यात्रा बेन नेभिसको: चिम्खोले काईला – बेलायत

SHARE:

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यात्रा बेन नेभिसको

चिम्खोले काईला – बेलायत

बेन नेभिस सयुक्त अधिराज्य बेलायतमा भएको चुचुरोहरु मध्य सर्बोच्च अग्लो चुचुरो हो। बेन नेभिस सयुक्त अधिराज्य बेलायतको स्कटल्याण्ड राज्यमा पर्दछ। यसको उच्चाई १३४५ मिटर रहेको छ। स्थानीय भाषाहरु स्कोटिस गेलिक, आइरिस सेल्टिक र वेल्समा बिभिन्न नामहरुले पुकारेको पाइन्छ। प्राचिन कालहरुमा यस हिमाललाई स्थानीय भाषाहरुमा कलाउडी माउण्टेन (बादलले ढाकेको हिमाल), माउण्टेन अफ हेभन (स्वर्गको हिमाल), गड माउण्टेन (भगवान हिमाल) आदि इत्यादिले पुकारिन्थ्यो। आजभोली यस हिमाल बेन नेभिस नामबाट सुपरिचित रहेको छ।

बेन नेभिस हिमाल चढ्न बर्षेनी १ लाख ५० हजार पैदल यात्रीहरु आउने गर्दछन। यस हिमालको यात्रा दुरी १० माईल तथा १६ किलोमिटर रहेको छ। यस दुरी पुरा गर्न औसत ६ देखि ८ घण्टा लाग्ने गर्दछ। यो हिमाल फोर्ट विलिएम बजारदेखि नजिकमा रहेको छ। यो हिमाल आन्तरिक तथा वाह्य पर्यटकको लागि लोकप्रिय हिमाल हो।

परिवारसंग बेलायत बसेको धेरै बर्ष भएको छ। मेरो परिवारलाई बेलायतको बिभिन्न स्थानहरुमा होलिडेमा लगेको छु। मैले मेरो परिवारलाई स्कटल्याण्डमा पनि पटक पटक होलिडेमा लगेको छु। तर स्कटल्याण्डको उत्तरी भूभाग तथा हाइल्याण्डमा होलिडेमा लैजाने मौका मेलिको छैन। म आफै पनि ब्रिटिश आर्मीमा कार्यरत हुँदा स्कटल्याण्डको उत्तरी भूभाग तथा हाइल्याण्डतिर घुम्ने मौका जुरेको थिएन। यसपटक तथा यो बर्ष भने हाइल्याण्डतिर होलिडे जान जुरेको छ।

हुनत मेरी श्रीमती जमुना र मैले यो बर्ष इटलीको होलिडे रोम जाने भनेर अफिसबाट होलिडे स्वीकृति गराएका छौं। मैले इटली त पहिला नै गैसकेको देश हो कतै अलि नौलो देशमा गए हुन्न भन्ने सल्लाह दिन्छु। श्रीमतीले पहिला भेनिस गएको हो यस पटक रोम र फ्लोरेन्स जाने भन्छिन। मैले हुन्छ भनेर सहमति जनाउछु ।तर जमुनाले बिदा अलि कम्ति छ अलि हतार हुन्छ कि भन्छिन । त्यसोभए बेन नेभिस जाउँ न त भन्छु मैले । उनले पनि हुन्छ भन्छिन। किनकी म पनि पैदल यात्रा गर्न रुचाउछु जमुना पनि पैदल यात्रा गर्न रुचाउछिन। यसरी यो बर्षको होलिडे स्कटल्याण्डको हाइल्याण्डतिर जाने पक्का हुन्छ।

होलिडे जाने पक्का भएपछी होटेल कहाँ बुक गर्नको जमुनासंग सल्लाह लिन्छु । उनले इन्भरनेसमा होटेल बुक गर्ने सल्लाह दिन्छिन। किनकी इन्भारनेस थर्सो, डन्डी, अबरडिन, बेन नेभिस र आइल अफ स्काईको बीच भागमा तथा बराबरी दुरीमा छ। त्यसैले इनभारनेसमा ७ रात होटेल बुक गर्छु। गोगुल म्यापमा चेक गर्दा हाम्रो घर न्यूबबरी देखि इनभारनेसको दुरी ५५० माइल रहेछ। ५५० माइल दुरी पार गर्न कारद्वारा झन्डै ९ घण्टा लाग्दो रहेछ। होलिडेमा हाम्रै सवारी साधन लिएर भोलि बिहान ६ बजे जाने सल्लाह भएको छ। हिलिडेको लागि सम्पूर्ण लगेज जमुनाले तयार बनाएकी छिन। म बिशेष कार्यले गर्दा रातभरी सुत्न पाएको छैन। जसले गर्दा सवारी साधन पनि जमुनाले नै चलाउने भएकी छिन।

