एटा संवाददाता
लण्डन । तामाङ सोसाईटी अफ युकेले पहिलो ऐतिहासिक डम्फु साँझ कार्यक्रम गरेको छ । डम्फू साँझ गत १९ अगस्ट आइतबारका दिन फार्नबोरोस्थित सामुयलकोडी स्पोर्ट कलेजमा आयोजना गरिएको हो ।
सोसाईटीका अध्यक्ष अन्जु योञ्जन तामाङ र लामागुरु प्रेम तामाङले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । सोसाइटीले पहिलोपटक गरेको डम्फु साँझमा विभिन्न सहरमा बसोबास गर्ने युकेवासी तामाङ, दाजुभाइ तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति थियो । त्यस्तै, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु पनि सहभागी थिए । तामाङ सोसाईटीले प्रत्येक वर्ष मनाउँदै आएको विभिन्न कार्यक्रमलाई स्थगित गरी प्राथमिकता साथ तामाङ जातिको ऐतिहासिक मौलिक, रीतिरिवाज, संस्कार, धर्मकर्म पहिचानहरुमध्ये अग्रपंत्तिमा पर्ने एक मात्र जातीय बाजा डम्फु पर्ने भएकोले पनि कार्यक्रमलाई डम्फु साँझले सम्बोधन गरिएको आयोजकको भनाइ छ । सोसाईटीले डम्फुको सम्झना र सम्मान गर्दै डम्फु साँझको आयोजना गरिएको हो ।
कार्यक्रममा तामाङ समुदायको पहिचानलाई केन्द्रित गर्दै विभिन्न मनोरञ्जनात्मक प्रस्तुती दिइएको थियो । जसको संयोजन सांस्कृतिक संयोजक बिमला मोक्तान तामाङ र उद्घोषण भाविका लोप्चनले गरेकी थिइन् ।
तामाङ समुदायको जातीय पहिचान झल्कने भेषभुषामा सजिएका तामाङहरुको बाक्लो सहभागिताले कार्यक्रम निकै पृथक देखिएको थियो । कार्यक्रममा नेपालबाट आएकी नेपालको लोक दोहोरी फाँटका छोटो समयमा धेरै ख्याती कमाएकी बहुचर्चित गायिका मिना लामाले विभिन्न तामाङ सेलोहरु प्रस्तुत् गरिन् । साथै, स्थानीय नेपाली कलाकारहरुको पनि बेजोड प्रस्तुती रह्यो ।
विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा साइमोन तामाङ, अमृता तामाङ, धर्म तामाङ, लक्ष्मी तामाङ, भास्कर तितुङ, अन्जु योन्जन तामाङ, भिम तामाङ, सुनिता तामाङ, बल घिसिङ र निला तामाङले डम्फु युगल जोडीको नृत्य प्रस्तुती दिए । त्यस्तै, म्हेन्दोमाया सामूहिक नृत्य समूहको नृत्य पनि कार्यक्रमको अर्को आकर्षण बनेको थियो भने देशु गोलेका एकल सेलो प्रस्तुति पनि निकै प्रसंशनीय रह्यो । त्यस्तै, स्थानीय कलाकारहरु शर्मिला स्याङ्बो, मनीता तामाङ, प्रमिला तामाङ, मनी योञ्जन, संगीता गैरे, मनीता तामााङ्ग, मुस्कान तामाङ, नेन्सी तामाङ साथ काशी राम तामाङ, जय तामाङ र प्रेम थोकर तामाङको सेलो प्रस्तुतीले थप मनोरञ्जन प्रदान
गरेको थियो ।
कार्यक्रमको अन्त्यमा सोसाइटीकी अध्यक्ष अञ्जु योञ्जन तामाङले नेपालबाट आएकी अतिथि कलाकार मिना लामालाई खादा (दोसल्हा) ओढाई सम्मान गरेकी थिइन् । त्यस्तै, उनले कार्यक्रमलाई सफल बनाउन भूमिका खेल्ने व्यक्ति, समूह, कार्यसमिति र सहभागी सबैलाई धन्यवाद दिइन् । दिउँसो करिब १ बजे सुरु भई राति १० बजेसम्म सञ्चालन भएको कार्यक्रम सोसाईटीका अध्यक्ष अन्जु योञ्जन तामाङले अध्यक्षता गरेकी थिइन् भने महासचिव ज्ञाम तामाङले सञ्चालन गरिएको सोसाईटीका मिडिया प्रतिनिधि लक्ष्मी घिसिङले जानकारी दिए ।






