जीवन/अनुभूति : बाल्यकालका यादहरु

SHARE:

बिहानीको सूर्यको प्रकाशले धर्तीमा स्पर्श गर्न लागिरहेको बेला हातमा एउटा थाल लिएर म चामल थाप्नको लागि खाद्य गोदाम, फत्तेपुरमा लाम लागिरहेको थिएँ । हुन त सूर्यको प्रकाश जतिसुकै चम्किलो किन नहोस् । मेरो भविष्यचाहिँ बिलकुल अन्धकारमय थियो । तर त्यसरी दुई घण्टा जति लाम लागि सकेपछि, –

“माम्मै ! अरुले दिएको थापि खान पनि त्यति सजिलो नहुने रहेछ, हगि ?” मेरो सिधै अगाडि उँभिरहेको चमार भान्जाको मुख खोलिन्छ । मेरो भान्जाको भनाइले मलाई त्यसबेला खास्सै फरक पार्दैन । किनभने त्यहाँ मेरो अन्य बिकल्पहरु पनि केहि छँदै थिएनन् । त्यसैले म चुपचाप बस्छु । हुन त भान्जा र म जस्तै अरु भरियाहरु पनि त्यहाँ थुप्रै थिए । अनि सबैजना भरियाहरु अति अनुशासित भएर एउटै पङ्तीमा लामबद्ध भएका थिए । यदि त्यहाँ लामबद्ध भएका भरियाहरुका एकएक गरेर टाउको गन्ने हो भने उनीहरु पचासौको संख्यामा थिए । अनि ती जम्मै भरियाहरु सरकारी (बिकासे) चामल बोक्नको लागि खोटाङ जिल्लादेखि फत्तेपुर झरेका थिए ।

फत्तेपुर, सप्तरी जिल्लामा पर्छ र बुईपा खोटाङदेखि हिँडेर झर्न न्युनतम पनि तीन दिनको समय लाग्छ । अझै म उमेरमा अलिक सानो नै मान्छे थिएँ अथवा १५ वर्षे ठेट्ना नै थिएँ । जसले गर्दा मलाई फत्तेपुर झर्न अन्य भरियाहरुभन्दा हल्का कठिन भएको थियो । तैपनि म कठोर हृदय लिएर उनीहरुका पछि पछी त्यहाँ झरेको थिएँ ।

वास्तवमा म एकदम निम्न परिवारमा जन्मेको मानिस हुँ । र, त्यस्तो परिवारमा जन्मेको हुनाले नै अत्याधिक गलचेप वा भाङ्पेलाइमा परिरहेको थिएँ । अझै गाउँमा त्योभन्दा ठूलो पिडा कमाइ खाने जमिनको थियो । किनभने हामीसँग प्रशस्त जमिन थिएन । अब आफ्नो जमिन नभएपछि जिउनको लागि अरुको खेतबारी अँधिया कमाउने गर्दथ्यौं । तैपनि अरुको जमिन कमाउने अवसर कुनै वर्ष मिल्दथ्यो र कुनै वर्ष मिल्दैनथ्यो ।

गत वर्ष हामीले भलेम्पा बाजेको खेत कमाएका थियौं । तर यो वर्ष अचानक उनको दुःखद निधन भयो । बाजेको मृत्यु भएपछि उनको एकल छोरोले हामीले कमाउँदै गरेको खेत अरुलाई बेचि दियो । त्यसपछि हाम्रो बिचल्लिको दिनगन्ति सुरु भयो । जस्को परिणाम स्वरुप पहिलेको वर्षहरुभन्दा हामीलाई त्यस वर्ष झन चाडो अनिकालले छोप्यो ।

कुरो २०३७ सालको हो । अथवा निर्दलीय वा बहुदलीय व्यवस्था कुन ठीक भनेर जनमत संग्रह भएको अर्को वर्ष थियो । अनि औला ‍भाँचेर ठेक्कै गन्ने हो भने त्यो महिना माघको पर्दथ्यो । अब माघको महिना छ । त्यसैले गाउँमा असाध्यै जाडो हुन्छ । तर त्यस वर्ष हाम्रो मूख्य समश्य भनेको कहालि लाग्दो गाउँघरको माघे जाडोभन्दा पनि घरको मूलढोकादेखि घरभित्र छिरेको अनिकालले बाबु आमालाई असाध्यै पिर पारिरहेको थियो ।

