सेलिङ बाबु-छोरीको पुस्तक चर्चा

SHARE:


भिमकुमार सेलिङ र लिला सेलिङ माबो बाबु–छोरी कुनै समय दुवै लिम्बुवान याङवरक क्षेत्रका स्कुल मास्टर थिए । बाबु भिमकुमार ४४ वर्ष शिक्षक भएर काम गर्दाको अनुभवलाई “शिक्षामा चवालिस वर्ष आत्मस्मरण” र छोरी लिलाको लाहुरेनी हुनुको पीडालाई लकडाउन समयमा कोरोनाको कहरलाई जोडेर “मेमोरिज अफ अ गोर्खा वाइफ ड्युरिङ लकडाउन” पुस्तकको रुपमा आएको छ । बाबु–छोरीको पुस्तक चर्चा एकै ठाउँमा ।

शिक्षामा चवालिस वर्ष आत्मस्मरण : भिमकुमार सेलिङ
याङवरक ओयाम सुब्बा सुभाङगी बिरासतमा जन्मेका भिमकुमार सेलिङ वि.सं. २०२२ देखि नथाकी निरन्तर आधा शताब्दी जीवनका उर्जाशील दिनहरु आफ्नै गाउँघरको शिक्षा क्षेत्रमा काम गर्दै बित्यो । लामो समय मास्टरी पेसा र अन्य समाज जागरणको अनुभवलाई बटुलेर उनले “शिक्षामा चवालिस वर्ष आत्मसंस्मरण” पुस्तक निकालेका छन् ।

भिमकुमार जन्मँदा नेपालमा राणाशासनले अन्तिम सास फेर्दै थियो । २००९ तिरै काठको फल्याकमा माटोको धुलो राखेर बाँसको सिन्का कलम बनाएर क, ख सिकेका उनले पुस्तकमा राखेका छन् । त्यो समय शिक्षक हुँदैनथ्यो । कालोपाटीमा खरी ढुंगाले मंसिर, पुस, माघ, फागुन महिना पण्डित वा ज्यातिषले सिकाउने भिमकुमारको हिउँदे पाठशाला युग हो ।

स्कुल जाने भन्दै घरबाट निस्केर खोलामा माछा, पाहा, गंगटा समात्ने, जंगलमा चराको सिकार, आँप, ऐंसेलु, चुत्रो खोजीखान जाँदाका रमाइला घटना र अभिभावकको पिटाइजस्ता मनोदशा लेखकले पुस्तकका रोचक तरिकाले प्रस्तुत गरेका छन् । एक पटक लाहुरे बन्ने रहरमा घोपा क्याम्प पसेर सात दिन ब्रिटिसको भात खाएर असफल भई रु. १२० गोजीमा हालेर घर फर्केको अर्को कथा पनि रमाइलो छ ।

सिद्धेश्वर प्रावि ओयाम, सिंहबाहिनी प्रावि ओयाम, सिरिसे प्रावि थर्पु, गुप्तेश्वर मावि ओयाम सबैमा प्रधानाध्यापक भएर सफलतापूर्वक काम गरेको उनले पुस्तकमा लेखेका छन् । उनले स्थापना र पढाएका सबै स्कुल नामकरण संस्कृति शब्दमा भएका छन् जुन नेपालका सबै जिल्लाहरुको मनोदशाको चित्रण गरेको छ । शिक्षक हुँदा शैक्षिक सामग्री खरिद गर्न सातुसामल आफै बोकेर ओयामदेखि मुसेपा, वारेकपुङ, खुङवा, एकतिन, पापुङदेन, लुवाफु, याङनाम, आकाशे, नाङगिन, जेभाले, लकङरुपा, बिखेचौर, नागीभन्ज्याङ, स्यालधोती, धारापानी, हाक्तीसुँडे, बरबोटे, बिप्ल्याँटे हुँदै ईलाम ओहोरदोहोर गर्दा उकालीओराली तेर्सो त्यो समयको पैदलयात्राको आजकालका युवाहरुको लागि मीठो दन्त्य कथा हुन सक्छ ।

