अँध्यारोमा चेतनाको राँको : इलुम बम जिन्दगी

SHARE:

नेपाली साहित्यमा लाहुरे समुदायले पुर्‍याएको योगदान बिर्सिनसक्नु र लोभ लाग्दा छन् । देहरादूनका प्रवासी लाहुरेहरुले वि.सं. १९५८ मा ‘गोर्खा सागर प्रकाशन गर्दा यता नेपालमा भर्खर पहिलो पत्रिका ‘गोर्खापत्र’प्रकाशन हुँदै थियो । मास्टर मित्रसेन थापामगर, ठाकुर चन्दनसिं, डम्बरसिं गुरुङ, रतनसिं गुरुङ, बहादुरसिं बरालमगर, मेजर अमरसिं थापामगर, सुवेदार बाजवीर थलङ, लप्टन शेरबहादुर लिम्बू, सुभाष घिसिङ, सुवेदार बुद्धिराज फागो, मणिसिं गुरुङ, डा. हर्षबहादुर बुढामगर, धनहाङ सुब्बाजस्ता थुप्रै लाहुरेहरु नेपाली साहित्य लेखन परम्परा बसाल्ने स्रष्टाहरु हुन् ।

युद्धका कथा, मनको पीडा, प्रदेशका खबर घरवालालाई चिठीपत्रमा जानिनजानी लेख्दालेख्दै नोस्टालजियाले लाहुरेलाई लेखक बनायो । यस्तै भोगाइ र दुखाइको संगालोस्वरुप स्रष्टा शिवधन पुमा राई (७ जिआर)ले “इलुम बम जिन्दगी (मेरो भोगाइ र मेरो बुझाई), प्रकाशित गरे । पुस्तकमा लेखकका आफ्नै जीवन, संघर्ष र भोगाई तीन आयमहरुलाई जोडेका छन् । सन् १९७० मा एसएलसी पास, कमलादेवीसँग विवाह र ब्रिटिस सेनामा भर्ती हुनु शिवधनका जीवनमा तीन संख्या सुखद् संयोग छन् । प्रवेशिका उत्तीर्ण हुनासाथ बाबु सुबेदार शेरबहादुरको बिँडो थाम्न लाहुरे भएपछि धेरै पढेर ठूलो मान्छे बन्ने हुटहुटीमा ब्रेक लागेयता, उनले भोगेका १६ वर्ष लाहुरे, १६ वर्ष नयाँ सोचको खोज र अन्तमा विगत १६ वर्षका यूकेको जीवन तीनखण्ड जोडेर आफ्नो पुस्तकमा उतार्न सफल भएका छन् ।

अफिसर हुने सपना हवाईले उडायो
शिवधनलाई पल्टन घरको कोर्स क्याडरमा पाँच दशकअघि नै एसएलसी पास गरेको शिक्षा सहयोगी बन्यो । फौजमा हुनुपर्ने अनुसाशन, कामप्रति अतिलगनशील र इमान्दारिताका कारण उनले पदोन्नतिमा तीव्र गतिमा छलाङ मार्दै गए । सन् १९८६ मा १/७ गोर्खा राइफल्सको अमेरिकाको हवाई टापुमा यूएस आर्मीसँगको संयुक्त फौजी अभ्यासमा भएको अनपेक्षित घटनाले अफिसर हुने आफ्नो सपनाको अन्तमात्र नभई तीनजना बालबच्चा च्यापेर आपराधीको बिल्ला भिरी घर फर्ननु परेका दुखद् क्षणहरुलाई पुस्तकमा सविस्तार प्रस्तुत गरेका छन् ।

आफ्नै अंग्रेज कमाण्डरले गरेको चरम अपमानका कारण आफूजस्तै १११ गोर्खा जवानहरुलाई खालीखुट्टा सेनाबाट बर्खास्त गरिएको रोचक र दुखदायी फेहरिस्त शिवधनले दिएका छन् । आफ्ना राष्ट्र सेवकहरुलाई उचित कानुनी कारबाहीबिना यति ठूलो संख्यामा गोर्खाहरुलाई खालीखुट्टा घर पठाउनु बेलायत र केही निकाम्मा गोर्खा अफिसरहरुको समेत भण्डाफोर गर्न लेखक सफल देखिन्छ ।

नयाँ सोचको खोज
आफू संलग्नै नभए पनि फौजदारीजस्तो गम्भीर कसूरमा नेपाल फर्केपछि शिवधन नयाँ सोचको खोजसँगै पेट पाल्न र बच्चाहरुको शिक्षाको लागि थप अध्ययनलाई निरन्तरता दिँदै अर्को सोह्र वर्ष जागिर खानु पर्‍यो । बुढेसकालमा थोत्रो झोलामा पुस्तक बोकेरै उनले राजनीतिशास्त्रमा स्नात्तोकरसम्म पूरा गरे ।