हुन त गाउँमा हामीलाई मात्र दु:खले पेलिरहेको थिएन । केही अन्य मानिसहरु पनि हामी जस्तै गरिबी अवस्थासँग भिमकाया युध्द लडिरहेका थिए । जुन कुराले मलाई हल्का शान्त्वनासम्म मिल्दथ्यो । अझै एकदिन तिनै दुःखिया आत्माहरुसँग मिलेर बिकासे चामल बोक्नको लागि फत्तेपुर जाने भनेर हामीले सर-सल्लाहा गरेका थियौं ।

साधरणतय बिकासे चामल भन्नाले नेपाल सरकारले न्युनतम आय भएका दरिद्र मानिसहरुको लागि प्रदान गरिने एक प्रकारको आर्थिक राहत जस्तै थियो । तर त्यो राहत लिन पनि त्यति सजिलो थिएन । तिनै राहतको चामल बोक्नको लागि फत्तेपुरसम्म झर्नु पर्थ्यो । अनि त्यहाँ पुगेर जसले जतिसुकै चामल बोके पनि हुन्थ्यो । तर त्यसरी आफूले बोकेको चामलको ५० प्रतिशत आफैले उपभोग गर्न पाउने र बाँकी ५० प्रतिशत खोटाङ जिल्लाको सदरमुकाम दिक्त्तेलको गोदाममा बुझाउन लानु पर्दथ्यो । तर खेदको कुरो के पनि थियो भने एउटा रित्तो ढाकर बोकेर फत्तेपुरसम्म झर्न पुरै ३ दिन र पूर्ण भारीसँग फर्कन करिव ७ दिन गरेर जम्माजम्मि १० दिनको समय लाग्दथ्यो ।

बुईपा, छिप्तीमा माघ महिनाको तेश्रो हप्ताको समय छ । अझै त्यो दिन त्यस हप्ताको पहिलो दिन पनि हो । बिहानको मिर्मिरे उज्यालो भुइँमा खस्दा नखस्दै म कमलाम्पाको घरमा पुग्छु । मुख धुँदै नधोइ म त्यहाँ पुगेको हुनाले आँखा मिच्दै मिच्दै, –

“जेठा ! आजदेखि हाम्रो घरमा खाना खानको लागि दाल चामल केहि पनि बाँकी छैनन् । म यी म भइँ हालें । बैनी अलिक सानी नै छे । बुबा गत सालदेखि थला पर्नु भएको अहिलेसम्म उठन सक्नु हुन्न । हिजो बिहान बेसाहा खोज्न सेरा-खाल्ले जानु भएकी आमा बेलुकिपख रित्तै हात फर्किन । हामीलाई गाउँमा त झन कसले एक पैसा पत्याउँछ र ? पत्याउँदै पत्याउँदैनन् । त्यसैले अब म आफै बिकासे चामल बोक्नको लागि मधेश जान्छु । जे जसरि हुन्छ, मलाई एउटा ढाकर बुनि दिनु पर्यो । मरितरि गरेर भएपनि अलिकति चामल लिएर आउँछु । त्यसपछि यो हिउँद कटाउँछु,” भन्दै बिन्ति बिसाउँछु ।

बिहान हुने बितिक्कै कोदोको झोलको खाजा खाने कमलाम्पा अगेना छैवैमा बसेर एकाध मेरो कुरो सुनिरहेको हुन्छ । साइनोले भतिज पर्ने कमलाम्पाले निक्कैबेर सोचिसकेपछि मेरो निबेदनाई सकरात्मक लिन्छ ।

“अना ! यति कलिलो छौं । कति बोक्छौ र हौ ? जाबो एउटा सानो डोको जत्रो ढाकर बुनि दिन्छु । भोली बेलुकि तिर आउ है,” छोटकारिमा जबाफ फर्किन्छ ।

