा रहेको ब्रिटिस गोर्खा क्याम्प काठमाडौंको अधिकृतहरुको मेसमा थियो । किनभने त्यसदिन गोर्खा ट्रान्सपोर्ट रेजिमेन्टको जन्मदिन परेको थियो र तिनै जन्मदिनलाई भव्यताको साथ मनाउन हामी पनि त्यहाँ पुगेका थियौं ।

काठमाडौं उपत्यकामा रहेको तीनवटा सहरहरुमध्ये अति चर्चित सहर पाटनमा टन्टलापुर घाम लागेको त्यो दिन १ जुलाई २०२२ को दिन थियो । अझ भनौं, त्यसको ठीक ६४ वर्ष पहिले तर ठीक त्यसै दिन विभिन्न बेलायती गोर्खा इन्फेन्ट्री बटालियनहरुका सिपाहीहरु मिलाएर मलायमा गोर्खा आर्मी सर्भिस कोर (जिएएससी) खडा गरिएको थियो ।

सन् १९५८ देखि सुरु भएको जिएएससी सन् १९६५ मा आएर अन्त भएपछि गोर्खा ट्रान्सपोर्ट रेजिमेन्ट (जिटिआर) मा परिणत हुन्छ । मलाई मेरो जिन्दगीमा एउटा काकताली के पर्छ भने म जुन वर्ष जन्मछु, सोही वर्ष जन्मेको रेजिमेन्टमा पछि गएर काम गर्न पुग्छु । मलाय, सिङ्गापुर र हङकङको भूमिमा विभिन्न कठिनाइहरु पार गर्दै उक्त रेजिमेन्ट सन् १९९२ सम्म जीवित रहेपछि क्विन्स ओन गोर्खा ट्रान्सपोर्ट रेजिमेन्ट (क्युओजिटिआर)मा परिणत हुन्छ र सन् १९९४ देखि अहिलेसम्म क्विन्स अन गोर्खा लजिस्टिक रेजिमेन्ट (क्युओजिएलआर) भएर अल्डरसट, बेलायतमा आफ्नो जिउपाला गरिरहेको छ ।

हाते घडीको समय बिहानीको ठीक ११ बज्छ । सार्जन्ट मेजरले जन्मदिनको केक काटेको हेर्नको लागि रेजिमेन्टका सबै सदस्यहरुलाई ध्यानाकर्षण गराउँछ । उनको अति ठूलो तर थोरै खस्रो बोली सुनेपछि हातमा एक-एकवटा ड्रिङ्स समातेर तारा र म त्यहाँदेखि सुस्तरी हिँड्दै केही अगाडि बढ्छौं । तर अचानक हाम्रो भेट कप्तान प्रदीप लिम्बूसँग हुन्छ । उ मेरो नम्बरी हो अथवा हामी एउटै मितिमा बेलायती गोर्खा सेनामा भर्ती भएका हौं । त्यत्तिमात्र नभएर पल्टन घरमा बीसौं वर्ष सँगसँगै काम गरेका छौं । तर समय आँधीबेहरी जस्तै हो, आउँछ र जान्छ । त्यस्तै हामी एकआपसमा छुटेको पनि अहिले साढे एक दशक भइसकेको रहेछ । तर त्यस अवधिमा एउटा उदेक भएछ । मैले थाहा नपाउँदै उनले दोस्रो बिहे गरिसकेका रहेछन् । फेरि हामी एक आपसमा नभेटेको पनि लामो समय भएको थियो । त्यसैले त्यसदिन भेट हुँदा उनको नयाँ श्रीमतीसँग हाम्रो परिचय हुन्छ ।

हुलमुलको बेला हाटहुटे परिचय गरेपछि, ‘वास्तवमा प्रदीप निक्कै भाग्यमानी मानिस रहेछ,’ भन्दै सानो स्वरमा तारालाई सुनाइहाल्छु ।
प्रतिउत्तर दिनेक्रममा ताराले, ‘कप्तान भएर हो, कि कसरी ?’ भन्छिन् ।