नयाँ सोच र खोजको सोह्र वर्षे जीवन शिवधनको सबैभन्दा कठीन थियो । चिसापानी उच्च मावि खोटाङ, श्री डिभन मावि सप्तरी र श्री गोवर्द्धन बैरागी जनता उच्च मावि फत्तेपुर तीन विद्यालयमा शिक्षाको ज्योति छर्दै हिँड्दा उनले खासगरी तत्कालीन विद्रोही माओवादी, खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा र तराई जनतान्त्रिक मुक्ति मोर्चाबाट दिइएका मानसिक प्रतिडनाबाट छुट्कारा पाउन गरेका संघर्ष पुस्तकको सबैभन्दा तितो तर सुन्दर पक्ष हो । आफू लाहुरे, सरकारी कर्मचारी र नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघमा आस्था राखेकै कारण शिवधन आर्थिक, सामाजिक र राजनीतिक सबैतिरबाट तारगेट भएका थिए ।

एकातिर पचासौं माओवादी छापामारलाई आफ्नो परिवारको पेट काटेर भात खुवाउनुपर्ने बाध्यता र अर्कोतिर राज्यबाट विद्रोहीलाई पालेको आरोपमा प्रशासनमा हाजिर हुनुपर्ने दोहोरो पीडाले उनले गाउँमा बस्ने आधार विस्तारै गुमाइँदै गए । एउटा शिक्षकको चार हजार तलबको मासिक २५ प्रतिशत लेबी र प्याकेजमा ६ महिनाभित्र थप दुई लाख रुपैयाँ माओवादीलाई बुझाउनुपर्ने आदेशले उनी खोटाङबाट विस्थापित हुनुपर्दा अर्को हवाई काण्ड दोहोरिएको थियो ।

पहाडबाट विस्थापित भई मधेस झरेर सप्तरी फक्तेपुरमा अध्यापन गर्दैगर्दा २०६३ जेठ १ मा तराई जनतान्त्रिक मुक्ति मोर्चाले अपहरण गरी ५ लाख फिरौती माग्दै चार दिनको कब्जापछि फुत्किन सफलता शिवधनका लागि बक्सिस जीवन भएको पुस्तककमा सविस्तार पढ्न पाइन्छ ।

सामाजिक भत्ताको जीवन
शिवधनले सोह वर्ष ब्रिटिस सेना र थप सोह्व वर्ष शिक्षक गरी जीवनमा दुईवटा महायुद्ध लडे । दुवै युद्धमा सानदार प्रस्तुति भए पनि बदलामा उनले अपमान र आरोपको पुरस्कार पाएपछि मातृभूमिको सेवा गर्ने यात्रालाई त्यही थन्क्याएर बुढेसकालमा बेलायत आएर बस्ने निर्णय गरे । पूर्वगोर्खा सेनाले परिवारसहित आवासीय भिसामा यहाँ आउने प्रावधान भएपछि उनको लागि यो सहज भएको थियो ।

लामो समय नेपाल बसेका शिवधनजस्ता धेरै भूपू गोर्खाहरुलाई बेलायती जनजीवनमा समायोजन हुन मुस्किल थियो । उनले आएसीटिएस लिमिटेड र जिफोरएसमा थप ६ वर्ष नोकरी गरे । २०१३ देखि चाहिँ उनी जेष्ठ नागरिकअन्तर्गत सामाजिक सुरक्षा भत्तामा गुजारा गरिरहेको छन ।

सार र सन्देश
“इलुम बम जिन्दगी (मेरो भोगाइ र मेरो बुझाई), शिवधनको नितान्त जीवनमा भोगेका संघर्ष र अनुभूतिको संगालो हो । पुस्तकको रुपमा आएपछि यो उनको निजी रहेन । यहाँबाट समाजले सिक्नपर्ने थुप्रै सन्देशहरु छन् । यो पुस्तक खोटाङ निगालवासका ’पुमा लिम्माछित’ पक्षहरुका लागि ऐतिहासिक दस्तावेज बनेका छ । त्यो समयको आर्थिक, राजनीतिक अवस्थादेखि सामन्य लवाईखुवाई, दिनचर्या, रहनसहन कसरी चलेका थिए भनेर बुझ्न पछिका पुस्तालाई यसले सहयोग गर्नेछ । पल्टनबाट पेन्सन पकाएर वा शिवधनजस्तै हण्डर खाएर आएका आमलाहुरे दोस्रो नोकरी खोजेर पुन: विदेशै जाने परम्परा तोडेर उच्च शिक्षा प्राप्तगरी राष्ट्रसेवा गरेको एउटा सकारात्मक सन्देश प्रवाह भएको छ ।