सेलिङ परिवारमा सुब्बा सुभाङगीको गर्विलो इतिहासलाई लेखकले संस्मरणमा राम्रो स्थान दिएका छन् । २०२२ सालमा भूमि सम्बन्धी ऐन बन्नसाथ किपट अभ्यास अन्त भयो भनेर बुझ्नेहरुका लागि उनले गतिलो जवाफ दिएका छन् । किपट व्यवस्थाको अन्त्य भए पनि लिम्बुवानको विभिन्न जिल्लाहरुमा फरक-फरक समयमा नापी भए र नापी सम्पन्न नभएसम्म त्यस क्षेत्रका सुब्बाहरुले किपटको अभ्यास गरिरहेको प्रमाण भिमकुमार आफै हुन् । उनी आफैले पौ २०३१ सम्म हरेक वर्ष आफ्ना रैतिहरुबाट रकम संकलन गरी फिदिम मालपोत कार्यालयमा बुझाएर सुब्बा सुभाङीको बिट मारेका थिए ।

खाम्बोहाङ, इमेहाङ, फुङदुङहाङ, गर्भहाङ, लुङगुमहाङ, सोरेकहाङले सेलिङ पुर्खाहरुको हैसियत स्थानीय हाङसरह रहेको मौज्दात पुराना कागजातको प्रमाणसमेत उनले पेस गरेका छन् । उहिले भोट तिब्बतका फोप राजाकामा वर्षेनि तिरो बुझाउनु पर्थ्यो । त्यो समय कर बुझाउने नगद नहुँदा आफ्ना पुर्खाद्वय लुङगुमहाङ र सोरेकहाङले २४ वटा पांग्राको दाना (सिङचप्पा) बोकेर १५ दिन पैदल हिँडेर राजालाई दिएको तथ्यले त्यो समयको विनिमय प्रचलन र लिम्बुवानको राजनीतिक अवस्था बुझ्न सकिन्छ ।

भिमकुमारले पृष्ठ १० मा आफ्ना “सुखिमका राजा फुन्चा नाम्ग्यालले सन् १६४१ मा लिम्बुवानका तमोर याङवरक क्षेत्रका थुमहरु आफ्नो राज्यमा गाभेको” लेखेका छन् । यो भुटिया, लेप्चा र लिम्बूबीच Lho-Mon-Gtsong Sum त्रिपक्षीय सन्धि संकेत गरेको हुनुपर्छ । सुखिममा जमिनको कर बुझाउन १२ दिन हिँडेर गान्तोक गएको बाबुबाजेबाट सुनेका भिमकुमार आफैमा इतिहासको जीवित पात्र हुन् । यसले लिम्बुवानको आर्थिक सामाजिक सांस्कृतिक सम्बन्ध धेरैपछिसम्म तिब्बत र सुखिमसँग भएको पुष्टि गरेको छ ।

वि.सं. १९१० तिर चैनपूर अड्डाबाट पुर्खा जितनारायण र १९५३ मा आफ्नो बंशकै अर्का पुर्खा सुब्बा हाङदोरदिम्बाले राई लेखेको ईतिहास पर्दाफास गरेका छन । त्यो समयका हाम्रो पुर्खाहरुको नाम कसैले राई÷राय लेखेको र फौदसिंले वि.सं. १९९८ तेह्रथुम माल अड्डाबाट सुभाङगी बहालको प्रमाणले बिभिन्न समयमा प्रसाशनिक केन्द्र कता थिए भन्ने इतिहास बुझाउन सजिलो बनाएको छ । आफै जङ्गी निशानको हकवाला भिमकुमारले याङवरकका १६ थरी ५२ शुब्बाहरुले श्री जङ्गी निशान मागगरी सर्बप्रथम राज सुरेन्द्रबिक्रमशाहबाट निशान बुझी ल्याउने उनैका पुर्खा शुब्बा मतपालसिं सेलिङ लेखेका छन ।

विगत ४ सय वर्षमा लिम्बूहरुले तिब्बत, सुखिम, सेन, गोरखा र श्री ५ गरी जम्मा पाँचवटा सरकारलाई जमिनको कर तिरेका रहस्य खोतलेका छन । मसिक रु. ३५ मा जागिर थालेका भिमकुमारले यही पेशामा निरन्तर साढे चार दशक सेवा गरेर अवकास लिदापनि स्थानियहरुले बस्न दिएनन । उनलाई गुप्तेश्वरी माविको (२०६६–२०७३) व्यवस्थान समितिको भारी बाकााइयो । बिद्यालयको आर्थिक, भौतिक, तथा मानव संसाधन जुटाउने उनले गरेका श्रृङखलाहरुको अर्कै महाभारत लेख्नुछ ।