‘होइन, होइन- पहिले उनको श्रीमती राईनी थिइँ, अहिले गुरुङ्सेनी रहेछ अब अर्को बिहे गर्‍यो भने मरिगए फरक पर्दैन, लिम्बुनी नै हुन्छ । तर के गर्नु ? म उ जस्तो भाग्यमानी छैन । उही हो, आफ्नो त अभागी खप्पर । बीसौं वर्ष पहिले बानेश्वरमा बनाएको एउटा थोत्रो घर छ र त्यो घर पर्खने केवल एउटी थोत्री श्रीमतीमात्र छ,’ भन्छु । मेरो कुरो सुनेर ताराको कन्पारो तातिन्छ । त्यसैले एकै शब्द बोल्दै नबोली रिसले मरिचझैं चाउरी परेको उनको अनुहारले स्पष्ट बताइरहेको देख्छु ।

अधिकृत मेसको पल्लो कुनामा केक काट्ने कार्यक्रम सुरु हुन्छ । रेजिमेन्टको सबैभन्दा पुरानो मान्छे भनेको उनै मेजर बालकृष्ण राना (बिके) हुनुहुन्छ । त्यसैले उहाँको हातदेखि केक काट्ने एउटा पुरानो चलन छ । सन् १९८४ मा भर्ती भएर म रेजिमेन्टमा पुग्दा उहाँ मेजर भएर गोराको दर्जामा काम गर्ने उपाधि लिइ सक्नु भएको थियो । अझै यस आलेखमा के पनि भनौ भने रेजिमेन्टमा उहाँभन्दा जेठोपाको कोहि पनि छँदै छैनन् ।

तर उहाँलाई केक काटन सहयोग गर्ने अर्को एकजना गोरा साहेब पनि त्यहाँ देखा पर्छन् । उहाँको अशल नाम कलनेल पौल स्मिथ हो । निक्कै समय अगाडी दश रेजिमेन्ट, कोलचेस्टरमा कप्तान पौल अपरेसन अधिकृत हुँदा म सोही रेजिमेन्टको २८ स्क्वाड्रनमा अपरेसन सार्जन्टको भूमिका निभाउँदथे । त्यहाँदेखि छुटेपछि बिगत दुई दशकसम्म मैले उहाँलाई कहिलै सलाम गर्ने अवसर पाउँदै पाइनँ । तर लामोसमयपछि त्यसदिन बल्लबल्ल त्यो साइत जुरेर आएको देखेर म छक्क परें । अनि त्यतिबेला उहाँ कमाण्डर बिजिएन मात्र नभएर नेपालको लागि बेलायती सैनिक सहचारी पनि रहेछन् ।

रेजिमेन्टको जन्मदिनको केक काट्ने कार्यक्रम सकिएपछि सार्जन्ट मेजरले पुनः एकचोटी हामी सबैजनाको ध्यान ऊँ प्रति खिच्छ । तर त्यसबेला अन्य केही विषय नभएर कोभिड १९ को महामारीमा बाँच्न सफल हुनुभएको रेजिमेन्टको सबै सदश्यहरुलाई लेफ्टिनेन्ट आशमान राईको नामबाट एक-एक ड्रिङ्कस उपलब्ध हुने जानकारी गराउँदछ । त्यति धेरै मानिसहरुको अगाडी उहाँको त्यो विशाल हृदय सम्झेर म आफु पनि राई भएको नाताले अति गर्वित भएको महसुस गर्छु ।

विश्वको सर्बोच्च शिखर सगरमाथाको न्यानो काख सोलुखुम्बुमा जन्मेको तर बहादुरहरुको पनि अति बहादुर आशमान राईले त्यसरी सबैको लागि पेय पदार्थ खरिद गरेको त्यो नै प्रथमचोटी चाहिँ निश्चय पनि हुँदै होइन । आजभन्दा लगभग तीस बत्तिस वर्ष अगाडी पनि २८ सैनिक शिक्षा केन्द्र, बोर्नियो लाइन्सबाट अधिकृत हुने परिक्षा उतिर्ण भएर आउँदा दुवै घुँडा जमिनमा टेकेर शून्य आकाशतिर हेर्दै सुम्निमा र पारुहाङसँग आशिर्बाद माग्दै गर्दा, – ‘लु ! अब मलाई अधिकृत हुन कस्ले छेक्दो रहेछ, हेरौं,’ भनेर बेलुकिको ६ बजेदेखि १० बजेसम्म पुरै निशुन क्लब खुला गरिदिएको क्षण मैले त्यसबेला अति आनन्दित हुँदै हेरेको निक्कै लामो समयसम्म स्मरण गरिरहें ।

