एटा संवाददाता
अल्डरसट । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा गत आइतबार १२ अगस्टका दिन जीआरएनसीको साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले सो क्षेत्रमा रहेका नेपाली संघसंस्थाहरुलाई समेट्नका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ ।
रसमुर क्षेत्रका नेपालीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा कम्युनिटीका महासचिव मान गुरुङले पावर पोइन्टमार्फत वार्षिक र कोषाध्यक्ष टोप पल्लीले आर्थिक प्रतिवेदन प्रस्तुत् गरेका थिए ।
कम्युनिटीका अध्यक्ष जीब बेल्वासे र जेष्ठ नागरिक वीरबहादुर थापाले संयुक्त दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको साधारणसभामा कम्युनिटीका महिला उपसमितिकी उपसंयोजक सुष्मा गुरुङले आगामी मार्चमा एनआरएनए युके र एसियन महिला एशोसिएसनसँग संयुक्त रुपमा अन्तर्राष्ट्रिय महिला दिवसलाई मनाउने निश्चित गरिएको जानकारी दिइन् । त्यस्तै, उपाध्यक्ष नेम थापाले आगामी २० सेप्टेम्बरका दिन हुन लागेको ‘इन्फरमेशन डे’ अर्थात् जानकारी दिवस, लागूऔषध दुव्र्यसन र युवाहरुको खेलकुदको बारेमा बोलेका थिए ।
कम्युनिटीका अध्यक्ष जीब बेल्वासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रामधन राईले जेष्ठ नागरिकहरुका लागि गरिएको सहयोगबारे जानकारी दिए । त्यस्तै, कल्चरल सेक्रेटरी दिनेश गुरुङले आगामी वर्ष नृत्य प्रशिक्षण गराउन नयाँ प्रशिक्षकको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
दुई चरणमा बाँडिएको कार्यक्रमको दोस्रो चरणमा बुद्धिष्ट कम्युनिटी सेन्टर युकेका अध्यक्ष ले.रि. नारायणप्रसाद गुरुङ, ले.रि. यादव गुरुङ, मगर संघ रसमुर शाखाका अध्यक्ष लेख राना, गेसोका उपाध्यक्ष जंगबहादुर गुरुङलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको विशेष उपस्थिति रहेको थियो । सो अवसरमा जीआरएनसी र उनीहरुबीच आगामी कसरी समन्वय गरी संयुक्त रुपमा अगाडि बढ्न सकिन्छ भन्ने बारेमा व्यापक छलफल भएको थियो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रामधन राईले स्वागत मन्तव्य प्रकट गरेका थिए भने महासचिव मान गुरुङले हेल्थ एन्ड सेफ्टीको जानकारीसहित कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा जिआरएनसीका सल्लाहकारहरु क्या. राजु गुरुङ, क्या.रि. ग्यारी घले, निवर्तमान अध्यक्ष ओम थापा, भीम बानियाँ, रत्न राई, शेरबहादुर सुनार, विष्णु श्रेष्ठ र वाचस्पति रेग्मी, छविमाया पुन र क्या.रि. ताम ढेगालगायतको विशेष उपस्थिति रहेको महासचिव मान गुरुङले जानकारी दिए






