लन्डन २५ डिसेम्बर २०२३ । पूर्वब्रिटिस आर्मी तथा बेलायतवासी साहित्यकार विजय हितानको कृति ‘बाह्रखरी कथा लेखन प्रतियोगिता’मा तृतीय स्थान हासिल गर्न सफल भएको छ ।
डिसहोम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० को पाँचौँ संस्करणअन्तर्गत आइतबार घोषणा सार्वजनिक परिणाममा हिताङको ‘चेपाङ, चमेरा र च्युरी’ कथा तेस्रो बन्दै ४० हजार नगद र प्रमाणपत्र प्राप्त गरेको हो ।
यो एउटा पर्या कथा हो- सिमान्तकृत आदिवासी चेपाङ समुदायसँग चमेराजस्तो लोपान्मुख प्राणी र चिउरी जस्तो गुणकारी वृक्षको कस्तो सम्बन्ध हुन्छ र एउटामा आउने नकारात्मक प्रभावले अर्कोलाई कसरी असर पार्छ भन्ने पारिस्थितिकीलाई कथाशैलीमा पुस्तकमा व्यक्त गर्ने प्रयास गरेको साहित्यकार हितानले बताएका छन् ।
हितानको लाहुरेको रेलिमाई उपन्यासलाई २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारसमेत दिने निर्णय हालै सार्वजनिक भएको छ ।
बाह्रखरी मिडिया प्रालिले आयोजना गरेको कथा प्रतियोगिताको उपाधि भने कथाकार मनोजबाबु पन्तले प्राप्त गरेका छन् । सर्वोकृष्ट कथा पन्तको ‘बुढो लाँकुरीको रूख’ बन्न सफल भएको हो । प्रथम बनेसँगै पन्तले एक लाख नगद र प्रमाणपत्र प्राप्त गरेका हुन् । दोस्रोमा प्रमोद प्याकुरेलको ‘काँचुली’ कथा बनेको छ । दोस्रोलाई ६० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कथाकारलाई पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सम्मान गरे । कार्यक्रममा श्रेष्ठले नेपाली साहित्यलाई अगाडि बढाउन बाह्रखरी मिडियाले गरेको साहस सराहनीय भएको बताए ।
प्रतियोगितामा समावेश भएका आठ सय ४३ प्रतिस्पर्धीमध्ये ‘बुढो लाँकुरीको रूख’ सर्वोत्कृष्ट भएको हो । नेपालसहित विश्वका विभिन्न मुलुकमा बस्ने नेपाली कथाकारले लेखेको आठ सय ४३ कथामध्येबाट उत्कृष्ट ठहरिएका २५ कथा समावेश गरी पुस्तक प्रकाशन गरिएको छ । उक्त कथा सङ्ग्रहमा २५ उत्कृष्ट कथाका साथै चार वरिष्ठ आख्यानकर्मी भागिरथी श्रेष्ठ, भाउ पन्थी, डा राजेन्द्र विमल र गणेश रसिकका कथा पनि समावेश गरिएका छन् ।