सार्जन्ट मेजरले त्यस्तो उदघोष गरेपछि सितैमा भेटे अलकत्र पनि बजाइन्छ भन्ने मनस्थिती बोकेर म बारको नजिक लम्कदै गर्दा अचानक कप्तान जयनारायणसँग पहिलो मुलाकत हुन्छ । उहाँसँग भेट हुने बितिक्कै पहिले हाम्रा हातहरु एकआपसमा आत्मियताका साथ जोडिन्छन् । त्यसपछि मलाई एकढ्याप मार्दै उहाँले कुरोको पोयो खोल्न सुरु गर्नु हुन्छ ।

‘अ…कता बस्छौं ? खै के भयो ? पटक्कै हाम्रो भेटघाट छैन् ? तर तिमीलाई देखेर म असाध्यै खुसी छु । अनि खाना सँगै बसेर खानुपर्छ है । गोर्खालीहरु बेलायतमा जान नपाउने समयमा त्यतिका धेरै गोर्खालीहरु बेलायत लगेर सारा जगतलाई खुसि दिलायौं । बेलायतमा भएपनि छोराछोरीहरुलाई राम्ररी पढायौं । मानिस अजम्बरी कोही छैनन् तर दुई दिन बाँच्दा मानवीय जिन्दगी कसरी जिउनु पर्छ भनेर दुनियालाई पाठ सिकायौं । अब त तिम्रो विश्व भ्रमण पनि सकिसकियो होला ? कि अझै बाँकी छ र ?’ सासै नरोकि त्यति भनिसकेपछि उहाँ एकछिन लामो सास तान्नु हुन्छ र केहिबेर रोकिनु हुन्छ ।

त्यति प्रेम पूर्वक उहाँको भनाइ सुनेपछि म उहाँको शिरदेखि पाइतालासम्म मज्जाले नियाल्छु । तर उहाँको कुरा सुनिबस्दा लाग्छ, मैले जिन्दगीमा निक्कै ठूलै काम गरें । तर सत्यता त्यो होइन । मेरो छाती चिरेर, दुःखको पोको खोलेर उहाँलाई देखाइ हाल्न म के सक्थे र ? तैपनि, ‘होइन हजुर ! मैले के नै पो गरेको छु र, जाबो म भुँइमान्छे त हुँ । जति माथि उठन खोजेपनि सक्त्तै सक्त्तिन । खयर जे सुकै होस् – यतिका धेरै कुरोहरु चाहिँ कसरि चाल पाउनु भयो ?’ भन्छु, त्यसपछि दुवै हात कम्बरमा थपक्कै राख्छु । तर मेरो कुरो भुइँमा खस्न पाउँदा नपाउँदै, ‘एकछिन है । तिमीसँग अझै धेरै कुरो गर्न बाँकी छ,’ भन्दै मसँग उहाँ बिदा माग्नु हुन्छ । तैपनि उहाँको हृदयभित्र वर्षौ वर्ष जमेर बसेका प्रश्न, अन्योल र उथलपुथलहरु जम्मै एक्कैचोटी मेरो अगाडी त्यसरी पोखिदा मलाई थोरै सहानुभूति हुन्छ ।

मेसभित्र समयले नेटो काटिरहेको थियो । कप्तान जयनारायणसँग छुटेपछि पाल्पाली ढाका टोपी ढलक्कै ढल्काएका एकजना भलादमी मानिससगँ मेरो एक्कासि भेट हुन पुग्छ । त्यसरी अकस्मात् भेटिएका मानिस अन्य कोहि नभएर तीन लाख वर्ष यता सुरु भएको मानविय सभ्यता, संस्कृति र पहिचानको लागि ‘किराँत प्रदेश’ नै हुनुपर्छ भनेर सदैब आफ्नै भूमीमा मरिहत्ते गरेर राजनीतिमा लागि पर्ने मानिस – श्री भूपेन्द्र नेम्बाङ हुन् ।