भिकुमार आफैले राममाया यवासंग १३ वर्षमै बिवाह, चकमक र झुलाले आगो पार्ने चलनलाई पुस्तकमा स्थान दिएर पुरानो समयको स्मरण गराएका छन । सामाजिक अभियन्ता उनकी जेठी छोरी लिला ‘लिलाहाङमा, माइला छोरा ओयामे माइला ‘छबिरमरण’र टंक टकुसेको नाम ‘टंकराज’भएको पाठकका लागि नयाँ खुराक भएको रहेछ । भिमकुमार आजिवन शिक्षा क्षेत्रमा लागेकै कारण होला उनको परिवारभित्र ७ जनाले मास्टर डिग्री पूरा गरेको र यो पुस्तक प्रकाशनपछि कान्छा छोरो टंकराज अमेरिकामा बिद्यावारिधि गर्ने अवसर मिलेको छ ।

बिवाह वरखीमा राँगो, सुँगुर ढाल्ने र छोरीचेलीको सुनौलीरुपौली लामो समयदेखि गर्दै आएको चलनले पुरै लिम्बुवान क्षेत्रमा परेको आर्थिक बोझ हटाउन आफ्नो गाउँ ओयाममा २०५६ मा चुम्लुङगरी अबदेखि यस्तो खर्च हुने भड्किलो संस्कति नगर्न सामाजिक सुधारका कार्य उनकै पहलमा सम्पन्न भएको पुस्तकबाट बुझ्न सकिन्छ । चक, डस्टर, ढुंगामाटो, पानी, पसिना, दिमाग पूरै जीवन शैक्षिक क्षेत्रमा अर्पण गरेका भिमकुमारले २०५२ तिरै आफ्नो बिद्यालयमा सिरिजङगा लिपि र याक्थुङ–पान पठपाठन सुरुवात गरेर याक्थुङ समुदायको निमित्त ऐतिहासिक काम गरे । उनले २०२५ तिरै सुखिममा कृषि भ्रमणगरी गाउँमा अलैची, सुन्तालजस्ता फलफूल खेती सुरु गरेका थिए । त्यो समय ढाकारमा ईलामसम्म पुर्याउदा १ मनको रु.१२० मा बिक्रि गर्नुपर्ने अलैची आजभोली घरैमा १ लाख ७ हजारसम्ममा उठाउन आउने देखेर दंग पर्छन ।

सरकारी जागिरबाट अवकास धेरै राष्ट्र सेवक संस्मरण लेख्छन । सबैले लेख्ने भनेकै मैले राज्यलाई यो दिए, त्यो दिएका बखान हो । तर लेखकहरु आफूलाई सेवावापत राष्ट्रले प्रदान गरेको मान दाम बिषय छुटाउछन । अरुसंग तुलना गर्दा सामन्य जागिरेहरुकै आर्थिक सामाजिक हैसियत उच्च हुन्छन र उनीहरुकै सन्तानहरुले राम्रो शिक्षा र जागिरको अवसर मिल्छ । यसमा भिमकुमारपनि चुकेकै होकि ?

परिवारसहित युकेमा रहेकी जेठीछोरी लिला र माइला छोरा छबीरमण र हङकङमा रहकी कान्छीछोरी अन्जुको मायाले तानेर श्रीमतीसहित हङकङ युके दुईपटक भ्रमण गर्दा देखेका रमाइला क्षणहरुलाई समेटेर पुस्तकको बीट मार्न खोजेका छन ।

मेमोरिज अफ अ गोर्खा वाइफ ड्युरिङ लकडाउन : लिला सेलिङ
विश्वव्यापी कोरना महामारीलाई युद्ध संत्राससँग जोडेर भिमकुमारकी जेठी छोरी लिलाहाङमाले अंग्रेजी संस्कणमा ”मेमोरिज अफ अ गोर्खा वाइफ ड्युरिङ लकडाउन”संस्मरण पुस्तकको रुपमा निकालेकी छिन् ।

सुंगुरजस्तो खोरमा कोचिएरे बस्नुपर्ने । महामारीमा मारमा आफैलाई कहिले भेट्छ, टुंगो छैन । छोराछोरी, श्रीमान, आमाबाबु, देशबिदेशमा रहेका आफन्त र साथीसहेली कसलाई कहिले महामारीले लान्छ, यस्तै सन्त्रासको दैनिकी डायरीको संगालो एउटा गतिलो पुस्तक भएर आयो ।

लकडाउन भएको दोस्रो दिन २४ मार्चको डायरीमा आफ्नै जीवनमा भोगेका विगतको घटनासंग जोडेर स्मरण गरेकी छिन । उनको जीवनमा सोही दिन २००३ तिर इराक युद्धमा भएको बम बिस्फोटन हुँदा त्यहा कार्यरत आफ्ना श्रीमान श्रीप्रसाद माबोको बिष्मृतिको पर्दा खोलेर चिहाउने प्रयास गरेकी छिन ।

