मुकेश राई लण्डन ३१ डिसेम्बर २०२३ ।

गृष्म ऋतुलाई विदा दिदैँ छोटिदै गरेको दिनको रहर लाग्दो पारीलो घामको प्रकाशमा खुलेको मेपलका पातहरुको रगताम्य रातो रङ्ले मनै एकतमासले प्रफुल्ल बन्छ !
नजिकै पार्कको कुर्सीहरुमा बसिरहेका युगल जोडीहरु र आनन्दले सुस्ताइरहेका वृद्ध वृद्धाहरु पनि यो रुमानी मौसमको आनन्द लिँदै आफ्नै धुनमा मस्त छन भने कोही एक्लै कफीको चुस्की लिदैँ मोबाइल कोट्याउन मस्त छन ! मलाई कफीको तृष्णा जाग्छ, पछ्याउँछु नजिकैको कोस्टा केफे, उस्तो व्यस्त छैन, केहीबेरमै हातमा लाटेको टेक वे कप बोकेर निस्कन्छु तर टाढा जाने कारण छैन, वास्तवमा म श्रीमतीको सपिङको साथी आएको तर उनलाई पच्छ्याउनुको अल्छीले यता छु, यसैले छेवैको कुर्सीमा थ्याच्च बस्छु !
कफीको चुस्कीसङ्गै एकछिन बाहिरी संसारसङ्ग रमाउँछु तर फेरी के मन आउँछ अनायसै मोबाईलमा ध्यान केन्द्रित हुन्छ, मानौ मोबाइल नहेरी के नै बितिजाने जस्तो भयो संसार अनि म के अछुतो रहन सक्छु र यो देखी ? अचेल प्राय: आफन्त र साथीहरुसङ्ग भेटघाटमा पनि कुराकानी भन्दा बढी सबैजना आफ्नै मोबाईलमा व्यस्त बन्छन, आफु एक्लो भईन्छ ! यो हत्केला भरको मोबाईलमा संसार अटाएको छ तर मलाई उपलब्धी शुन्य लाग्छ, हामीलाई यसले निकम्मा बनाउँदैछ तर संसार यसैमा रमाएको छ । सामाजिक संजालले दु:खको होस वा सुखको, वाहियात होस या महत्वपूर्ण कुनै पनि कुराहरुको अप्डेट तुरुन्तै दिन्छ । मलाई बिशेष चासो आफ्नै देशको खबरमा हुन्छ तर प्राय निराशाजनक कुराहरु नै धेरै भए जस्तो लाग्छ, सडक दुर्घटना, बलात्कार, हत्या लगायत राजनैतिक उतारचढाव मनै अशान्त बन्छ ।
टिकटक हेर्यो उस्तै, वैदेशिक रोजगारमा जानेहरुले पोस्ट्याएका शर्ट भिडियोहरु, कति चै अति नै असभ्य बनेर उटपट्याङ र उत्ताउलो बनेर पोस्ट्याएका पोस्टहरु सार्वजनिक रुपमा हेर्नै नसकिने ! फेसबूक स्टाटस स्क्रोल गर्ने क्रममा भरत लोहोरुङ जिले भर्खरै शेयर गर्नु भएको मुक्तकमा आँखा पुग्छ, युवा उडाउने जहाजले आकाश थर्किन्छ मेरो देशमा छोरो जाँदा बाउ आमाको मुटु चर्किन्छ मेरो देशमा कस्तो कर्म आमा बाउको बर्षौ सन्तान कुर्नुपर्ने कफिनमा कति छोराछोरी फर्किन्छ मेरो देशमा ! अहा मुटु नै चसक्क दुख्ने, यथार्थपरक मुक्तकका हरफहरुमा डुब्छु, भरत लोहोरुङ सर साँचै सुन्दर मुक्तकहरु सिर्जना गर्नु हुन्छ !
सैन्य पृष्ठभूमि भएको हाम्रो परिचय सन १९९० कै दशकमा हङकङको सेकोङ भन्ने ठाउँमा भएको थियो ! हङकङबाट सबै पल्टन युके आए पछि भिन्न रेजिमेन्ट भएको कारण भेट हुन सकेन तर पेन्सन पस्चात पो भरत सरसङ्ग धेरै पछि बेलायत आएर सिर्जनात्मक कर्मले फेरी नजिक बनायो ! हाम्रो बोल्ने साईनो सहजताको कारण होला सर भयो ! हो, भरत सर गीत, कविता र मुक्तकहरु निकै सुन्दर कोर्नु हुन्छ अनि बाँसुरी पनि उस्तै मिठो बजाउनु हुन्छ ! अनि हामीसङ्ग जोडीनु भएको अर्का मित्र सेमन्त राई उहाँ र भरत जि एउटै जिल्ला संखुवासभा, यसैले उहाँहरु कालेज पढ्दाका सहपाठीहरु मेरो र सेमन्त जिको बोल्ने साईनो म दाजु, उहाँ भाई ! सेमन्त भाई पनि भरत जिले झै गीत, कविता र मुक्तकहरु सिर्जना गर्नु हुन्छ !