दातमा अड्केको जाडको छोक्रा थुँ थुँ गर्दै फालेर उनको मुखदेखि निस्केको त्यो जबाफले म फुरुक्क फुर्किदै घरमा पुग्छु । र, त्यसको तीनदिनपछि एउटा ढाकर र दम्कु डाँडा जङ्गलदेखि काटेर ल्याएको चिलाउनेको बाङ्गो लौरो टेकुवालाई तयार पार्छु । जिन्दगीमा घर छाडेर पहिलो चोटी भारी बोक्न जाँदै थिएँ । त्यसैले मनभित्र उथलपुथलभन्दा पनि हल्का त्राश उत्पन्न भइरहेको थियो ।

अर्को दिन बिहानी पखको समय छ । टेम्के डाँडादेखि उदाएको सूर्यले आकाशमा एक टाङ्गो पार गर्दा नगर्दै मेरी दुःखी आमाले मेरो लागि परदेशिने समानहरु मिलाउन थाल्छिन् । सबैभन्दा पहिले तल्लो घरदेखि आमाले केहीदिनको लागि मागेर ल्याएकी एउटा सिलाबरे भाँडो ढाकरको पुछारमा राखि दिन्छिन् । त्यसपछि, –

“मेरो छोरालाई खाना खाने एउटा थाल छ । तर सिलाबरे भनेर सानो मन नगर्नु है । तिमी पछि एकदिन ठूलो हुन्छौं । अनि ठूलो भएर पैसा कमाएपछि अरुले जस्तै काँसे थालमा खान थालि हाल्छौं,” भन्छिन् ।

हुनपनि हामी केही वर्षदेखि यता एउटा गोठ बनाएर बसिरहेका थियौं । र, हाम्रो श्री सम्पतिको नाममा त्यहिँ एउटा थाल थियो । नत्रभने हरेक बिहान बेलुकि खाना खाने बेलामा केराको पात टिप्नु जानु पर्थ्यो । तर त्यो थाल पनि म र सुङ्गुर पाठोसँग साझेदार जस्तै थियो । मैले खाना खाइसकेपछि त्यसैमा पाठोलाई चारो दिनु पर्थ्यो । अब थाल मैले परदेश लगेपछि पाठोले के मा चारो खाने रहेछ भनेर एकछिन सानो पिरमा पर्छु ।

तैपनि आमाले सिलाबरे भाडाको जोडी सिलाबरे थाल नै मिलाई दिनु भएको बिरमाइलो मान्दै हेरिरहन्छु । त्यसपछि कोशी गड्तिरमा राती बास बस्दा सुत्नको लागि आफ्नो माइती हलेसी रातमाटेमा वर्षौ अगाडि आफैले बुनेर ल्याएकी एउटा पुरानो खाँडीको खास्टो तयार पारिदिनु हुन्छ । अनि धुँवासोले खाएर पुरै कालो भएको थाङ्नामा अलिकति भुटेको मकैभटमास, गुन्द्रक र तीनदिनको लागि पुग्ने तीन माना जति मकैको च्याख्ला पनि तयार पारि दिनु हुन्छ ।

हुन त म त्यतिबेला अलिक सानो नै थिएँ । तैपनि दुवै हात कम्वरमा राखेर आमाको त्यो कार्यशैलीलाई निक्कै प्रेमपूर्वक हेरिरहेको थिएँ । अझै मैले घर छाड्ने बेलामा, –

“छोरा ! हाम्रो आशा र भरोसाको केन्द्रबिन्दु भनेको केबल तिमी मात्र त हो । त्यसैले बेतलीको भिरमा राम्ररी जोगिनु है । किनभने त्यहाँ एकदम ठूलो पहरा छ । अनि पहराको बाटोमा स–साना अखेटाहरु मात्रै छन् । त्यहाँदेखि चिप्लिएर बङ्लङ्गै लडियो भने ऐइ्या भन्नै नपाइ कोशीमा खसेर मरिन्छ । यदि त्यसरी कोशीमा डुबेर तिमी मर्यौ भने हामी कस्लाई छोरा भन्नु र ?” आमाले मसिनो स्वरमा बिलौना गर्दै त्यसो भन्दा उहाँका आँखाका ढकनीहरु आँसुले पूर्ण भरिएका थिए ।

