एजेन्सी ५ अक्टुबर २०२३ ।

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक युन ओलाफ फोसालाई दिने घोषणा गरिएको छ ।
नोबेल पुरस्कार समितिले ‘व्यक्त गर्न नसकिने कुरालाई उनले नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गरेकाले’ फोसालाई साहित्यतर्फको पुरस्कार दिन लागिएको हो ।
आफ्नै शैलीमा आख्यान लेख्ने फोसाको शैलीलाई ‘फोसा मिनिमलिज्म’ भन्ने गरिएको छ। फोसाले पुरस्कार पाउँदा आफू अभिभूत भएको र अलिकति डर लागेको प्रतिक्रिया दिएका छन् ।
सन् १९५९ मा जन्मिएका फोसाका ४० वटा नाटक, कैयौँ उपन्यास, निबन्ध, बालबालिकाका लागि लेखिएका पुस्तक र अनुवादहरू प्रकाशित छन् । आगामी डिसेम्बरमा आयोजना हुने विशेष समारोहमा उनलाई पुरस्कार प्रदान गरिनेछ ।
यसअघि नोबेल पुरस्कार समितिले सन् २०२३ को चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रतर्फका विजेताको घोषणा गरेको थियो । भोलि (शुक्रवार) शान्तिका लागि र आउने सोमवार अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिनेछ ।






