गौरी तमु
संस्कृतिका धनी गुरुङ समुदायको आफ्नै धर्म, संस्कार र चाडपर्वहरु छन् । गुरुङहरु अन्नपूर्ण मनास्लु, हिमचुली पहाडको दक्षिण पहाडका क्षेत्र हु“दै नेपालको पूर्वी पहाडका धेरै ठाउ“मा र केही“ संख्यामा भुटान, सिक्किममा समेत छरिएर रहेका छन् । आफू जन्मेको थातथलो छोडेर गाउँबाट सहर र सहरबाट विदेश पलायन हुँदै गर्दा यो समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिहरु पनि हराउँदै गएका छन् । क्होइबो धिं, गुम्बा धिं र घाँटुबाहेक पो धीं, न्हे धिं, रोधींलगायत धेरै चाडपर्वहरुको अहिले अवशेषहरु मात्रै बाँकी छन् । अहिलेको पुस्तालाई रोधीं, घाँटु के हो भनेर बुझाउन पर्यो भने किताबहरु र यूट्युबतिर सर्च गर्न लगाउनुपर्ने अवस्था सिर्जना भएको छ । यसैबीच, गुरुङ संस्कार र संस्कृतिहरुलाई समेटेर गीतकार एवम् संस्कृतिकर्मी एकेन्द्र गुरुङद्वारा लिखित ‘मनका तर¨हरु’ र ‘धर्तीमा जून’ गीतसङ्ग्रह बजारमा आएको छ । एकेन्द्र गुरुङद्वारा लिखित मनका तर¨हरु पुस्तक गुरुङ समुदायको संस्कार र संस्कृति नियाल्ने आँखी झ्याल हो भने धर्तीमा जून गीतसङ्ग्रह उनको व्यक्तिगत स्वभावको प्रतिबिम्ब हो ।
पुस्तक : मनका तरङ्गहरु (लेखसङ्ग्रह) 
लेखक : एकेन्द्र गुरुङ
प्रकाशक : गुरुङ साहित्यिक मञ्च, नेपाल
पृष्ठ : १५५, मूल्य : रु.३००
प्रकाशित : २०७५, वैशाख
बेलायत निवासी जुमकाजी गुरुङ, मे.श्री डम्मर घले, रामचन्द्र गुरुङ (सुर्जे), हितकाजी गुरुङ र मिलन तमुको सहयोगमा गुरुङ साहित्यिक मञ्च नेपालद्वारा प्रकाशित एवम् गत वैशाख १० गते गुरुङ साहित्यिक मञ्च नेपालद्वारा पोखरामा आयोजित कार्यक्रममा प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा लोकार्पित उनका दुई कृतिहरु मनका तर¨हरु लेखसङ्ग्रह र धर्तीमा जून गीतसङ्ग्रहमध्ये मनका तर¨हरुमा क देखि च खण्डसम्म ३७ शीर्षकका लेखहरुलाई संस्कृति, साहित्य÷सङ्गीत, व्यक्ति÷व्यक्तित्व, अधिकार र सम्भावना, घुमघाम र संघसंस्था गरी ६ भागमा बाँडिएको छ ।
पुस्तकमा तमु र गुरुङको परिभाषासहित जन्मदेखि मृत्युसम्मका संस्कार, संस्कृतिहरु समेटिएका छन् । गुरुङ समुदायमा पुत्रलाभ भएपछि मावलीहरुले नाच्ने पुटपुटे, फुपू चेला र मामा चेलीबीच हुने विवाह, विवाहमा हुने क्रमु तेना प्रक्रिया (छ सुकी बुझाउने) दुलाहा घरमा नहुँदाको अवस्थामा घरको मूल धूरी खाँबोसँग टीकाटाला गरी दुलही भित्र्याउने उहिलेको रोचक चलनदेखि गुरुङ संस्कृतिमा रहेका विभिन्न प्रकारका धिं अर्थात् घरहरुको को चिनारी त्यसमध्ये पनि रोधींमा गरिने विविध कार्यक्रमहरुलाई अत्यन्तै रोचक तरिकाले उल्लेख गरिएको छ । मनका तरङ्गहरु पढ्दै गर्दा यस्तो लाग्छ पाठक पनि लेखकसँगै गुरुङ बस्तीमा पुगेर गुरुङ संस्कार र संस्कृतिमा रमाइरहेको छ । गुरुङहरुले वर्षको दुईपटक मनाउने ट्होटे पर्व, बुद्व जयन्ती, छ्याडु(सेर्गा), गुरुङ भाषाको गीत, चलचित्रदेखि गुरुङ समुदायमा योगदान दिएका आधा दर्जन बढी व्यक्तिहरुको चिनारी, खण्ड घ मा आदिवासी जनजातिका अधिकार र सम्भावनाका प्रसङ्गहरु पनि पुस्तकमा समेटिएको छ ।
