
धौलासिरीका मेजन पुन
प्रस्तुति: चिम्खोले काईला
साहित्यकार, पत्रकार, चलचित्र निर्देशक तथा नायक मेजन पुनद्वारा लिखित उपन्यास ‘धौलासिरी” प्रकाशित भएको सुन्नसाथ धौलासिरी उपन्यास अध्ययन गर्नको लागि नेपालमा फोन गरेर मगाएको थिए। तर धौलासिरी उपन्यास मेरो हातमा नपर्दै गैर आबासीय नेपाली संघ (एनआरएनए) युकेका पुर्बअध्यक्ष तथा समाजसेवी योग कुमार फगामी भाइले डा. महाबिर सर र मेजन सरको पुस्तक हुलाकद्वारा पठाइदिनु भएको रहेछ। मेरो लागि ‘के खोज्छस् कानो, आँखो’ भने झैँ भयो। योग फगामी भाइलाई धन्यवाद।
उपन्यासकार मेजनजिले पुस्तकको नाम धौलासिरी जुराउनु भएको रहेछ। मेजनजि हजुर त सिंगापुरतिर जन्मनु, हुर्कनु भए होला, बुटवल, काठमाण्डौ र पोखरातिर अध्ययन गर्नु भएहोला । हजुर जहाँ रहेपनि पुस्तकको नाम आफ्नो पितापुर्खा जन्मेको र हुर्केको थातथलोको नाम जुराउनु भएकोमा एकदम सहि लागेको छ। धौलासिरी भनेपछि आफ्नै जस्तो लाग्छ। किनभने मेरो गाउँ चिमखोला धौलासिरीको काँखमै छ। धौलासिरीको नाम मोडिएर आजभोली धौलागिरी भएको छ। वास्तबमा धौलासिरी हिमालको पौराणिक नाम धौलासिरी नै थियो । कालान्तरमा आएर धौलाश्री नाम रहन गयो र आजभोली धौलागिरी भएको छ ।
धौलासिरी हिमालबाट चिमखोला भएर बग्ने खोलालाई रबरखोला भनिन्थ्यो। कालान्तरमा आएर राउघाट खोला भनिन्थ्यो तर आजभोली रघुगंगा नदि भनेर पुकारिन्छ। त्यस्तै धौलासिरीको बायाँतिरबाट बग्ने खोलालाई मयाङदी खोला भनिन्थ्यो आजभोली म्याग्दी नदि भनेर पुकारिन्छ भने दायाँबाट बग्ने खोलालाई काली खोला भनिन्थ्यो भने आजभोली काली गण्डकी, कृष्ण गण्डकी तथा शालिग्राम नदी भनेर पुकारिन्छ। खै के भनौ र? भाषिक तथा धार्मिक दमन भनुकि? अतिक्रमण ? भनेर बुझ्न नसकिएको समयमा तथा शहरमा हुर्केर पनि गाउँको रहन सहन बारेमा खोज तलास गर्दै धौलासिरी नामक उपन्यास तथा पुस्तक प्रकाशित गर्नु भएकोमा हार्दिक बधाई दिन चाहन्छु।
म्याग्दीमा भाषिक र धार्मिक दमन र अतिक्रमणको बयान गर्ने हो भने इतिहाँसको धेरै पुस्तकहरु बन्न सक्छ। धौलासिरी उपन्यासमा मेजनजीले घुमाइ फिराइ धौलासिरी आसपासमा बसोबास गर्ने पुन मगर जातिको मौलिक सांस्कृतिक, परम्परा, चलनचल्ती, रितिरिवाज, संस्कार, भेषभुषा, भाषा तथा स्थानीय बोलीचालीलाई टपक्कै टिपेर उपन्यासमा राख्नु भएको छ। उपन्यासमा खेतबारी, पाखापखेरो, खोलानाला, बनजंगलको नाम मज्जाले उपयोग गर्नु भएको छ।
उपन्यासकारले उनका गाउँको चांडपर्व भिउसन पूजा, भूमे पूजा, शिवरात्रीलगायत वरपर गाउँका मेला तथा चांडपर्वहरुलाई पनि टपक्कै टिपेर कथाबस्तुमा समाहित गरेका छन। उपन्यासका पात्रहरुको यावत नामहरु काल्पनिक होइनन्। मेजनजीले बेग गाउँ तथा वरपरका गाउँहरुको पुरुष तथा महिलाहरुको नाम तथा झ्याँस (उपनाम) लाई टपक्कै टिपेर माला उनेझैँ उनेर पात्रहरुलाई दिनु भएको छ। उनको यो खुवीलाई मान्नै पर्छ। यो पुस्तक तथा उपन्यास अध्ययन गरिरहदा उनको पुरा दिमाग गाउँमै केन्द्रित भएको आभास गरेको छु। उपन्यासकारले उपन्यासमा उनलाई मन पर्ने गाउँका एक युवतीको नाम पात्रको रुपमा उभाउनु भएको छ। ति पात्रलाई उनले कथा बस्तुमा धेरै भूमिका दिएका छैनन् ।
उपन्यासमा सुर्जेको आमाको दर्दनाक कथा लुकेको छ। स्वर्गीय श्रीमानको वियोग, सुर्जेको उमेर कलिलो, गाउँको साहुको ऋण। शिकार खेल्दा आफ्नै साथीले मृग भनेर सेतीको श्रीमानलाई मारेपछि सेतीको बेहाल नै छ। पुस्तक किनेर अध्ययन गरेमा धौलासिरी वरपर बसोवास गर्ने पुन मगरहरुको धेरै वास्तविक कुराहरुको ज्ञान हुनेछ।