उहाँ पल्टनघरमा छँदा मभन्दा निक्कै धेरै सिनियर गुरुजी हुनुहुन्थ्यो । तैपनि पदोन्नति लिन अशफल हुनु भएकोले बोर्नियो लाइन्स सेकङ्मा छँदा हामी सँगसँगै फनकाम रोडमा ३७ सिटे कोच हाक्ने गर्दथ्यौं । उहाँले पल्टन घर छाडेर हिडेपछि एभिएम चौक, मानभवनमा भने हाम्रो भेटघाट निक्कै बाक्लै रहने गर्दथ्यो । म त्यसबेला चारैतर्फ फलामे तारले बारिएको मानभवनको सैनिक क्याम्पभित्र बस्थे । तर हरेक शनिबार बिहान उठेर हातमा एउटा जेब्रा झोला च्यापेर मासु लिन त्यहिँ चौकमा जाने गर्थे । तिनै चौकमा हरेक सप्ताहन्तमा ‘नमस्ते मामा’ ले धराने कालो बङ्गुरको वध गर्नु हुन्थ्यो । त्यसरी भेटघाट हुँदा हामीले सुक्रोटिस, प्लेटो, अरिस्टोटल र निकोला म्याकियभेलीको दर्शनका कुरोहरु निक्कै लामो समयसम्म गर्दथ्यौं । र, अन्तमा मार्क्सबाद, लेनिनबाद, माओबाद र बाहुनबादको विषयमा गहन अध्यान र छलफल गरेर कुरोको बिट मार्थ्यौं ।

हामी त्यसबेला पनि ‘राजनीति’ किन बिज्ञान हुन गयो, भन्ने विषयमा घनिभूत छलफल गरिरहँदा एकजना अपरिचित अनुहारसँग अकस्मात् मेरो अनुहार ठोकिन पुग्छ । मेरो अनुहार त्यसरी ठोकिए मात्र त केही हुदैनथ्यो, ‘भीम ! ठीक्छ ?’ भनेको मधुरो आवाज मेरो कानसम्म आएर बज्रन्छ । उहाँ हामीभन्दा थोरै टाढा हुनुहुन्थ्यो र मैले बादल लागिरहेको मेरो चश्मा हातमा लिएर रुमालले पुछ्दै थिएँ । त्यसैले मैले उहाँलाई राम्ररी ठम्याउँन सकिन । फेरि उहाँ हाम्रो नजिक आउनु भएन र उतैउतै हराइ हाल्नु भयो ।

‘मैले उहाँलाई चिन्न सकिन कि के हो ?’ चिउँडोले सङ्केत गर्दै भूपेन्द्र दाजूसँग सोध्छु ।

‘हना कस्तो चिन्दैना को ? बाहुनी बुढो क्या,’ छोटो तर सटिक जवाफ फर्किन्छ ।

उहाँको कुरो सुन्ने बितिक्कै, ‘ए ! चश्मा खोलेकोले चिन्न सकिन रहेछु,’ भन्छु । तैपनि उहाँको कुरो सुनेर म एकाएक तीन मुर्छा पर्छु । नेपाली ब्याकरणको राम्ररी हेक्का राख्ने हो भने पनि बाहुनी बुढी र बाहुन चाहिँ बुढो हुनु पर्ने हो जस्तो लाग्छ तर भविष्यमा राष्ट्रको मन्त्रि हुने मानिसको अगाडि छु । उहाँको सामु त्यति क्षुद्र बोलि ओकली हाल्न पनि मेरो मन मान्दैन् । हुनत यस्मा उहाँको पनि केही गलत छैन् त्यो त पल्टन घरको उरन्ठ्याउलो भाषा न पर्यो ।

नभन्दै मेसभित्र खाना खुल्छ । हामी त्यहाँदेखि हिड्दै अगाडी बढ्छौं । त्यसरी अगाडी बढ्ने क्रममा कप्तान जयनारायण र स्टाफ सार्जन्ट प्रेम राई बात मारिरहेका रमाइलो दृश्यवलोकन गर्न मिल्छ । उहाँहरुलाई भेटने बितिक्कै खाना खानको लागि पङ्त्तिबध्द हुन्छौ । एक-एक थाल मासु, भात, दाल, सलाद र गोलभेडा पिसेर बनाइएका अमिलो अचार बोकेर खाना खाने टेबलको खोजि गर्न थाल्छौं । एकछिनपछि दुईजना मान्छेहरु मात्र बसिरहेको एउटा टेबलको नजिक पुग्छौ । हामी पनि यहि बस्यौ है जयनारायाणको मुख खोलिन्छ । उहाँको भनाइलाई समर्थन जनाउदै थपक थपक हामी त्यहिँ बस्छौं ।

