चितवन । गोरखा फुजेलका कृष्ण अधिकारी हत्यासम्बन्धी मुद्दामा आइतबार बहसपछि चितवन जिल्ला अदालतले जाहेरवाला मृतकका दाइ नुरप्रसादलाई अदालत ल्याउन आदेश दिएको छ । अदालतले यस्तो आदेश गरेको यो दोस्रो पटक हो ।

गएको फागुन १३ गते जिल्ला न्यायाधीस कुलप्रसाद शर्माले यस्तै आदेश गरेका थिए । न्यायाधीश शर्माले नै आइतबार पनि सोही आदेश दोहोर्याएका हुन् । त्यो बेला गरेको आदेशपछि नुरप्रसाद अदालतमा उपस्थित भएका थिएनन् । ‘जसलाई ल्याउनु भनेको हो त्यो पत्र उसैलाई बुझाउनु पर्छ । नभए उसका परिवारलाई बुझाउने वा घरमा टाँस्नु पर्छु, अदालतका सूचना अधिकारी केशव पौडेलले भने, त्यसो पनि गर्न नसके वडा कार्यालय जस्तो सार्वजनिक ठाउँमा टाँस्नु पर्छ ।’
पहिलाको आदेशमा यो नियम नपुर्याएको हुँदा फेरि आदेश गर्नु परेको उनले बताए । ‘सम्बन्धित व्यक्ति नभेटिएपछि अपनाउनु पर्ने विधि प्रक्रिया पूरा नभएको हुँदा पहिलाको म्याद तामेली बदर गरेर फेरि ल्याउने अर्को आदेश भएको हो’ चितवन जिल्ला अदालतका सूचना अधिकारी पौडेलले भने । पहिलाको म्याद पत्र चौतारोमा टाँसेको भन्ने जानकारी आएको थियो ।
झण्डै चार वर्षदेखि सम्पर्कविहीन मृतक कृष्णका दाइ नुरप्रसाद अधिकारी आइतबार नै काठमाडौंमा फेला परेका छन् ।
सूचना अधिकारी पौडेलका अनुसार नुरप्रसाद १५ दिनभित्र अदालतमा आएर बकपत्र गर्नु पर्ने हुन्छ । आइतबार उजुरीकर्ताको तर्फबाट जिल्ला न्यायाधीवक्ता (सरकारी वकिल) परमेश्वर पराजुली तथा कानुन व्यवसायीहरु बाबुराम गिरी र इन्द्र अर्यालले बहस गरेका थिए ।
त्यसैगरी मुद्दाको प्रतिवादीको तर्फबाट कानुन व्यवसायीहरु रमन श्रेष्ठ, मुक्ति प्रधान, धर्मराज आचार्य र दीनमणि पोखरेलले बहस गरेको सूचना अधिकारी केशव पौडेलले बताए । ‘अब सोमबार नै पत्र जान्छ । जाहेरवाला नुरप्रसाद आएर बयान गरेपछि थप प्रक्रिया अगाडि बढ्छ’ पौडेलले भने ।
कृष्ण अधिकारीको हत्या वि. सं. २०६१ सालको जेठ २४ मा भएको थियो ।