होलिडेमा ६ बजे जाने भनिएपनि घरबाट ७ बजे बाटो लाग्छौं। सुर्यको उदय भैसकेको छ। मोटर बाटो ए ३४, एम ४०, एम ४२, एम ६ हुँदै अगाडी बढ्दै छौं। बेलायतको समर टाइम्स अति रमाइलो हुन्छ। दिन घमाइलो छ। मोटर बाटोको वरिपरी तोरी फुलेको छ, जौं, गहुँले बाला लगाउदै छन। यस बेला बेलायतमा झारपात, बोटबिरुवा सबै फुलेको छ। धर्ति नै पहेलो, रातो, हरियो बनेर मुस्कुराइ रहेको छ। मानौं एक महिला झपक्क यौन र बैशले भरिएको छ। यौन र बैशले भरिएको महिलालाई बेहुली बनाइ, डोलीमा चढाएर स्कटल्याण्डको हाइल्याण्डतिर घुमाउन लगिराखेको भान भैरहेको छ। जमुनाले हाम्रो सवारी साधन हाक्दै छिन। म अगाडिको प्यासेजर सिटमा छु। जमुनाले हजुर सुत्नु भन्दै छिन तर म सुत्न भन्दा मनोरम दृश्य हेर्नमा मस्त छु।

झन्डै ४ घण्टा सवारी चलाएपछि एकछिन बिश्राम लिने बिचार गछौं। एम ६ को अन्तिम सर्भिस स्टेशनमा रोकेर हामी दुवै फ्रेस हुन्छौं। केहि समय बिश्राम लिएपछि फेरि यात्रा शुरु हुन्छ। जति जति अगाडी बढ्छौं, उति उति रमणीय दृश्यहरु देखा पर्छन। अग्ला अग्ला डाँडाहरु, नदीहरु, तलाउहरु, फराकिला फाँटहरु, बनजंगल, पाखा पखेरुहरु, भेडाका बथानहरूलाई अबलोकन गर्दैछु। यात्रा ए ७४, एम ७४, एम ८०, एम ९, ए ९ हुँदै इन्भरनेस आइपुग्छौं।

हामी इन्भरनेस आइपुग्दा समय दिउसोको ४ बजेको थियो। म होटेल तथा अकोमोडेसनको चापी लिन्छु र हाम्रो अपार्टमेन्टतिर लाग्छौं। हाम्रो अपार्टमेन्ट राम्रो सुन्दर तथा सफा छ। एक डबल बेड छ, २ वटा सिङ्गल बेड छ। किचन, डाइनिङ र बैठक कोठा छुट्टै छ। नुहाउने बाथ रुम र ट्वाइलेट पनि राम्रो रहेछ। जमुना खुशी भएकी छिन। जमुना खुशी भए म खुशी नहुने कुरै भएन। दुवैजना खुशी भए के चाहियो ? बिगतका दिनहरुमा प्राय: हाम्रो होलिडे छोरीहरु प्रिया, प्रियंका, परिवारका सदस्यहरु तथा हाम्रो फ्यामिली फ्रेन्ड्ससंग हुन्थ्यो। तर यस पटक जमुना र म मात्रै छौं। यस पटक हाम्रो लागि धेरै फ्रिडम छ। केवल श्रीमान तथा श्रीमती। किन हो किन श्रीमती जमुनालाई सदाको भन्दा सुन्दरी देखिरहेको छु। उनलाई तिमि त आज अति सुन्दरी देख्छु त भनेर जिस्काउछु। उनि मिस्कुराएर बस्छिन। सामान्य नास्ता गरेपछि भोलि बिहान बेन नेभिस पद यात्राको लागि सामान मिलाएर बिश्राम लिन्छौं।