बेलायतमा हाम्रो बसाई ओदान जस्तो तीनतिर भयो म स्यान्डहर्स्ट, भरत सर स्वीण्डन र सेमन्त भाई मेडस्टोन तर साहित्य अनुरागको रिङ्गले हामीलाई ओदान जस्तै जोडेर निकट बनाइदिएको छ, हाम्रो मन र विचार मिल्छ यसैले समय मिल्दा आईतवार भिडियो च्याटमा गफिन्छौ, जानेका कुरा शेयर गर्छौ ! उहाँहरुसङ्ग गफ गर्दा लाग्छ, नेपाली साहित्य र साहित्यकारहरुका ऐतिहासिक पृष्ठभूमि देखी वर्तमानसम्मका धेरै कुराहरुको जानकार हुनु हुन्छ अनि अङ्रेजीका कुराहरुमा पनि उस्तै दखल राख्ने भरत सरका कुराहरु सुनिरहुँ लाग्छ, तर उहाँ आफुलाई धेरै एक्पोज गर्न रुचाउनु हुन्न, तेसैले उहाँभित्रको सिर्जनशिल व्यतित्व र कलालाई धेरैले चिन्नु भएको छैन भन्ने मलाई लाग्छ, सेमन्त भाई पनि उस्तै हुनुहुन्छ कर्म गरौ, फलको आशा नराखौ, उहाँहरुको यही कुराहरुले मलाई भरपुर आनन्द दिन्छ ।
म उहाँहरुप्रति आकर्षित भईरहन्छु, आफैले आफैलाई मुल्यांकन गर्नु मिल्दैन तर पनि म आफैलाई विचार्छु, मलाई पनि अनावश्यक चर्चा र नाम खोज्ने चरित्र पटक्कै मन पर्दैन, शायद यसैले होला हामी तीन जनाको मन र विचार मिल्नुको मुख्य कारण ! आज हाम्रो कुराकानी भएन यही समय सदुपयोग गर्दै भरत सरले मुक्तक शेयर गर्न भ्याउनु भएछ ! भरत सर अनि सेमन्त भाई दुवैले मुक्तक सङ्रह निकाल्न अग्रसर भएर काम गरिरहेका छन ! यसै सन्दर्भमा भरत सरले भन्नु भएथ्यो झन्डै सय भन्दा बढी मुक्तकहरु तयार गरेको छु तर खै पहिले लेखेका मुक्तकहरु चित्त बुझ्दैन, नयाँ थप्न सकिरहेको छईन ! उहाँलाई हौसला दिदैँ म भन्छु, सर तेसो होईन तपाईंलाई पो आफ्नो मुक्तक भएकोले त्यस्तो महसुस भएको तर पाठकहरुलाई त जब सार्वजनिक गर्नु हुन्छ फ्रेस लाग्छ ! मेरो कुरामा सही थाप्दै बोल्नु हुन्छ सेमन्त भाई हो दाजु, प्रकाशनको निम्ती कोशीस जारी छ ।
हाम्रो तर नेपालमा प्रकाशनको काम गाह्रो छ, प्रविधिक कुरोहरुले गाह्रो हुनु भन्दा पनि व्यापारको रुपमा फष्टाएको प्रकाशन गृहहरुसङ्ग समन्वय गरेर काम गर्नु जटिल छ ! सहि कुरो भन्नु भयो उहाँले र मेरो प्रकाशोन्मुख उपन्यास प्रकाशनको कामले गर्दा यो बिषयमा निकै दु:ख उठाइसकेको छु तर हरेश खाएको छईन ! यत्ति कुरो चै म सेमन्त भाईको कुरोमा थप्छु, आफ्नो कृति निकाल्नु पनि ठेकेदार र दलालहरुले जस्तो काम गर्ने निकै ठुलो गुट रहेछन तर कोही, कतै वास्तविक रुपमा सहयोग गर्न सक्ने सहि व्यक्ति र प्रकाशक पनि त होलान नि, म विश्वस्त बन्छु ! छेवैमा मज्जाले गफिएरहेका केही भद्र भलादमीहरुका चर्को स्वर र हाँसोले घरिघरि मेरो ध्यान केन्द्रित हुन्छ ! उनीहरु कफीको चुस्कीमा रम्दै नेपालको वर्तमान राजनैतिक गतिविधिको विष्लेषणात्मक टिप्पणीहरु, समाज सुधारका कुरासङ्गै युकेका संघसंस्थाहरुको बिषयमा गफिरहेका छन, मलाई वाक्क लाग्छ ।
