खोटाङ सेवा समाज बेलायतद्वारा सम्मान र पुरस्कार प्रदान

SHARE:

खोटाङ ७ अप्रिल २०२५ । खोटाङ सेवा समाज बेलायत (युके)ले शिक्षाविद् चतुरभक्त राईलाई ‘खोटाङ नागरिक सम्मान–२०८०’ र कवि चन्द्र रानोहँछालाई ‘खोटाङ प्रतिभा पुरस्कार–२०८०’ प्रदान गरेको छ ।

बेलायतमा बसोबास गर्दै आएका खोटाङ्गेहरुले सन् २००७ मा स्थापना गरेको संस्थाले शनिबार दिक्तेलमा आयोजित कार्यक्रममा शिक्षाविद् चतुरभक्तलाई रु एक लाख राशिको खोटाङ नागरिक सम्मान र कवि रानोहँछालाई रु ५० हजार राशिको खोटाङ प्रतिभा पुरस्कार प्रदान गरेको हो ।

शिक्षा, समाजसेवा र साहित्यका माध्यमबाट आफ्नो माटो, समाज र राष्ट्रलाई पुर्‍याएको योगदानको कदर गर्दै शिक्षाविद् चतुरभक्त र साहित्यका क्षेत्रमा पुर्‍याएको योगदानको कदररुवरुप कवि रानोहँछालाई सम्मान एवम् पुरस्कृत गरिएको खोटाङ नागरिक सम्मान तथा प्रतिभा पुरस्कार कोष विभागका संयोजक डिल्लीराम राईले जानकारी दिए ।

सम्मानित शिक्षाविद् चतुरभक्त र पुरस्कृत कवि रानोहँछालाई प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेश सरकारका पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईलगायतले नगदसहित ताम्रपत्र प्रदान गरेका छन् ।

समाजले साहित्य, कला, सङ्गीत, शिक्षा, खेलकुद, समाजसेवालगायतका माध्यमबाट आफ्नो गाउँ, समाज र राष्ट्रलाई सेवा पुर्‍याउँदै आएका ६० वर्षमाथिका व्यक्तित्वलाई नागरिक सम्मान तथा २० वर्षमाथिका प्रतिभालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ । समाजले यस वर्षको सम्मान र पुरस्कार जिल्लामा आयोजना गरिएको ‘खोटाङ–युके निःशुल्क स्वास्थ्य शिविर’ समापनको अवसर पारेर प्रदान गरेको हो ।

समाजमा आवद्ध २५ जना सदस्यबाट सङ्कलन गरिएको रकमबाट स्थापना गरिएको ११ लाख रुपैयाँको कोषको ब्याजले हरेक तीन/तीन वर्षमा एकजनालाई सम्मान र एकजनालाई पुरस्कृत गर्ने गरिएको समाजका महासचिव राजेन रामजङ राईले जानकारी दिएका छन् ।

पहिलो चरणमा कृषिविज्ञ मदन राई र गायक रुपकुमार राई, दोश्रो चरणमा साहित्यकार जसराज किराँती र सँगीतकार शान्तिराम राई, तेश्रो चरणमा शिक्षासेवी एवम् समाजसेवी ईमानसिं राई र गीतकार टीका चाम्लिङ, चौथो चरणमा स्वास्थ्यकर्मी ध्रुबलक्ष्मी राई र सञ्चार अभियान्ता टंकबहादुर थापा तथा पाँचौँ चरणमा शिक्षाविद जयकुमार राई र साहित्यकार एवम् प्राध्यापक डा धनप्रसाद सुवेदीलाई नागरिक सम्मान तथा खोटाङ प्रतिभा पुरस्कार प्रदान गरिसकिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!