त्यस टेबलमा बसेर खाना खाइरहेका दुई जना मध्ये एकजना महिलाले फुरफुर उड्ने जामा पहिरन गरिरहेकी थिइँन । अनी उनको दाहिनेतिर अङ्ग्रेजहरु जस्तै देखिने एकजना तालु खुइले कुहिरे पनि देखिरहेको थियो । खै के भएर हो कुन्नि ? उनीहरुलाई देखेपछि मेरो मनभित्र शङका उपशङ्काको भुईँचालो जान थाल्यो । किनभने त्यहाँ उपस्थित अन्य सबै आइमाईहरुले बिभिन्न प्रकारको रङ्गमा कम्मरदेखि गोलीगाँठोसम्म ढाक्नेगरि रेसमी साडी र स-साना चोलीहरुमात्र पहिरन गरेका रमाईलो दृश्य देख्न सकिन्थ्यो । तर उनी चाहिँ को होलिन् ? जस्ले साडीको सट्टा जामा लगाएर जन्मदिन मनाउन यहाँ आइँन भन्ने खुलदुली लागिरह्यो । अब उनीसँग त्यति नजिक बसि सकेपछि मेरो मनभित्र लागेको उकुसमुकुस र जिज्ञासाले कतिबेर तड्पिनु बरु सासले मात्र बोलेर भएपनि भूपेन्द्र दाजूसँग सोधिहाल्छु ।

‘अन्त के त बिके रानाको छोरी,’ पछाडी फर्केर मलाई सानो स्वरमा जवाफ दिनुहुन्छ ।

त्यसपछि म उनलाई झन राम्ररी नजर मार्न थाल्छु । अश्वेत मोडल नायमी क्यामबलको झैं देखिने सानो छाती, निक्कै अग्ली तर पातली शरिरकी धनी । त्यसबेला उनको उमेर कति होला भनेर ठेक्कै अनुमान लगाउन त मलाई निक्कै हम्मे हम्मे पर्छ । तर सत्य कुरो के हो भने म बिस बाइसे ठिटा हुँदा उनी त्यस्तै सोर्ह सत्र वर्षकी जस्ति देखिने गर्थिन् । अब उनको त्यो सत्र वर्षे जवानीलाई त्यसदिन तुलना गर्दा मलाई कसो कसो फुङ्गै उडेको मलिन अनुहार जस्तै लाग्न थाल्छ ।

तैपनि एउटै टेबलमा बसेको हुनाले म पटक पटक उनको अनुहारलाई राम्ररी पढने प्रयत्न गर्छु । उनको अनुहारमा पहिलेको जस्तो चमक भने पटक्कै देख्न सकिदैन । बाबुले तिसौ वर्ष बेलायती सेनामा मात्र नभएर ब्रुनाईमा गएर दशकौ वर्ष काम गर्दा आर्जन गरेको पहिचान उनको नाक र घाँटीमा टल्किने सुन वा हिराको जुहारत पनि कहिँ कतै देखा पर्दैन । तर कता कता दुवैपट्टी कानमा बहुमूल्य निलमणी वा मोतीको झुम्का तुर्लुङ्गै झुन्डिरहेको देख्दा चाहिँ मलाई विश्व बिख्यात डच चित्रकार जोहान्स वर्मरको ‘गर्ल विथ ए पर्ल इएररिङ्’ को बेस्सरी याद आइरह्यो । जुन चित्रलाई मैले भिन्सीको मोनालिसाभन्दा बढि सुन्दरी देख्थे ।

खै उनको नाम के हो ? मलाई थाहा हुन त सकेन । तर उनलाई देखेपछि म त्यसबेला लगभग ३०-३५ वर्ष अगाडीको कुरो स्मरण गर्न थाल्छु । तिनताका म पल्टनघरमा एकजना ठेटना नै थिएँ र पेसाले चालक थिएँ । अझै पल्टन घरको कर्तब्य पालन गर्ने क्रममा बेलाबखत सात नम्बर सैनिक पोशाकमा सर्लक्कै सजिएर सिभेट कारमा उनको बाबुलाई सवार दिएर उनीहरुको घर बफ्स एभेन्यु, सेकङ भिलेजमा पुर्याउन जान्थे । म त्यहाँ पुग्दा उनी अङ्ग्रेजी पुस्तकहरुको गहन अध्यान गरिरहेकी देखिन्थिन् ।

