एटा संवाददाता
लन्डन । पाल्पाली भञ्ज्याङ युकेको वार्षिक भेला सम्पन्न भएको छ । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा फेलथाम स्पोर्ट्स कलेज, लन्डनमा पाल्पालीको कार्यक्रम भएको हो । संस्थाका अध्यक्ष बमबहादुर सुर्यबंशी मगरको अध्यक्षतामा भएकोे कार्यक्रम महासचिव खोम कुँवरले सञ्चालन गरेका थिए ।
चेलीबेटी, पाल्पाली गरी ३५० जना सहभागी कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष बाचस्पति रेग्मीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा राजदूत सुवेदी, बेलायती सेनामा उच्च पदमा पुगेका लेफ्टीनेन्ट कर्णेलद्वय याम राना र टोल खाम्चाले शुभकामना मन्तव्य राख्दै पाल्पाली समाज युकेको सफलताको कामना गरेका थिए । बेलायती युनिभर्सिटीबाट पास भएका पाल्पालीका छोराछोरीहरुमा ४ जना एमबीबीएस, ३ जना बिएस्सी नर्सिङ र एकजना मास्टर्स इन फार्मेसीलाई राजदूत डा. सुवेदीबाट सम्मान गरिएको थियो । कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारलाई पनि सम्मान गरियको थियो । लोकदोहोरी गायिका जयालक्ष्मी छन्त्याल पुन, लोकदोहोरी गायक बालचन्द्रद्रबराल र गायिका सुशीला गौतमको बेजोड प्रस्तुतिले सांगीतिक साँझ उल्लासमय बन्यो ।
महिला संयोजक लक्ष्मी थापाले सञ्चालन गरेको राफलमा विभिन्न ५ पुरस्कार प्रदान गरिएको थियो । प्रथम पुरस्कार एक तोला सुन थियो । संरक्षक ऋषिराम राना, मेजर ज्ञान ढेगा, बारीस्टर देवेन्द्रद्रश्रेष्ठ, गोरखाली समाजका अध्यक्ष कर्ण दर्लामी मगर, संस्थाका सल्लाहकारहरु निदीराज थापा, बिसन थापा, विष्णु श्रेष्ठ, उपाध्यक्ष गोपाल थापालगायत कार्यसमिति सदस्यहरु र आमाबाबा, दाजुभाइ, दिदीबहीनीहरुको बाक्लो उपस्थिति र कार्यक्रम उल्लासमय भएको पाल्पाली भञ्ज्याङका वरिष्ठ उपाध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए ।