लामो समय नेपालमै शिक्षण पेसामा आबद्व रही हाल बेलायतमा रहनुभएका एकेन्द्र गुरुङले पुस्तकमा घरदेशदेखि परदेशसम्मका यात्रा अनुभूतिहरुसँगै विभिन्न संघसंंस्थाको योगदानहरुलाई पनि समेटेका छन् । पुस्तकको लेखकीय भूमिकामा उनले लेखेका छन्, ‘जिन्दगी एकै ठाउँमा पनि नअडिने रहेछ । आफ्नै गाउँबस्तीका कलिला मस्तिष्कमा चेतनाको (शिक्षण) दियो बाल्दाबाल्दै पाइला परदेशतिर मोडिए । यतिखेरको मेरो कर्मभूमि सभ्यताको देश बेलायत भएको छ । जिन्दगीको यो मोडमा मेरा सबैभन्दा भरपर्दा साथी भने कापी–कलम नै बने । गीत लेख्नु र गुनगुनाउनु मेरो सानैदेखिको सोच र सोख थियो । मलाई साहित्यिक बनाएको मेरै माटोले हो ।’ उनको यो भनाइ पढिरहँदा उनलाई साहित्यिक यहीँ माटोले बनाए पनि सिर्जना गर्ने र लेख्नैपर्ने वातावरण चाँहि बेलायतले सिर्जना गर्यो ।
सानैदेखि गाउन, बजाउन र नाँच्न रुचाउने एकेन्द्र गुरुङले अभियान फिल्मस् प्रा.लि.का स्व. लोकबहादुर गुरुङ र वेदबहादुर गुरुङसँगको भेटपछि गुरुङभाषी चलचित्र क्रमु (पछ्यौरी)को माया खईमो बोलको पहिलो गीत रेकर्ड भएपछि अन्य गुरुङ चलचित्रमा निरन्तर गुरुङ गीतहरु लेख्न थाल्नुभयो ।
एकताका पोखरा र यस आसपासका कार्यक्रमहरु हुँदै परदेशसम्म गुरुङ भाषाको गीत भए पनि नेपालीभाषी स्रोतामाझ धेरै बज्ने एउटै गीत थियो ‘रिमै थुमै प्रेतना रोधिंरी’ । भाषा नबुझे पनि नेपाली भाषी स्रोताहरुले धेरै मन पराउने यहीँ गीत अहिले तृष्णा गुरुङले कभर सङको रुपमा गाएपछि युट्युबमा निकै चर्चामा रहेको छ । यिनै एकेन्द्र गुरुङले गाउँघर, देश, परदेश, जाति, संस्कृति, माया प्रेम र सुखदुःखका विविध भावहरुलाई गुरुङ–नेपाली भाषाका २० गीतहरु र नेपाली भाषाका अन्य ८५ गीतहरुमा समेटेर ‘धर्तीमा जून’ नामक गीतसङ्ग्रह बजारमा ल्याएका छन् ।
गीतहरुमा उनले आफ्नै गाउँका उकाली–ओराली, भञ्ज्याङ चौतारी, गामबेंसी, मेलापात, रोधीं, देउसी, भैलो, ल्होसार, पानी पधेंरो हुँदै रेलमा गुडेको, पानी जहाज र हवाई जहाज चढेको अनुभूतिलाई सरल र सहज रुपमा प्रस्तुत गरेका छन् ।
रेकर्ड गरिएको भन्दा धेरै रेकर्ड गर्न बाँकी यस सङ्ग्रहका २० वटा गुरुङ गीतहरुलाई नेपाली भाषामा समेत अनुवाद गरिएकोले गुरुङ गीत, सङ्गीत र भाषा सिक्न र बुझ्न चाहनेहरुका लागि यो कृति महत्वपूर्ण हुनेछ भने अन्य ८५ वटा नेपाली भाषाका गीतहरुले गीतकारको परिवेश र गुरुङ संस्कृतिलाई नजिकैबाट नियाल्नका लागि सहयोग गर्नेछ ।
पठन, लेखन र प्रकाशनमा पछाडि रहेका गुरुङ समुदायमा पछिल्लो समय आशाको किरण देखिएको छ । गुरुङ लेखकहरुले वर्षेनी पुस्तकहरु प्रकाशन गर्ने क्रम बढेको छ । यो वर्ष पोखरामा मात्रै आधा दर्जन बढी गुरुङ लेखकहरुका पुस्तक लोकार्पण भए । तीमध्ये कतिपय विशुद्व नेपाली साहित्य सम्बद्ध थिए भने कतिपय गुरुङ भाषा र संस्कार संस्कृतिमा आधारित थिए । एकेन्द्र गुरुङद्वारा लिखित दुई पुस्तकहरु गुरुङ गीत, सङ्गीत, संस्कार र संस्कृति समेटिएको गुरुङ समुदायको महत्वपूर्ण दस्तावेज हुन् भन्दा फरक नपर्ला ।

पुस्तक : धर्तीमा जून (गीत सङ्ग्रह )
लेखक : एकेन्द्र गुरुङ
प्रकाशक : गुरुङ साहित्यिक मञ्च नेपाल
पृष्ठ : १२८, मूल्य : रु. २००
प्रकाशित : २०७५, वैशाख