लिला साना लालाबाला च्यापेर युकेमा एक्लै थिइन । डरलाग्दो बम विस्फोटनमा केही सेना हताहत भएको समाचार जतातते फैलियो । युद्ध मैदान गएपछि दुईहप्ता कुनै सम्पर्कमा नआएको श्रीमान । कति कोको परे र त्यँहा श्रीप्रसाद परे परे परेनन । एक्लै वस्दा स्थानियहरुबाट भोगेका दुव्र्यवहार ।

डायरी अपडेट गर्दैगर्दा लिलालाई विगत २ सय वर्षदेखि गोर्खा श्रीमतीहरुले भोग्दै आएको युमाहरुबाट सुनेको आफ्नै परिवार भित्रको बिस्मृतिको एउटा पीडादायी फल्यासब्याक यस्तो छः

प्रदेशबाट उनका बाजे ससुरा कनबीर माबो युद्धमा मारिएको खबर आयो । यता युमा पबिमाया दोजिया । पछि श्रीप्रसादका बाबु पूर्णबहादुर जन्मिए । पतिको लास आँखाले नदेखेपछि बिश्वास लागेन र बेपत्ता भएको सम्झेर घर फर्कने आशामा पबिमायाले पूरै जीवन पर्खेर बिताइन । किनकि त्यो समय युद्धमा मृत्यु हुने गोर्खाहरु कहाँ कसरी समाधि गरिए भनेर कुनै खवरखावर हुन्नथ्यो । मृत्युको खवर पाएर पछि केही लाहुरे जिउँदै फर्केका घटनाहरुपनि थिए । नेपाली युवाहरुलाई आफूखुशी प्रयोग गर्ने तर युद्धमा मृत्यु भएपछि परिवारलाई सही सूचना नदिएका कारण मृत्यु संस्कारसम्म नपाएको हृदयविदारक कथालाई लिलाले पुस्तकमा उतारेकी छिन ।

युद्धमा हिडेका प्रदेशीका पर्खाइमा बसेका हजारौंले आप्mना पतिलाई फेरि कहिल्यै देख्नसम्म पाएनन् । गाउँघरको अभाव र गरिवीसंग जुधेर आप्mना लालाबाला, सासुससुराको स्याहासुसार गर्दै अनन्तकालसम्म पर्खिरहे । कतिले सिउदो बगेर गएको त के सिंगो जवानी वितेर गएको आभाससम्म पाएनन् । महिलाहरुका वर्षौं एक्लो रात कसरी विते होलान । उता श्रीप्रसाद इराकको युद्धमा यता आफू युकेमा । त्यो समय आफ्नो समुदायका मान्छेहरु कमै थिए । न राम्रो भाषा नत चिनेजाने साथीसंगी । कोरोनाको संत्रासलाई गार्खा लाहुरे श्रीमतीको दर्दनाक कथाको संगालो हो मेमोसरज अफ अ गोर्खा वाइभ ड्युरिङ लकडाउन ।

लकडाउनले यात्रा, किनमेल, सामाजिक भेटघाट, जागिर, पढाइँ र दिनहुँ बिसौंहाजर मान्छे मरेका समाचार, डिगरले खनेर एउटै खाल्टोमा दर्जर्नौं पुरेको दृश्य, आफन्तको मृत्युलाई छुनसम्म नपाएको दृश्य आँखाले देख्दा गोर्खा सेनाले विगत दुई महा युद्धमा भोगेको इतिहास दोहोरिएको घटनाई जोडर लिला डायरीमा दिनहुँ लेख्छिन ।

लेखिकाले टेस्कोमा देखेकी एउटा भौंतारिएको भोको फ्याउराको मनोदशालाई मार्मिक तरिकाले उतारेकी छिन । लकडाउनका कारण मान्छेहरु बाहिर खान छाडे । ढ्वाङमा फ्याकिएका खानकुराबाट जिविका धान्ने फ्याउरोको भोको पेटको परिणाम लकडाउले मानव जाति मात्र नभई जंगली जिवजन्तुमासमेत प्रभाव पारेको चित्रण गरेकी छिन । झण्डै गाउँनै आगो लागाउने बच्चा हुँदा गरेको उप्रदोको रहस्य (पृः३४) हङकङमा रहेकी आमालाई सुनाउने संयोगपनि लकडाउन डायरी हुनगयो ।