नबुझेर कि नजानेर हो, आफै अन्योलमा छु ! वास्तवमै स्वच्छ हृदयले लागिपरेका केही सामाजिक अभियन्ताहरु छन, जसलाई न चर्चा चाहिन्छ न नाम तर कति चै नाम र चर्चासङ्गै आफ्नो हैसियतलाई बढावा दिने महत्वकांक्षा बोकेर हिंडेकाहरु पनि छन ! भुक्तभोगीहरु भन्छन बोलेर शत्रु कमाउनु भन्दा नबोलेको राम्रो, केही भन्छन सत्य कुरा बोल्नु डराउनु हुँदैन तर कोही बोल्दैनन ! हुन पनि नबोलेर टाढा बसेकै बेस तर कहिलेकाही सामाजिक रुपले सहभागिता जनाउनु पर्ने बाध्यता आईलाग्छ, कुनै कुनै कार्यक्रममा मुख्य एजेन्डाका कुरा भन्दा बढी हुने नौटंकी देख्दा चित्त चै बुझ्दैन ! पर्देशको जिन्दगी बिहानै आलार्म बज्दा उठेर जागिर तिर नगए घर चल्दैन ! मलाई लाग्छ पर्देशमा हामी केवल नेपाली भनेर चिनिन्छौ र चिनिनु पर्छ, अन्य हामी भित्रका जातजाति, धर्मकर्म, संस्कार र संस्कृति जस्ता विविधताका कुराहरु त छँदैछन तर नेपाली एक्यबद्ध हुनुपर्छ ! सुशिलाले कल गरेर सपिङ गरिसकेकी जानकारी दिईन ।
सुशिला मेरी जीवनसङ्गिनी, घर गृहस्थीको काममा दक्ष गृहणी, उनको सिद्धहस्त घरायसी कर्म र व्यवस्थापनले म घरको राखन धारण सबै कुरोमा निर्भर बनेको छु, शायद ! कफीको चुस्कीले फुर्ती भरिए झै म जुरुक्कै उठेर नजिकैको बिनमा कफीको रित्तो कप फ्याली राखेर सुशिला भए तिर लाग्छु ! उ हातमा टन्नै भरिएको ब्याग र फूलको बिरुवाहरु समातेर मलाई नै पर्खिरहेकी हुन्छिन ! अहो यो बेला फूल रोप्ने हो र ? म प्रश्न गर्छु सुशिला बोल्छिन अहिले रोपेको बिरुवाहरु अर्को बर्षको शुरुमै फूल्छ नि त ! म अरु केही नबोली उनको हातबाट ब्याग लिन्छु किनकी उनलाई धेरै बागवाणीको काममा रुची छ, यसैले उनलाई कुन समयमा के रोप्ने भन्ने कुराको धेरै ज्ञान छ अनि समय पाउने बित्तिकै बाहिर फूल, सागसब्जी गोडमेल गर्ने स्याहार्ने काममा लागिहाल्छिन ।
मलाई चै कहिलेकाही पढेर बस्नु मन पर्छ कि चै केही लेखनको काम गर्नु मन पर्छ ! सुशिलाले अकबरे खुर्सानी, रायो साग, सिमी, जरिङ्गगो जस्ता सब्जीहरु टन्नै बनाउँछिन, खानेबेला म चै मक्ख पर्दै गाउँघर सम्झन्छु ! जिन्दगीको भोगाई र अनुभूतिहरु हरेक मान्छेको नितान्त फरक हुन्छ, विचार र यथार्थहरु आफ्नै परिस्थिती र कालखण्ड अनुसार फरक हुन्छ ! म २० बर्षे अल्लारे उमेरमा लाहुरे हुने सपना बोकेर पर्देशिएको अहिले ३ दशक नाघ्यो ! पल्टनमा रहुन्जेल विभिन्न देश, देशावर कामकै सिलसिलामा घुमियो, विभिन्न रहनसहन र परिवेशहरु हेर्ने अनुभूत गर्ने अवसर मिल्यो तर परदेशमा रहेर पनि हामी दुई गुन्द्रुक, सिन्की, टिम्बुर र किनामा जस्ता घरेलु खानामा रमाउँछौ ! नेपाली गीत, संगीत प्राय छुट्टीको बेला घरमा घन्किरहेकै हुन्छ ।
आमापापा, आफन्तहरु नेपालतिर छन, आफु पर्देशमा ठ्याक्कै खोलाको दुई किनारा जस्तो अनि जिन्दगी बगिरहेछ सलल अविरल ! छेउमै एकजना खै को हो दाईको मोबाईलको नेपाली गीतको रिङटोङ फुल भोल्युममा बज्छ, “फूलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार” उहाँले आफ्नो स्वदेशकै मायामा राख्नु भएको होला रिङ्गटोन र उस्तै सार्थक गीत अहा, साँचै नै जीवन र संसार जसरी हेर्यो उस्तै छ !






