नेपाली साहित्य विकास परिषद् यूकेले मनायो २१०औँ भानु जयन्ती

SHARE:

लन्डन १२ जुलाई २०२३ । नेपाली साहित्य विकास परिषद् यूकेले विविध साहित्यिक कार्यक्रमका साथ २१०औँ भानु जयन्ती मनाएको छ । वेष्ट लन्डनको एक्टनस्थित एबीआइ कलेजमा कार्यक्रम भएको हो ।

समारोहमा पुस्तक विमोचन तथा पुरस्कार वितरण गर्दै प्रमुख अतिथि परिषद्का पदेन संरक्षक राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिवृद्धि गर्न आदिकवि भानुभक्तको योगदान गहन रहेको चर्चा गरे । उनले बेलायतमा नेपाली भाषा साहित्यको विकासमा वरिष्ठ साहित्यकार सुरशजंग शाहले नेपाली साहित्य विकास परिषद् यूके स्थापना गरेर विशिष्ट योगदान र इतिहास रचेको समेत बताए ।

राजदूत आचार्यले आदिकविको जन्मदिनको अवसर पारेर कथाकार हरिसिंह थापाको विमोचन गरिएको ‘मेलिनाको डायरी’ कथासंग्रहले समाज विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

सो अवसरमा आदिकवि भानुभक्त आचार्यको जीवनी बारे प्रकाश पार्दै परिषदका प्रमुख सल्लाहकार यती नेपाली एसोसिएसन यूकेका पूर्व अध्यक्ष डा. राघवप्रसाद धितालले अत्यन्त अविकसित समाज रहेको इतिहासको त्यो कालखण्डमा आदिकवि भानुभक्तले नेपाली भाषामा जुन रामायणीय साहित्यको लहर चलाए त्यो आफैंमा एक साहासिक कदम रहेको उल्लेख गरे । यसले नेपाली साहित्यको यात्रा तथा सामाजको चेतना र एकता जागरण गर्न महत्वपूर्ण योगदान पुरयाएको डा. धितालको भनाइ थियो ।

परिषदका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले परिषदले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै बेलायतमा भानु जयन्ती मनाउँदै आएको चर्चा गर्दै नेपाली पहिचान युगयुगसम्म जीवन्त राख्न नेपाली भाषा साहित्य र संस्कृति जस्ता चिनारीहरू जोगाउंदै लैजानु पर्नेमा जोड दिए ।

अध्यक्ष मल्लले सन् १९९५ मा परिषद्को स्थापना र सन् १९९२ बाटै समाचार, पत्रिका प्रकाशन गरेर परिषद्का संस्थापक शाहले बेलायती माटोमा नेपाली साहित्य सर्जक र सिर्जनाहरू 
उमार्ने काम गरेको स्मरण गरे । झण्डै तीन दशकदेखि अनवरतरूपमा लागेका शाहले बेलायतमा साहित्यिक माहोल सुरूवात गरेर एउटा संवेदनशील इतिहासको अगुवाई गरेको धारणा पनि मल्लको थियो ।

परिषद्का पूर्व अध्यक्ष तथा बीबीसी नेपाली सेवाका पूर्व सञ्चालक खगेन्द्र नेपालीले आदिकवि भानुको योगदान र प्रेरणा नेपाली समाजमा अभिन्नरूपले भिजेको बताए । नेपालीले परिषद्ले स्थापनाकालदेखि नै बेलायतमा भानुको सम्मान र कीर्तित्व फैलाउने काम गरेको भन्दै प्रशंसा पनि गरे ।

समारोहमा नेपालबाट आएका अतिथि गीतकार, सङ्गीतकार एवं गायक शिव हमालले बेलायतमा समेत नेपाली साहित्य संगीतमा लागिपर्ने मानिसहरूको ठूलो जमात देख्दा आफूलाई खुशी लागेको बताए । विश्व नेपाली साहित्य महासंघका पूर्व केन्द्रीय महासचिव कवि केदार संकेत र साहित्य चौतारी यूकेका संयोजक साहित्यकार वासु शर्माले आदिकविको योगदानबारे कविता वाचनका साथ आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रम सञ्चालन गर्दै परिषद्की सह–अध्यक्ष डा. सुधा श्रेष्ठले सामाजिक एकता र चेतनाको विकासमा भानुभक्तको साहित्यिक योगदान अत्यन्त महत्वपूर्ण रहेको चर्चा गरिन् । डा. श्रेष्ठले विमोचित ‘मेलिनाको डायरी’ कथासंग्रहबारे संक्षिप्त समिक्षा गर्दै उक्त संग्रहमा वरिष्ठ लेखक हरिसिंह थापाले बेलायत र नेपालको सामाजिक विषयवस्तुलाई केलाउने प्रयत्न गरेको बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि परिषद्का संरक्षक राजदूत आचार्यले हाल बेलायत भ्रमणमा रहेका नेपालका गीतकार, सङ्गीतकार तथा गायक हमाल र कोसेली नेपाली सांस्कृतिक परिवार यूकेकी नवनिर्वाचित अध्यक्ष रुवी थापालाई खादा ओढाइ सम्मान गरे ।

यसैगरी राजदूत आचार्यले झण्डै तीन दशकदेखि बेलायतमा नेपाली भाषा साहित्य, पत्रकारिता र समाजसेवामा निरन्तर योगदान पुरयाउँदै आएका परिषद्का संस्थापक सुरेशजंग शाहलाई एक तोला सुन र पाँच तोला चाँदीमा बनेको एनएलडिसी स्वर्ण पदक प्रथम पुरस्कार र नइ प्रकाशन नेपालबाट प्रदान गरिएको नइ कीर्ति अलङ्कार पदक प्रदान गरे । राजदूत आचार्यले नइ कीर्ति अलङ्कार पदकबाट विभूषित हुने परिषद्का अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल र पूर्व अध्यक्ष हरिसिंह थापालाई पनि सम्मान प्रदान गरे ।

आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्यार्पण र मंगलधुनबाट आरम्भ भएको उक्त कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष हरिसिँह थापाले भानुभक्त रामायणका श्लोकहरू वाचन गरेका थिए भने परिषद्का वरिष्ठ कोषाध्यक्ष तथा कवि कलाकार मनोज अन्जानले मंगल धुन प्रस्तुत गरे । साथै अतिथि गायक शिव हमालले सुमधुर लोकगीत गाएका थिए ।

कार्यक्रममा परिषद्का सह अध्यक्ष रेशम अर्यालले स्वागत मन्तव्य दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!