मेमोरिज अफ अ गोर्खा वाइफ ड्युरिङ लकडाउनबाट बिदेशीहरुसमेत लोभिन थालेका छन । गएको अप्रिलमा लण्डन बुक फेयर प्रदर्शनमा स्थान पाइ सकेको यस पुस्तक न्युयोर्क, बेजिङ, फ्रैंकफर्ट, मेक्सिकोजस्ता अन्तराष्ट्रिय पुस्तक मेलाहरुमा प्रदर्शनीको लागि निम्तो आइ सकेको खबरले लिलालाई थप उत्साहति बनाएको छ । आधादर्जन गीतकी सर्जक उनको पछिल्लो ‘द भ्वाईस अफ नेपाल सिजन ४’बिजेता गायक करण राईको स्वरमा ‘सिमाना’म्युजिक भिडियो चर्चाको शिखरमा पुगेको छ ।

सुरुमा लकडाउनको छटपटिले सताएपनि लिलाले बिस्तारै आफ्नो जीवनलाई सिर्जनात्मक काममा सक्रिय राख्न थाल्छिन । आफै सामाजिक अभिन्यता र युनिभरसिटी अध्ययनपनि (ब्ल्याक साउथ एशियन माइनरिटी इथिक)े यसैमा मिलेकाले उनमा थप उर्जा मिल्न पुग्यो । आफ्नो प्रोजेक्टमा दिनहुँ हत्या, हिंसा, घरेलू हिंसा, बलात्कार, लागू औषधी, रंगभेद आदिजस्ता सामाजिक घटनाहरुको अध्ययन अनुसन्धानलाई उनले डायरीमा राम्रो स्थान दिएकी छिन । ग्रिनफेल टाआर आगलागि र अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोयड नियन्त्रणमा प्रहरीद्धारा गरिएको हत्या प्रकरण लेखिकाले आफ्नो अध्ययनको राम्रो मसला बनाएकी छिन ।

लकडाउनको नियम सबैलाई एउटै लागूभएपनि यसले निम्त्याएका समस्या र परिणाम बर्गीय थिए भन्ने वास्तविकतालाई पुस्तकमा समेट्न लेखिका कतै चुके जस्तो लाग्छ । लकडाउनमा हुने खाने बर्गका बच्चाहरु खेल्न नपाएको पीर, होलिडे रद्ध भएको आक्रोस, फाईभ स्टार होटेलमा छोरीको बर्थडे क्यान्सलको पीडा थियो भने ज्यालादारीमा काम गर्ने मजदूर बर्गहरुको नोकरी गुमेर भोकभोकै हिडेको, घरमा इन्टरलेट राख्न नसकेर बच्चाहरुहरुले अनलाइन क्लास छुटेका, ब्यपार घाटाले आत्महत्यालगायत घरेलु हिंसामा बृद्धि र महिलाको हत्यासमेत यवात घटनाहरु आउनुपथ्र्यो । लखपतिहरु करोडपति र गरिब झन कंगाल बनाउने बर्गीय चरित्रको महामारीको उचित मूल्यांकन भएनकि ?

लिलाले एक ठाउमा आफ्ना पुर्खाले २६४ वर्ष पहिले पृथ्वीनारायण शाहबाट निशान प्राप्त गरेको तथ्य आफ्नै पिता भिमकुमारसंग बाझियो । पुराना लेखोट हेर्दा यो निशान प्राप्त १७० वर्ष भन्दा पहिले प्रमाणित हुन सक्तैन । पृष्ठ ११० र १५१ मा अनुसन्धानको विवरण अक्षरस एउटै हुन गएको छ । २५२ पेज मोटो पुस्तकको मूल्य नराख्नुको जवाफ आउनै पर्छ ।

विगत दुई सय वर्ष गोर्खा भर्तीले लाहुरे परिवार, समाज र नेपाली माटोले भोगेका तर लुकेर बसेका दर्दानाक पीडालाइ ‘लाहुरेनी पीडा’कविता संग्रह प्रकाशित गरेर लिला सफल स्रष्टाको नाम दर्ता सकेकी भएकी लेखिका हुन । समग्रमा आफै युनिभरसिटीको फुलटाईम विद्यार्थी, जागिर, समजसेवा, राजनीति र तीनजना स्कुले बच्चाको हेरचाहारलाई लकडाउनको दैनिकीले एउटा लाहुरेनी आमाले कसरी काम गरिन भनेर यो पुस्तकबाट पछिका मान्छेहरुले प्रसश्त सिक्ने छन् । अंग्रेजी भाषा सरल र पठनीय उतारेकी छिन् ।

प्रस्तुति : कृष्णकुमार हेम्ब्या ‘कुवाकुजा’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!