अङ्ग्रेजी बिधालयमा अध्यान गर्ने भएकीले उनले खस भाषा बोल्न जान्दछिन् वा जान्दिनन् होला भनेर म जहिले पनि द्वविधामा परिरहने गर्दथे । तर मलाई याद छ, उनले पढने गरेकी अङ्ग्रेजी पुस्तकहरु हेर्दा निक्कै ठूल्ठूला देखिन्थे । मुस्किलले एबिसिडी जानेर गाउँदेखि आएको मानिसलाई त्यसबेला अङ्ग्रेजी अक्षर कालो भैसी बराबर लाग्दथ्यो । अहिले कल्पना गर्छु कि उनी त्यसबेला सायद एभन नदीको किनारमा जन्मेका सेक्सपियरका तिनै बहुचर्चित पुस्तकहरु रोमियो एण्ड जुलियट, ह्यामलेट र म्यागवेथहरु पढिरहेकी हुन्थिन् होली ? तर म जाबो चालक न परें । त्यसैले उनीसँग सोध्न एकदम सरम मान्दथे । वास्तवमा त्यो बिस बाइसे उमेरमा लागेको सरम अहिले साठीको हाराहारीमा पुग्दा पनि छुट्दै नछुटेको रहेछ भन्ने कुरो मेरो मुखदेखि त्यसदिन पनि एक्कै शब्द ननिस्केकोले चाल पाएँ ।

जन्मदिनको खाना खाइसकेपछि हामी घर फर्कनको लागि तयार हुन्छौं । मेरी जीवन सङ्गिनीसँग एक अर्कामा हात समातेर मेसदेखि बाहिर प्राङ्गनमा निस्केपछि म अधिकृत मेसलाई अन्तिम पटक हेर्छु । यदि मेरो जीवनको इतिहासलाई एकचोटी अश्लिल चलचित्रकी अभिनेत्री सन्नि लियोनको शरिर जस्तै ह्वाङ्गै उदाङ्गो पारेर हेर्ने हो भने करिब बाइस तेइस वर्ष अगाडी म तिनै क्याम्पमा सानो भुटुने काम गर्थे । जुन मेसको निर्माणकर्ता अरु कोही नभएर मुटुमा बेलायती तातो खुन भएका तत्कालिन बिजिएन कमाण्डर कलनेल मार्क डाउडल हुन् । त्यो मेसको निर्माण भएपछि मैले एउटै टेबलमा बसेर राजकुमार फिलिपसँग बियर पिएर ख्यालठट्टा गरेको निक्कै लामो समयसम्म स्मृति गरिरहें । आखिर अजम्बरी कोही छैनन् र दुर्भाग्यबस उहाँ अहिले हामीसँग हुनुहुन्न स्वर्गमा हुनहुन्छ ।

अधिकृत मेसभित्र मेरो सुखद् समयमात्र बितेको थिएन, दुःखद समयको पनि इतिहास ज्यूँकात्यूँ रहेका छन् । जसको ज्वलन्त उदाहरण भनेको जनरल साम काउनले एक पटकको रात्रिभोजमा गोर्खालीहरुको निवृत्तिभरणको विषयमा बोल्दा ‘ब्रिगेड अफ गोर्खाज’ नै एउटा अवैधानिक संगठन हो । त्यसकारण अंग्रेज सिपाहीहरुजस्तै सबै सेवा र सुविधा उस्तै पाउनु पर्छ भन्ने हुँदैन भनेको म अहिले पनि झलझली सम्झन्छु ।

हुन त एकदिन मरेर जाने चोला त हो । त्यसैले जनरलले जे सुकै भनोस् है भनेर मेरो मन थाम्छु । तर मैले त्यस क्याम्पलाई छाडेर निस्कने अघिल्लो रात तिनै जनरल काउनले प्रयोग गरेको भिआईपी कोठामा एकरात बास बसेर क्याम्पलाई सधै सधैको लागि छाडेको थिएँ । सन् २००१ मा मैले मानभवन क्याम्प त्यसरी छाड्दै गर्दा पूर्व जिटिआरको अधिकृत कलनेल डाउडलले भनेको एउटा कुरो चाहिँ मेरो मानसपटलदेखि कहिलै बिलय भएर जान सकेको छैन् ।

‘भीम ! चाहे पल्टन ट्रान्सपोर्ट होस् वा सप्लाइ होस् । यस्ले हामीलाई केही फरक पार्दैन । हामी त केवल आजीवन जिटिआरमात्र हौं ।’

पुरानो बानेश्वर, काठमाडौं ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!