जिन्दगीमा पहिलो चोटी त्यसरी परिवारसँग छुट्दै गर्दा बिमारी बाबुले गुन्द्रीमा टुकुक्क बसेर पिँढीदेखि र सानी बहिनीले बासको थामलाई अङ्गालो मारेर मलाई हेरीरहेकी थिइन । तर जे होस् आखिर म परदेश जानु नै थियो । त्यसैले, –

“आमा ! म अब गए है,” ढाकर बोकेर आदरता पूर्वक आमासँग अन्तिमचोटी बिदा माग्छु ।

मेरो मुखदेखि निस्केको अन्तिम शब्दले बियोगान्त र शितिल बनेकी शरिर लिएर थाकेकी आमाले मलाई प्रतिउत्तर फर्काउन सक्नु हुन्न । बरु मेरो भनाई सुनेर सर्लक्कै १ सय ८० डिग्री घुम्नु हुन्छ र घुँक्क घुँक्क रुदै मुँडे डाँडातर्फ एकाध हेर्न थाल्नु हुन्छ । आमाको त्यो हालत देखेर आगन छेउमा बाँधिरहेको गाईको बाच्छी पनि एकचोटी ट्वा गरेर कराउँछिन् ।

तर मेरी ममतामयी आमासँग त्यसरी छुट्नु अगाडि उनले छाडेकी तिनै अन्तिम शब्दहरु मेरो कानमा निक्कै लामो समयसम्म गुन्जिरहन्छ । तैपनि जिन्दगीमा पहिलो चोटी ढाक्रे बन्दै थिएँ । त्यसैले केहि जिम्मेवारि थपिएको बोध महसुस गरिरहेको थिएँ । त्यसपछि घर छाडेर ठूलो पिपलको रुखमुनी पुगेर एकपटक घरतिर हेर्दा आमा र छोरीले बिरमाइलो मान्दै मलाई हेरिरहेका देखिन्थे । त्यहाँदेखि उकाली लागेपछि मैले एकघण्टामा सर्लक्कै पन्चरबाटो हटिया काटिसकेको थिएँ ।

मध्यान्हको समयमा साप्सु दोभान पुगेपछि खुइत्त गर्दै एकछिन बिसाउँछु । रेग्मिटारको फराकिलो खेतियोग्य जमिनले मेरो मनको भोक र मेरो दाहिने दिशादेखि अविरल बहिरहने सुनकोशीको पानीले प्यास मेट्छु । तर त्यँहा म जस्तै अन्य भरियाहरुसँग भेट हुन्छ । त्यसपछि हामी उनीहरु सँगसँगै मिलेर हिँड्छौं र बेलुकिपख रसुवामा पुगेर बास बस्छौं । तर दिनभरी कोशी गड्तीरको बाटैबाटो हिँडेको हुनाले खुट्टा बेस्सरी दुखिरहेको हुन्छ । अझै मध्यान्हको सूर्यको तापले तातिएको बालुवामाथि नाङ्गो खुट्टाले ढ्यापढ्याप टेक्ता खुट्टा भत्भती पोलिरहेको आभाष हुन्छ ।

त्यसरी हामी क्रमश: तीन दिन हिँड्छौं । त्यसपछि फत्तेपुर झरि पुग्दा शरीर गलेर लखतरान भएको थिए । मैले जिन्दगीमा त्यतिका धेरै कहिलै हिँडेको थिइनँ । त्यो नै मेरो पहिलो अनुभव थियो । त्यहाँ झरेपछि मेरो खुट्टाका पाइतालाहरु, नलिखुट्टा, घुँडा, पाँसुला र तिघ्रा सबै दुखेका थिए । तैपनि मेरो जिउने रहर जीवित नै थिए । अँह मेरो सपनाहरु मरिहालेको थिएन । र, मेरो सपना मार्न पनि दिन चाहदिन थिएँ ।

हामी फत्तेपुरमा झरेपछि चन्द्र नहरको बायाँ किनारमा बास बसेका थियौं । त्यस बेलुकी मैले गाउँदेखि बोकेर ल्याएको मकैको चामल अन्तिम चोटी पकाएको थिएँ । किनभने हरेक दिन मैले खाने चामल हिसाब गरेर तीन माना जति मात्र बोकेको थिएँ ।