भोलि बिहान उठेपछि मैले मिन्ट र लेमन वाटर लिन्छु। जमुनाले चिया लिएपछि बेन नेभिसको यात्रा तयार हुन्छ। बेन नेभिस इन्भरनेसदेखि सवारी साधनद्वारा झन्डै २ घन्टाको दुरीमा छ। आज हाम्रो सवारी साधन मैले हाक्दै छु। इन्भरनेस शहरबाट छुटेपछि ए ८२ हुँदै बेन नेभिसतर्फ लाग्छु। वारिपारि अग्ला अग्ला डाँडाहरु छन बिचमा क्यलोडेनियन कनाल तथा नहर छ। क्यलोडेनियन कनालको किनारै किनार ए ८२ मा हाम्रो सवारी साधन हाक्दै छु। वारिपारि अग्ला अग्ला डाँडाहरु, बिचमा क्यलोडेनियन कनाल, क्यलोडेनियन कनालको किनारै किनार ए ८२, कनालको वारिपारी हरिया बनजंगल, फराकिलो घासे मैदान, समथर भूभाग, निला फराकिला ताल, ति घासे मैदानहरुमा गाई, घोडा र भेडाका बथानहरू, बनजंगलहरुमा चरा चुरंगीका आवाजहरु, मृगका बथानहरूले मेरो मनै भाबुक बनाइदिन्छ। यी हरेक चिज देख्छु र मेरो देश नेपाललाई संझन्छु। मेरो देशमा यी सबै थोक छ तर हामीले ब्यबस्थित गर्न सकिएको छैन भन्दै भाबुक हुन्छु।

झन्डै २ घन्टाको ड्राइभिङ पछि हामी बेन नेभिसको भिजिटर सेन्टरको कर पार्कमा आइपुगेका छौं। हामी जस्ता धेरै पैदल यात्रीहरु आइसकेका छन। सबै पैदल यात्रा गर्नका लागि तयारी छन। बेलायतमा ब्रिटिश समर भएर होला, पदमार्गीहरुले छोटा छोटा लुगा लगाएका छन। बिशेष गरेर महिलाहरुले लोभ लाग्दा पिडौला, ओजनदार स्तन र आकर्षक बटम लिएर पदमार्गको तयारीमा छन। कार पार्कको टिकट मेसिन आउट अफ अर्डर भएको हुँदा भिजिटर सेन्टरमा गरेर कर पार्क टिकट र पद यात्राको म्याप लिन्छु। होलडेको ८ रहेछ। भिजिटर सेन्टर जंगलको बिचमा भएर होला एकदम धेरै भुसुनाले टोक्छ। भुसुनाले गर्दा हामी दुवै हतार हतार पदयात्रातर्फ लाग्छौं।

पदयात्राको पहिलो भागतिर हामी दुवै एक्साइटेड हुन्छौं। पहिलो चरणको पदमार्ग अलि-अलिमात्र उकालो भएकोले र फराकिलो पनि भएकोले हामीलाई सहज लागेको छ। झन्डै एक घण्टा उकालो पुगेपछि मैले पदमार्ग अर्कैतिर मोड्छु। किनकी केहि पदयात्रीहरु सोहि पदयात्रातिर यात्रा गरिराखेका छन। तर पद यात्रा ठाडो उकालो, अप्ठ्यारो र खतराजनक हुन्छ। जमुना रिसाउछिन। मलाइ नानाथरि भन्न शुरु गर्छिन। मैले पनि गल्ति गरेको महसुस गर्छु। तरपनि कठोर यात्रा गरेपछि हामी मुख्य पदमार्गसंग जोडिन पुग्छौं। जुन स्थानलाई रेडबर्न नामांकन गरिएको छ। जहाँ हिमालबाट बगेको स्वच्छ र निर्मल छहराको पानी बगेको छ सो पानी हामी दुवैले पिउछौं।

