जीवन भोगाई स्वीकारोक्ति ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’

SHARE:

साहित्य पढ्ने रहर उहिल्यै हराइसक्यो । उमेरसँगै सूचना, इतिहास, मुन्धुमले तान्छ । चिनजानकै स्रष्टा जानु काम्म्बाङले कोसेलीस्वरुप ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’पठाइदिएपछि कुटुम्बाको कोसेली इन्कार गर्न याक्थुङ संस्कृतिले दिएन । कोसेली पोको खोलेर हेर्दा थाहा भयो ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली‘ नियात्रासंग्रह रहेछ ।

आफ्नै जीवन यात्रालाई १८ शीर्षक दिएर आफूले देखेका र भोगेका घटना जीवन वृतान्तको ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ नियात्रा पुस्तक संग्रह बन्न पुग्यो । आधा घर (तीस वर्षमा माइत गाउँ, तमोरका सुसेली सुसेल्दै, मावल गाउँको स्पर्श, आफ्नै देशमा ‘होलिडे’ कि ‘ब्याड–डे?, एकैदिन झापा शरीरको लखतरान, एक्लै दिड्दा दास्ती, खोक्लिङको लंकै पिँडालु, आमाका’पेन्सनपट्टा बनाउँदाको दुःख, मौसम बदलिए पनि मेरो मन बदलिएन) र आधा प्रदेश (आमाबाबुसँग नेदरल्याण्ड, लण्डन टु मिडी, दुईदिने हङकङ यात्रा, घुमेर नअघाइने फ्रान्स, जर्मनीको धराहरा, नलाहुरेनी स्रष्टा, बेलायतमा मेरा शनिबार, आइतबार, हुङहम पारि घुमघाम, फ्लाईन्र्स फिल्डमा गोर्खाली छन् ।

समय र परिवेशअनुसार सबै नियात्रा लोभलाग्दा र अब्बल लाग्छन् । तीस वर्षमा माइत गाउँ, तमोरका सुसेली सुसेल्दै र मावल गाउँको स्पर्श अघिल्ला तीनमा स्रष्टाले आफ्नै विगतको निर्मम समीक्षा गरेकी छिन् ।

टीन इज नउक्लिँदै आफ्नो गाउँ इखाबूबाट तीन पाथी कोदो ढाकारमा बोकेर छिरुवानी, तापेथोक, सिसाङबा, फेम्बु, याङसिङबुङ, ताप्मवा खोला, सेजृङ, लुङथुङ, हेल्लोक, मर्गम, लेलेप, साँघू, सेखाथुप, किसङ, चङगिम, फले तमोर करिडोर उकाली ओहली पालामी भाकामा सुसेली हान्दै हप्ता दिन घुन्साबाट १२ पाथी आलु साटेर ल्याएको ‘तमोरका सुसेलीमा सुसेल्दै’ जानुको बाल्यकालको यादगर सिर्जना हो ।

‘लण्डन टु मिडी’ बिदेश यात्रामा बेल्जियमका भाइलाई मनपर्ने तोङबा (कोदोको छोक्रा), रायोको साग लगेजमा कोसेली बोक्नु बाध्यता नभइ माइतीप्रति माया र अनुराग थियो । ‘दुई दिने हङकङ यात्रा’ मा धेरै वर्ष पहिले हङकङको एउटा कन्स्ट्रक्सन कम्पनीमा काम गर्दा आधा घण्टे ब्रेकमा लुकाइलुकाई कप नुडल्स, सिन्कामा उनेर उसिनेको स्युमाई, फिसबल, क्यान बिअर, कोकदेखि कम्पनिले फ्याँकेका तामाका तार र कार्टुन बक्ससमेत बेचेको घटनालाई लेखिकाले लाज नमानि सहजै ओकल्नु सफल भएकी छिन् ।

बाजे, बजु, मामा, माईजु जीवित नभए पनि तीस वर्षपछि जानुलाई मावली गाउँको चुम्बकले तानेर ‘मावला गाउँको स्पर्श’ ले माथि फेम्बु पुर्‍याउँछ । हुन पनि उनी यही जन्मिन । जानुमात्र होइन, उहिले हरेकका पहिलो सन्तानको जन्म मावली घरमा नै हुने याक्थुङ संस्कार थियो । जुवाई खलक हुनेखाने भए पनि छोरी चेलीको मायाले माइतीमा नै सुत्केरीको राम्रो स्याहार हुने बिश्वास हो ।

