लन्डन । हरेक वर्ष हुँदै आएको भानुभक्त जयन्ती र सुन्दरप्रसाद मानन्धर ‘सुप्रमा’ पुरस्कारको वितरण समारोह २८ जुलाईमा आबिवुड लन्डनस्थित दक्षिण–पूर्व क्षेत्रीय तमुधिं लन्डनको सभाकक्षमा सम्पन्न भएको छ ।
अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरका अध्यक्ष सुमलकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, विशिष्ट अतिथि सुप्रमा पुरस्कारका प्रायोजक जानकी मानन्धर, अनेसास केन्द्रीय उपाध्यक्ष तथा अनेसास युरोपका अध्यक्ष डा.रुपक श्रेष्ठ तथा अतिथिहरूमा प्रतिभा प्रतिष्ठानका कोषाध्यक्ष देवेन्द्र खेरेस तथा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष दुर्गाप्रसाद पोखरेल उपस्थित थिए । कार्यक्रमलाई संस्थाका महासचिव सन्तोष कार्कीले सञ्चालन गरेका थिए । सभाध्यक्ष, प्रमुख अतिथिलगायत अतिथिद्वारा सामूहिक रुपमा द्वीप प्रज्ज्वलन गरेर कार्यक्रम प्रारम्भ गरिएको थियो । प्रत्येक वर्ष मनाउने भानुजयन्तीमा सुप्रमा पुरस्कार संस्थापक, बेलायतका नेपाली साहित्यका आदिकवि स्व.ईश्वरप्रसाद मानन्धरको पनि जन्म जयन्ती अनेसासद्वारा मनाउँदै आएको छ ।
कार्यक्रमलाई संस्थाकी उपाध्यक्ष लारा (लक्ष्मी थापा राई)ले आभार व्यक्त गर्दै सहभागीहरूलाई स्वागत गरेकी थिइन् । भानु, ईश्वरप्रसाद मानन्धर र सुप्रमा पुरस्कारबारे डा.रुपकले सम्बोधन गरेका थिए । सभाध्यक्षले अनेसासको संक्षिप्त इतिहास पावर प्वाईन्टमार्फत प्रकाश पारेका थिए ।
पाँचौ सुप्रमा पुरस्कार समाजसेवी तथा वरिष्ठ साहित्यकार, त्रिविका लेक्चरर, पूर्वकिरात राई यायोक्खा केन्द्रीय अध्यक्ष, सुमाया राईलाई उनका कृति ‘अव्यक्त अभिव्यक्ति’ कवितासङ्ग्रहका लागि प्रदान गरिने घोषणा अध्यक्षले गरेपश्चात पुरस्कृत कृतिबारे संस्थाकी उपाध्यक्ष लाराले प्रकाश पारेकी थिइन् ।
प्रमुख अतिथि, पुरस्कार प्रायोजक जानकी मानन्धर तथा संस्थाका अध्यक्षद्वारा खादा, पुष्पगुच्छा, पुरस्कृत रकम, तथा सम्मानपत्रद्वारा सुमाया राईलाई सम्मान गरेका थिए ।
अध्यक्ष गुरुङले सम्मान पत्र पढेर सुनाएका थिए । पुरस्कार विजेता सुमाया राईले आफूलाई सम्मानित गरेकोमा सिर्जनाप्रति थप जिम्मेवारी बढेको मन्तव्य राखे की थिइन् ।
त्यसपछि कविता वाचनको क्रम प्रारम्भ गरिएको थियो । कविता वाचन गर्नेहरूमा क्रमशः लारा, रामकाजी कोने, दुर्गाप्रसाद पोखरेल, माया गुरुङ, सन्तोष कार्की, सचिन गुरुङ, राज श्रेष्ठ, रेखा खरेल, सारा गुरुङ, सुमलकुमार गुरुङ, प्रतिमा मानन्धर, डा. सुनिल बुढाथोकी र सेमान्त राई आदि थिए ।
कार्यक्रममा सेमन्त राईले मीठो बाँसुरीको धुन प्रस्तुत गरेका थिए तथा रिदम खरेलले एउटा गीत प्रस्तुत गरेकी थिइन् ।