रेडबर्नमा सम्पूर्ण पदयात्रीहरुको लागि पानी पिउने र थकाइ मार्ने स्थान रहेछ। केहीबेर थकाइ मरेपछि तथा पानी पिएपछि उकालो लाग्छौं। यो दोस्रो चरणको पदयात्रा हो। यो पदयात्रा सहज देखिराखेको छैन। कारण पदमार्गमा चट्टान धेरै छन। ठाडो उकालो छ। मार्ग साघुरो छ। पदयात्रीहरु धेरै छन। धेरै घुम्ती पार गर्दै छौं। कहिले चुचुरोमा पुग्ने हो ? अत्यास लाग्छ। यतिखेर केहि पदयात्रीहरु चुचुरो पुगेर ओरालो झर्दैछन। म उनीहरुलाई सोध्छु। अझै कति समय लाग्छ होला ? उनीहरु जवाफ दिन्छन। अर्को एक घण्टा। म आत्तिन्छु। हँ अझै एक घण्टा ? सायद मेरी श्रीमती जमुनाले मलाई उकालो चढ्न गाह्रो भएको देखेर होला, पानी पिउनु, रेडबुल पिउनु, स्निकर खानु, यसरी हिड्नु, भन्दैछिन। म चाही अलि रिसाउदै छु। म पसिनाले निथ्रुक्कै भएको छु। उनले मलाई सनक्रिम लगाउनु भन्दैछिन। मलाई उनले बच्चाहरुलाई जस्तै ब्यबहार तथा माया गर्दैछिन भने सो ब्याबहार मलाई अलि मन परेको छैन। किनकि यस्ता दुखहरु मैले यो जीवनमा धेरै भोगिसकेको छु। तर आज उनीभन्दा म हिड्न सकेको छैन। जसले गर्दा अलि अलि आत्मागलानी भएको छ। तरपनि म ६२ बर्षको बुढो भएपनि कोशिस गर्दै छु। पदमार्गमा मा जस्ता पाका उमेरका पुरुष, महिला तथा स-साना बालबालिकाहरु पनि बेन निभिसको पद यात्रामा छन । जसले गर्दा मलाई पनि चुचुरोमा पुग्ने हौसला मिलेको महसुस भएको छ।

उकालो चढ्दै गर्दा एकजना पदयात्रीले तिमी गोर्खा हो भन्छन। मैले हो भने। उनले म हंगकंगमा जन्मेको हो। गोर्खा इन्जिनियरको भान्जा हो। म हालमा फ्रान्समा बस्छु भन्छन। उनले एउटा ब्याकप्याक बोकेका थिय। उनले भने मैले आज गोर्खालाई उकालो चढ्न जिते भन्दै ढाडस दिदै अगाडी गए। मलाई अलिकति लज्जाबोध भयो। किनकि गोर्खालिहरु उकालो चढ्नमा तथा खुड्रेस दगुर्नमा बिश्व कृतिमान राख्न सफल भएका छन। जस्तै: हंगकंगको नाम्लेस हिल, मलेसियास्थित साबहको माउन्ट कोटाकिनाबालु, नेपालको एभेरेष्ट म्याराथुन, गोर्खाको लिक्लिक्कोट दौड आदि इत्यादि उकालोमा दौडने दौडहरु ब्रिटिश गोर्खा, इन्डियन गोर्खा, सिंगापुर गोर्खा तथा नेपालीहरुले नै कृतिमान कायम राखेका छन। तर मनमा यो छ कि समय लिन सक्छ तर म यो चुचुरो अबश्य पुग्नेछु भन्दै उकालो चड्दैछु।

म मेरो श्रीमती जमुनाको पछिपछि उकालो चड्दैछु। पदमार्गमा हिउँ छ। हिउँको बाटो उकालो चड्दैछु। उकालो चड्दैछु तर ओरालो झर्छु। हिउँको बाटो चिप्लो छ। तर हिउँबाट चिप्लिए पनि अलि खतरा छैन। किनकि, चिप्लिएर झर्ने स्थान अलि समथर छ। बडो मुस्किलले हिउँको पदमार्ग समाप्त भएपछी धुङ्गै धुङ्गाको पदमार्ग शुरुहुन्छ। फेरि उनी गोर्खा इन्जिनियरका भान्जा चुचुरोमा पुगेर फर्किदै छन। म उनलाई सोध्छु भान्जा अझ कति बाँकी छ ? ५ मिनेट मामा, अब बाटो सजिलो छ भन्दै उनि ओरालो झरेपछि म ढुक्क भए। ५ मिनेट पछि म र जमुना पनि चुचुरोमा पुग्यौं ।

