जनतालाई नकारात्मक असर पर्ने व्यवस्था नयाँ कानुनमा छैन: प्रधानमन्त्री

SHARE:

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आगामी भदौ १ गतेदेखि लागू गरिने मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय धुम्रबाराहीमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘मुलुकी देवानी र मुलुकी अपराध संहिता लागू गर्ने कुरामा निकै भ्रमपूर्ण हल्ला चलाइएको छ, तर यो त पोहोर साल नै व्यापक छलफल गरेर संसद्ले पारित गरेको कानून हो ।’ उनले अस्पतालमा उपचार गर्दा बिरामीको मृत्यु भएमा चिकित्सकलाई जन्मकैद हुने भन्ने हल्ला र भ्रम फिँजाउने काम नगर्न आग्रह गरे । उनले नयाँ कानून आउँदा केही केही व्यवस्था नयाँ हुने हुँदा अभ्यासमा केही समय लाग्ने बताउँदै जनतालाई नकारात्मक असर पर्ने खालको कुनै पनि व्यवस्था संहितामा नभएको स्पष्ट गरे ।

सरकारले संविधान र कानुनको परिधिभित्र रहेर विकास निर्माण गर्ने, गरिबको जीवनस्तर उकास्ने, सामाजिक सुरक्षामा ध्यान दिने, शान्ति कायम गर्ने तथा राष्ट्रिय एकता कायम गर्ने तरिकाले काम गरिहेको बताउँदै आफ्नो स्वार्थका नाममा देशमा बितण्डा मच्चाउने खालका गतिविधि सञ्चालन नगर्न सबैमा आग्रह गरे । उनले भने, ‘सरकार अल्मलिएको छैन, देश अल्मलिएको छैन, जनता र युवाशक्ति अल्मलिएका छैनन्, अल्मलियो कि भन्ने पीर प्रतिपक्षलाई लागेको छ, तर सरकारले राष्ट्र र जनताको हितका लागि निरन्तर काम गरेको छ ।’

पार्टीमा प्रवेश गर्ने कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले नवप्रवेशीबाट पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन थप बल पुग्ने उल्लेख गरे । उनले भने, ‘उड्दाखेरि मौरीका साथ लागेर उड्यो भने फूलको थुँगामा पुगिन्छ, झिँगाको साथमा लागेर उडियो भने फोहोर डुङ्गुरमा पुगिन्छ, तपाईंहरु उडान भर्नका लागि मौरीको साथमा लाग्नुभएको छ, फूलकै थुङ्गामा पुगिने ।’ उनले नवप्रवेशीहरु जुन उत्साह र विश्वासका साथ प्रवेश गरेका छन्, त्यसअनुरुप पार्टीले जिम्मेवारी दिने छ भने ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका नेता गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले समेत पार्टीमा टिक्न नसकेको उदाहरण दिँदै नवप्रवेशी कार्यकर्ताले नेकपामा प्रवेश गरेर सही निर्णय लिएको बताए ।

उक्त अवसरमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकार समृद्ध नेपाल र खुसी नेपाली बनाउने अभियानअनुसार विकास र समृद्धिको उद्देश्यअनुरुप काम गरिरहेको बताए । उनले नयाँ कार्यकर्ता नेकपामा प्रवेश गर्दा पार्टी अझ बलियो भई थप उत्साह थपिएको अनुभूति आफूलाई भएको छ भने । पार्टी अध्यक्षद्वयले नेपाली काङ्ग्रेसलगायत पार्टीबाट नेकपमा प्रवेश गर्ने ३०० जनालाई टीका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!