जानु जन्मे हुर्केको गाउँ इम्बिरी याङधङवा सेरोफरो याक्थुङ सभ्यताको उद्गमस्थल मानिन्छ । उनले मुन्धुमको केही महत्वपूर्ण भागलाई न्यायपूर्ण स्थान दिएकै कारण पाठकलाई लोभ्याउँछ । अझ इखाबु त पहिलो याक्थुङ पुर्खा मुजिङना खेयङना उत्पति ऐतिहासिक पाङभे । अदृश्य शक्ति तागेरा निङवाफुमाको परिकल्पना अनुसार पोरोक्मी यम्फाबीलाई मानव सृष्टिको जिम्मा दिइन् । उनले बालुवा, ढुंगा, माटोको लेऊ, शीत र वर्षको पानी, मालिङगो बाँसको खरानीजस्ता इम्बिरी याङधङवा सेरोफेरो उपलब्ध प्राकृतिक बस्तुहरुको अनेक परीक्षण र प्रयत्नबाट पहिलो मानव मुजिङना खेयङना बनाए । जवानीले मात्तिएकी मुजिङना खेयङना अन्तत हावाको संसर्गबाट यौन तृष्णा मेटिन र उनैबाट जन्मेका सन्तानले पूरै याक्थुङ लाजे ढाकेको मुन्धुमलाई नियात्राको पहिलो भाग ‘तीस वर्षमा माइत गाउँमा’ मा सानदार स्थान दिएकी छिन ।

इम्बिरी याङधङवा अर्थात् तमोर खोलाको तिरको कुनै रुखमा चढेर मुजिङना खेयङनाले सुसेली हान्दा हावा चल्यो र गर्भधारण गरिन; र नै मानव सभ्यताले निरन्तरता पायो । हावाबिना मानव जाति जिवजन्तु बनस्पतिको अस्तित्व छैन । तमोर युगौंयुगदेखि आफ्नै भाकामा सुसेली मार्दै निश्चल गतिमा निरन्तर बगिरहेको छ । तमोरका सुसेलीमा याक्थुङ जातिका सृष्टि र सभ्यता मुन्धुमी ज्ञान खोज्न अझै इम्बिरी याङधङवा जानैपर्ने सन्देश यो कृतिले दिन खोजेको छ ।

निश्चय नै ताना शर्माको झर्रावाद छापले जानुको कृतिमा थप चमक दिएको छनै । तर बाध्यताले सडकमा मागिखानेहरुलाई भिखारी, बोल्न नसक्नेलाई लाटी, हङकङकी रखबारी दिदी शब्दहरु अस्वाभाविक लाग्छन् । आफ्नो श्रीमानको नाम पछाडी ‘जी’नजोडिएको भए हुने थियो । नियात्रामा जन्मघर मावली, धरान, झापा, काठमाडौं हुँदै हङकङ, युके, बेल्जियम, फ्रान्स जीवन यात्राका तितामिठा सबै यादगर पलहरु समावेश छन् । तर लेखिकाको आफ्नै कर्मघर साप्लाखु छुटिनलाई हामी पाठकमा प्रश्न उठेका छन् । अर्को जति नै ग्लोरिफाई गरे पनि बिजयपुर याक्थुङ समुदायको गौरवको बिरासत हुन सक्तैन । बाहिरिया हिन्दूवादी यहीबाट हाम्रा पुर्खाहरुलाई शासन गर्न थालेपछि हाम्रो बास्तविक इतिहासको मृत्यु सुरु भएको थियो ।

स्रष्टा जानु काम्बाङको अहिलेको स्थायी बासस्थान यूके हो । प्रदेशमा पटक पटक माइती भेट्न बेल्जियम जाँदा उनले त्यहाँको समृद्धि र बिकासको धेरै ठाउँमा चर्चा गरेको पाइन्छ । राजा लियोपोल्ड द्वितीयले अफ्रिकी मुलुक कंगोमा गरेको लुट र मानव नरसंहारलाई त्यहाँको समृद्धिलाई जोडेको भए कथाको परिदृश्य अर्कै हुने थियो । एक ठाउँमा मृत्यु भइसकेको बाजेबजुहरु खुशी होलान् ‘स्वर्गमा’भन्ने शब्द छ । याक्थुङ मुन्धुमले स्वर्गको कल्पना गरेको छैन । बरु मृत्युपछि सबै पुर्खाहरुसँग मिल्ने मुन्धुमी विश्वास हो ।