चुचुरोमा पुगेपछि संसार नै जिते जस्तो महसुस भएको छ। आश्चार्य पनि लागिरहेछ। चुचुरोमा एक नासका ढुङ्गाहरु छन। यो ढुङ्गाहरु चुचुरोमा यसरी जम्मा हुन कसरी सम्भब भए होला? अच्चम्ममा पर्छु। गोगुल सर्च गरेर हेर्छु। चुचुरोमा यति धेरै ढुङ्गा हुनको कारण चाहि भोल्कानोले गर्दा रहेछ। केहि क्षण आराम गरे पश्च्यात १३४५ मिटरको उच्चाइमा रहेको ट्रिक पोइन्टमा हामी श्रीमान श्रीमतीले फोटो लिन्छौं। फोटो लिए पश्च्यात एभरेष्ट टाइम्स डटनेटको तर्फबाट केहि मिनेटस लाइफ ब्रोडकास्ट गर्छु। चुचुरोमा ढुङ्गाको मानब निर्मत एक भक्नावसेस रहेकोछ। यो भक्नावसेस १९ सौं सताब्दितिर होटेल तथा होस्टेलको लागि संचालनमा ल्याएका रहेछन। केहीबेर चुचुरोको वरपर दृश्यावलोकन गरे पश्च्यात ओरालो झर्छु। ओरालो झर्दा अलि धेरै फुर्ति आइरहेछ। हिउँ भएको स्थानमा श्रीमती जमुना ओराली झर्दै गरेको भिडिओ लिन्छु।

हामि उकालो चढ्दा मलाई धेरैले उछेनेर गरेका थिए भने ओरालोमा हामीले धेरैलाई उछेनेर तल झर्दैछौं। ओरालो हिडेको एक घण्टापछि रेडबर्नमा आइपुग्छौं। रेडबर्नमा रहेको झरनाको पानि टन्न पिएपछि फेरि ओरालो झर्छु। नेपालीहरुलाई उकाली चढ्न र ओराली झर्न सजिलो हुन पर्ने हो तर मलाई भने उकाली चढ्न धेरै कठिनाइ भएको थियो। तर ओरालो भने सजिलैसंग झर्दै छु। झन्डै दुइ घण्टामा भिजिटर सेन्टरमा आइपुग्छु।

भिजिटर सेन्टरमा एकक्षण बिश्राम गरेपछि इन्भरनेसतिर बाटो लाग्छौं। बेन नेभिसबाट फर्कदा श्रीमती जमुनाले हाम्रो सवारी साधन हाक्दैछिन। म फ्रन्ट प्यासेन्जर सिटमा बसेको छु। फोर्ट विलियमदेखि ए ८२ को मोटरमार्ग लिएर लोचनेस हुँदै क्यालोडियन कनालको तिरैतिर इन्भरनेस आइपुग्छौं।

म तथा मेरी श्रीमती जमुना ट्रेनिङ्ग बिनानै बेन निभिसको पद यात्रा गरेका थियौं। जसले गर्दा मेरो लागि पद यात्रा अलि च्यालेनजिङ्ग भएको थियो। यदि हजुरहरु बेन नेभिसको पद यात्रामा जादै हुनहुन्छ भने। केहि दिन ट्रेनिङ्ग लिएर गएमा पद यात्रा सजिलो हुनेछ। पदयात्रा जानुभन्दा अगाडिको रातमा प्रशस्त पानी पियर सुत्न जरुरी छ । पद यात्रामा कम्फोरटेबल फुटवयर, प्रशस्त पानी, फलफूल र फिजी ड्रिंकहरु बोकेर जान जरुरी छ।

हाम्रो देश नेपालमा यस्ता बेन नेभिस जस्ता डाँडाहरु हजारौंका संख्यामा छन । हामीसंग हिमालहरु, डाँडाहरु, पाखा पखेरोहरु, नदिनालाहरु, ताल तलैयाहरु, झरनाहरु र बनजंगल जस्ता मनोरम दृश्यहरु हजारौंको संख्यामा छन । तर हामीले हामीसंग भएको मनोरम दृश्यहरुलाई प्रोमोशन गर्न सकिराखेका छैनौं जस्तो भान भैरहेको छ। यदि हामीले हाम्रा यस्ता प्राकृतिक मनोरम दृश्यहरुलाई सहि ढंगले संचालनमा ल्याउने हो भने हाम्रो देश नेपाल आन्तरिक तथा बाह्य पर्यटकको हप हुने थियो र हाम्रो देश नेपालको आर्थिक उन्नति हुने थियो जस्तो लाग्छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!