लन्डन २४ डिसेम्बर २०२३ । बेलायतमा बसोबास गर्ने पूर्वगोर्खा सैनिक एवं साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास ‘लाहुरेको रेलिमाई’लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार-२०७९ दिइने भएको छ ।
गैरआवासीय नेपाली संघको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाले २४ डिसेम्बर २०२३ विज्ञप्ति जारी गर्दै २०७९ सालभरिमा प्रकाशित विविध विधाका नेपाली वाङ्मयका कृतिमध्ये हितानको उपन्यास लाहुरेको रेलिमाईलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी गराएका हुन् । समितिले गैरआवासीय नेपाली साहित्यकारद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष दुई लाख नगद राशि र सम्मानपत्रसहित अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ ।
पहिलो पटक २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको संकलित गद्य रचनालाई प्रदान गरिएको थियो । त्यसैगरी २०७८ सालको पुरस्कार चेतनाथ आचार्यको उपन्यास रुइबालाई प्रदान गरिएको थियो । गीतसंगीतमार्फत नेपाली जातित्वको जागरणमा लागेका मास्टर मित्रसेनको जीवनकथामा आधारित आख्यान लाहुरेको रेलिमाईले प्रथम विश्वयुद्धको विदारक एवं कारुणिक चित्रण प्रस्तुत गरेको छ । लेखक हितानलाई गैरआवासीय नेपाली संघले एक विशेष समारोहबीच पुरस्कार प्रदान गर्नेछ ।
यसैबीच, साहित्यकार विजय हितानले पुरस्कार प्राप्त गर्ने निर्णयको खबरपछि खुसी व्यक्त गर्दै सबैलाई धन्यवाद तथा आभार प्रकट गरेका छन् ।
फेसबुकमा लेखेका छन्, ‘कति हर्षको समाचार । यो पुरस्कार तथा सम्मान मैले हैन मास्टर मित्रसेनले, मित्रसेन सम्बद्ध संघ संस्था र व्यक्तिहरु, प्रथम विश्वयुद्धमा गएर लडने गोर्खाली योद्धा जसले २०८ बर्ष भन्दा लामो समयबाट अलग अलग देशबीच सहकार्यको संस्कार स्थापना गरे, जसले लाहुरे परम्परा र लाहुरे ब्रान्डको निर्माण गरे। बेलायत/भारत/सिङ्गापुर/ब्रुनाईमा सेवारत गोर्खा लाहुरे, निवृत गोर्खा सैनिक, नेपाल प्रहरी र नेपाली सेनामा सेवारत तथा निवृत सैनिक, लाहुरे परिवारसँग आवद्ध आमा/श्रीमती/दिदीबैनी/छोरी, प्रकाशनगृह Sangrila Book र यसको सम्पुर्ण टिम, र समग्रमा नेपाली साहित्यमा युद्ध साहित्यलाई प्रवर्धन गर्ने साहित्यीक संस्था र लेखकहरुले प्राप्त गरेको महसुस गरेको छु । जसले भोगेर आउनु भएको जीवन आफैमा एक वृहत अन्तर्राष्ट्रिय ईतिहास हो । लाहुरेको रेलिमाईलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने पुरस्कार व्यावस्थापन टिमप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’
विज्ञप्ति
अरनिको अन्तर्राष्ट्रिय पुरस्कार – २०७९’ विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई ‘ लाई प्रदान गर्ने निर्णय ।
‘गैरआवासीय नेपाली सङ्घ’को ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ समितिले गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई वि.सं २०७७ सालदेखि प्रत्येक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने गरेको छ । यसै बमोजिम वि.सं २०७९ को पुरस्कारका लागि सो वर्षभरिमा प्रकाशित विविध विधाका नेपाली वाङ्मयका कृतिहरूमध्ये बेलायतमा बसोबास गर्नु हुने साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास ‘लाहुरेको रेलिमाई’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।
पहिलोपटक २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको ‘संकलित गद्य रचना’ लाई प्रदान गरिएको थियो । त्यसैगरी बर्ष २०७८ मा चेतनाथ आचार्यको उपन्यास “रुइबा”लाई पुरस्कृत गरिएको थियो ।
गीत सङ्गीतका मार्फत् नेपाली जातिको जागरणमा जीवनपर्यन्त लाग्नु भएका मास्टर मित्रसेन थापाको जीवनकथामा आधारित आख्यान “लाहुरेको रेलिमाई” ले गायक थापाको दृष्टिविन्दूबाट प्रथम विश्वयुद्धको विदारक चित्रण प्रस्तुत गरेको छ । त्यससँगै उहाँको सङ्घर्षपूर्ण जीवन र उहाँ बाँचेको समाजका अनेक पाटाहरूलाई पनि यस उपन्यासले प्रभावशाली र प्रमाणिकरूपमा उद्घाटित गरेको छ।
पुरस्कृत कृति ‘लाहुरेको रेलिमाई ‘का लेखक विजय हितानलाई गैरआवासीय नेपाली सङ्घले एक बिशेष समारोहबीच नगद पुरस्कार र सम्मानपत्र सहित यो पुरस्कार प्रदान गर्नेछ । आज सम्पन्न सङ्घको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समिति’को बैठकले छनौट समितिको उक्त सिफारिससँगै ‘लाहुरेको रेलिमाई ‘लाई वर्ष २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि अनुमोदन गरेको छ ।
हिक्मत थापा
अध्यक्ष
अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ब्यबस्थापन समिति,
गैरआवासीय नेपाली सङ्घ ।
२४ डिसेम्बर २०२३