पल्टनमा बिनाप्रमाण दोषी करार, नेपालमा इमानदारिपूर्वक सेवा गर्दा पनि माओवादी, खम्बुवान राष्ट्रिय मोर्चा, तराई राष्ट्रिय मुक्ति मोर्चा तीनवटै विद्रोहीहरुको सिकार भएर पनि शिवधनले विचलित नभई राष्ट्र र सामाजलाई निरन्तर दिइरहेको योगदान सबैको लागि प्रेरणा हो । पढ्दै जाँदा लेखकका केही टिप्पणीहरु पाठकलाई अस्पुष्ट र असहज पनि लाग्न सक्छन् । पुस्तक शुभकामना दिने कलमी गणेश राईलगायत आफ्नै केही समकक्षी र अधिकृतहरुको आर्मी नम्बर र नाम अन्यथा हुन गएको छ । हवाई काण्डका १०८ पीडित सबै सहकर्मीहरुको नाम संकलन गरी यहाँ राखिएको भए अझ रोचक हुने थियो ।

१८१६ को सुगौली सन्धिले ९ पृ.२०२० गोर्खा सेना इष्ट एन्डिया कम्पनी सरकारको अभिन्न अंगको व्यवस्थाअनुसार अहिलेसम्म बेलायती फौजमा सेवा निरन्तर रहेको लेखकको तथ्य पनि इतिहासमा कतै पुष्टि हुन सकेको छैन । सुगौली सन्धिका ९ दफाभित्र गोर्खा सेना भर्तीबारे एक शब्द पनि कतै उल्लेख भएको पाइन्न । श्री ३ वीर शम्शेरका पालामा सन् १८८५ तिर केही ’लेटर अफ एक्सचेन्ज’हुँदै १९४७ मा मात्र भारत, नेपाल र ब्रिटेनबीच गोर्खा भर्तीबारे औपचारिक सन्धि भएको देखिन्छ ।

विभिन्न कोर्स क्याडरमा आफूलाई धोका दिने केही पल्टने अधिकृत र आफ्ना बाबुको मृत्युपछि रहलपहल पैसा गायव गर्ने भाइ र भेनाजुको नाम जस्ताको त्यस्तै राख्नु शोभनीय देखिएन । आफ्नो राजनीतिक दलइतरविरुद्ध जति आक्रोश पोखे पनि आखिर आफ्नै मान्छे अशोक राई काम लागेको तितो सत्यलाई लेखकले न्याय दिन सके/सकेन पुष्टि भएको छैन ।

१३ दिन मलयासम्मको अत्यासलाग्दो पानीजहाज यात्रा, रेक्रुट तालिमका तितामिठा सम्झना, तालिमका उकालीओराली, सत्तरी दशकमा मासिक ४८ पाउण्ड तलब, आउट पासको मनोदशा, बोर्डर डिउटीका घटना, फकल्याण्ड युद्ध त्रासदी र दूश्मनमाथिको जित, पल्टन घरका अनेक काइदा र प्रचलनजस्ता लोभलाग्दा टिप्पणीहरु छन् ।

सारमा शिवधनले अनेक हावाहुण्डरीको सामना गर्दै जीवनलाई सफल र सार्थक बनाए । लाहुरे बन्नुभन्दा धेरै पढेर ठूलो मान्छे बन्ने पिताजी शेरबहादुरको सपना हवाई काण्डले पूरा गर्‍यो । नत्र उनको नाम आम पेन्सनवालाझै लाहुरेमै सीमित हुन्थ्यो नै ।

अँध्यारोमा चेतनाको राँको
पल्टनमा इलुम बम पड्काउन सिकेका एउटा लाहुरे शिवधन विकट गाउँका कुनाकुन्दरामा शिक्षाको ज्योति छन् चेतनाको राँको बालेर गाउँ फर्के । नभन्दै इलुमको बिम्बलाई जीवनका भोगाई र सिकाईमा सर्जकले पूर्ण प्रयोग गर्न सफल भएका छन् ।

इलुम यस्तो बम हो जो ध्वस्त पार्ने खतरा अस्त्र नभई अँध्यारो चिर्ने राँको हो । पुस्तकमा आफै राँकोजस्तै जलेर अरुलाई उज्यालो दिन लेखकको कलमले प्रशस्तै सन्देशहरु प्रवाह गरेका छन् । पृष्ठ २१८ मा “सन् २०१३ बाट जेठ नागरिक भत्तामा बाँचेको छु” हरफमा थोरै पीडा पोखे पनि इलुमको महत्व र सान्दर्भिकतालाई आफ्नो सार्थक जीवन संघर्षसँग जोडेर एउटा गतिलो पुस्तक सिर्जना गरे ।

भाषा र घटना प्रस्तुति सरल र सत्यमा आधारित छन् । आफूले देखेका र भोगका घटनालाई जस्ताका तस्तै राखेर लेखकले ठूलो इमान्दारिता देखाएका छन् । प्रा डा नोवलकिशोर राई र गणेश राईको शुभकामना सन्देशले पुस्तकमा चमक ल्याउन थप सहयोग गरेको छ ।

प्रस्तुति : कृष्णकुमार हेम्ब्या

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!