पर्सिपल्ट चामल थापेर आएपछि चन्द्रनहर किनार वरिपरिको झिक्राहरु खोजेर खाना पकाउन सानो आगो बालेको थिएँ । तर यत्रो भारी बोकेर कसरि पहाड चढ्ने होला भनेर त्योभन्दा ठूलो पिरको आगो मेरो हृदयभित्र दन्दन बलिरहेको थियो । दुईदिन जति चामलको पर्खाइमा बसेपछि देवाम्पा दाजूसँग संक्षिप्त भेट हुन्छ । हामी तिनै राजनितीकर्मी दाजूको आशामा चामल थाप्न पाइएला भनेर फत्तेपुर झरेका थियौं । दाजूसँग हाम्रो भेटको अवसरमा, –

“चामल बोक्ने मानिसहरु थोरै झर्छन् होला भनेर एकसय बोराको कागजात गरेको थिए । तर मान्छेहरु एकदम धेरै झरेका रहेछन् । त्यसैले बस चढेर हिजो सगरमाथा अञ्चलको सदरमुकाम राजविराज पुगे । त्यहाँ पुगेर सगरमाथा अञ्चलको अञ्चलाधीश जियाउल हकलाई बिन्ति जाहेर गरे । त्यसपछि २ सय ८६ बोराको कागज लिएर आएको छु । यहाँ बस्ने भरियाहरुले ६ छाक खाना खाँदा १९ बोरा चामल त अहिले नै खर्च भइसकेको छ । जनताको सेवाको लागि समर्पित भएर राजनीति गरेको हुँ । त्यसैले त्यो सबै चामल मिनाहा गरिसकेको छु । अब भारितारी मिलाएर तिमीहरु भोली बिहान बाटो लागे हुन्छ,” भनेको सुन्दा मेरा नयनहरु रसिला रसिला भएका थिए ।

दाजूसँग बिदाइ भएपछि म केहीबेर भारी मिलाउन थाल्छु । भोलि बिहान भालेको डाकमा पहाडको बाटो लाग्नु पर्ने थियो । आ…५० किलो त जसरी पनि सक्छु होला भनेर त्यति बोक्ने मैले योजना बनाएको थिएँ । भारीतारी मिलेपछि खुशी हुँदै हामी खाना पकाउन थाल्छौं । मेरो खाना खाने जोडी डिल्लु माइलासँग थियो । मभन्दा तीनवर्ष जेठो तर साइनोले ऊँ मेरो भतिज भएता पनि मभन्दा झण्डै दुई फिट जति अग्लो थियो । खाना पकाउने क्रममा मैले भाँडामा भात बसाउँदा उनले कराहीमा गुन्द्रुक भुलभुली उमालिसकेको थियो ।

जब हामी दुईजनाको खाना खाने समय हुन्छ । डिल्लु माइलाले झोलादेखि एक फ्वाँक फर्सीको बिया र निभुवाको अचार उसको थालमा निकालेर फ्यास्सै हाल्छ । उसले लुकाएर बोकिरहेको त्यो अमिलो अचार देखेर मेरो मुखदेखि सरर पानी आउछ । अब त्यति हिमचिमको मान्छे भन्ठानेर, –

“माइँला ! मलाई पनि अलिकति अचार देऊ न ?”

म सानो स्वर निकालेर मगन्ते हुन्छु । तर मेरो माइँला भतिज पनि के कम रहेछन र ? मेरो कुरो सुन्ने बितिक्कै उनले मेरो छातीमा तीखो बाणले बेस्सरी प्रहार गर्छ ।

“बाबै ! बाँडियो भने त सक्किहाल्छ नि, त्यसैले के दिन्थे, दिँदै दिन्न ? मलाई भोलीको लागि चाहि हाल्छ नि ?”

अक्सफोर्डसायर – इङ्गल्याण्ड ।

तीस वर्ष अगाडि बाबु बिस वर्ष अगाडि आमा र गत वर्ष डिल्ली माइँलालाई यस धर्तीबाट सँधै सँधैको लागि बिदा गरिसकेको छु । उहाँहरु सबैजनालाई श्रद्धसुमन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!