समग्रमा जीवन भोगाई स्वीकारोक्तिको दस्तावेज हो फ्लान्डर्स फिल्डमा तमोरका सुसेली । लेखिकाले ठेट गाउँले नेपाली भाषा ठाउँ–ठाउँमा याक्थुङ, अंग्रेजी, क्यान्टोनिज मिसाएकी छिन् । घटना, पात्र विषयवस्तु छनोट र यसको संरचनात्मक स्वरुप, व्याख्या र बिश्लेषण सरल र सुन्दर छन् । लेखन कला शब्द चयनमा पारिजात, ताना शर्मा, बानिरा गिरी शैली र स्वाद पाइन्छन् ।

साहित्य विधामा आत्मकथा, संस्मरण, नियात्रा, निबन्धको स्वाद फरक कहिल्यै छुट्याउन नसक्ने म मुलाङ । तर पनि ताना शर्माको …बेलायततिर बरालिँदा, पारिजातको ‘धुपी सल्ला र लालीगुराँसको फेदमा’ हुर्केका मेरो पुस्ता अहिलेको साहित्यले छुनै सक्तैन । आफ्नै डम्फुमात्र बजाएर लेखिएका केही चिनेजानेकै साथीहरुको नियात्राले हैरानी भोगेको मलाई जानु काम्बाङको फ्लान्डर्स फिल्डमा तमोरका सुसेलीले केही राहत दिलायो । विदेशमा पैसा कमाएपछि आफ्नो विगत बिर्सेर रमाउने लेखकीय परम्पराको क्रमभंग गर्न जानुले ठूलै आँट इमान्दारिता देखाइन् । यही आत्मबिश्वासले उनलाई सफल सर्जक भन्न सकिन्छ ।

समग्रमा नियात्राको सबल पक्ष भनेकै सर्जकको इमान्दारिता हो । लुङथूङे राई, लुङधुङगेनी तुम्मा, श्रीमाने बाजे, खेचाने तुम्बा, दन्डु मास्टर, पैराने कान्छा, नुनभुटुन, सातुचामल, बरपिपल जोडी, चौतारा, अलैचीबारी, ढाकार तोक्मा, मावलीघर, तेङवा, नुक्वा, थिक्वा, हेङवा, खक्सेवा नियात्राका आकर्षक र लोभलाग्दा पात्रहरु छन् । कुनै निश्चित यात्रामा निस्केका एकजना यात्रुले देखेका घटना र अनुभवको यात्रास्मरण मात्र नभएर जानुले जीवनमा प्रत्यक्ष भोगेका, सम्बन्धित ठाउँको सभ्यता, संस्कृति, बिकृति, ज्ञानविज्ञान, अनुभव, प्रकृति, बिकासलाई संश्लेषणात्मक अभिलेखको रुपमा फ्लान्डर्स फिल्डमा तमोरका सुसेलीमा प्रस्तुत गरेकी छिन् ।

मावली फेम्बुहरुको चिहानघारी आसपास माने डाँडा रहेछ । यता माने डाँडाको रंगीविरंगी गुँरासहरुसँग हास खेलमा रमाइरहेका छन् यहाँका याक्थुङ पुर्खाहरु । उता प्रदेशमा बेलायती स्वार्थको लागि लड्दालड्दै मृत्यु हुनेहरुले बेल्जियमको फ्लान्डर्स फिल्डमा बेहिसाब पुरिन पुगे । नियतिले व्यक्तिको मृत्युपछि पनि सांस्कृतिक अधिकार गुमाएका सयौं आफ्ना पुर्खाहरुको समाधिस्थलमा भक्कानिएको मनले पपि फूल राखेर नियात्राका’ बीट मारेकी छिन् ।

आख्यानकी खानी जानु काम्बाङले, छ वर्षबीच छवटै पुस्तक लिएर आइन् । शिविरमा ईश्वर (कवितासंग्रह–२०७२), अनुभव (गीति एल्बम–२०७२), नउघ्रेको जुन (कथासंग्रह–२०७५), जानु (गीति एल्बम–२०७५), आँसुको लय (गीतिसंग्रह–२०७६) र पछिल्लो फ्लान्डर्स फिल्डमा तमोरका सुसेली (नियात्रा–२०७८) ।

आवरणमा आत्मकथा, संस्मरण वा नियात्रा जे नाम दिइए पनि पढ्दै जाँदा म आफैलाई यसै कथाको जीवन्त पात्रजस्तो लाग्छ । माथि इम्बिरी याङधङवा सेरोफेराका जानु काम्बाङका लगौटी दौंतारीहरुले धान नाच्ने निम्तो कार्ड पठाएजस्तै भयो ।
प्रस्तुतिः कृष्णकुमार हेम्ब्या ‘कुवाकुजा’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!