काठमाडौँ २४ डिसेम्बर २०२३ ।

बाह्रखरी मिडिया प्रालिले आयोजना गरेको कथा प्रतियोगिताको उपाधि कथाकार मनोजबाबु पन्तले प्राप्त गरेका छन् ।
डिसहोम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० को पाँचौँ संस्करणको सर्वोकृष्ट कथा पन्तको ‘बुढो लाँकुरीको रूख’ बन्न सफल भएको हो । प्रथम बनेसँगै पन्तले रु एक लाख नगद र प्रमाणपत्र प्राप्त गरेका हुन् । यसैगरी, दोस्रोमा प्रमोद प्याकुरेलको ‘काँचुली’ कथा बनेको हो । दोस्रोलाई रु ६० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ । यसैगरी, तेस्रोमा विजय हिताङको चेपाङ, चमेरा र च्युरी कथा बनेको छ । उक्त कथालाई रु ४० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कथाकारलाई पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सम्मान गर्नुभएको हो । कार्यक्रममा श्रेष्ठले नेपाली साहित्यलाई अगाडि बढाउन बाह्रखरी मिडियाले गरेको साहस सराहनीय भएको बताए । उनले मुलुकले साहित्यकारको सम्मान गर्नुपर्ने बताए । “साहित्यकारले आफ्नो सिर्जनाको भरपुर लाभ लिन सक्नुपर्छ,” उनले भने । जुन देशमा साहित्यकारले उपेक्षा भोग्छ, त्यो देश अगाडि बढ्न नसक्ने उनको भनाइ थियो ।
डिसहोम प्रालिका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य देवीप्रसाद भट्टचनले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि लैजानका लागि नेपाली सञ्चारमाध्यमको ठूलो भूमिका रहेको उल्लेख गरे । बाह्रखरी मिडिया प्रालिका अध्यक्ष, वरिष्ठ पत्रकार प्रतीक प्रधानले बाह्रखरी मिडियाले नेपाली साहित्यको क्षेत्रलाई अगाडि बढाउनका लागि कथा लेखन प्रतियोगिता आयोजना गरेको जानकारी दिए । प्रतियोगितामा समावेश भएका आठ सय ४३ प्रतिस्पर्धीमध्ये ‘बुढो लाँकुरीको रूख’ सर्वोत्कृष्ट भएको हो ।
नेपालसहित विश्वका विभिन्न मुलुकमा बस्ने नेपाली कथाकारले लेखेको आठ सय ४३ कथामध्येबाट उत्कृष्ट ठहरिएका २५ कथा समावेश गरी पुस्तक प्रकाशन गरिएको छ । उक्त कथा सङ्ग्रहमा २५ उत्कृष्ट कथाका साथै चार वरिष्ठ आख्यानकर्मी भागिरथी श्रेष्ठ, भाउ पन्थी, डा. राजेन्द्र विमल र गणेश रसिकका कथा पनि समावेश गरिएका छन् ।
निर्णायक समितिका संयोजक प्रा.डा सावित्री कक्षपतीले नेपाली कथाको क्षेत्रमा बाह्रखरी मिडियाले कथा प्रतियोगिता गरेर नयाँ कामको सुरुआत गरेको बताए । सो निर्णायक समितिमा प्राडा कक्षपतिसँगै साहित्कार महेशविक्रम शाह र सुबिन भट्टराई सदस्य रहेका थिए ।






