बेलायतका क्या हरिबहादुर, खुमहादुरसहित मगर प्रकाशन समितिका आजीवन सदस्यहरु सम्मानित

SHARE:

काठमाडौं १८ अप्रिल २०२४ । मगर प्रकाशन समितिले संस्थाका आजीवन सदस्यहरुको सहयोगको उच्च कदर गर्दै सम्मान गरेको छ ।

मगर प्रकाशन समितिको उद्देश्यअनुरुप मगरसम्बन्धी जर्नल, पुस्तक तथा साहित्यक कृतिहरु प्रकाशनका लागि आर्थिक सहयोग गर्ने आजीवन सदस्यहरुलाई सम्मान गरेको मगर प्रकाशन समितिले जनाएको छ । नेपाल मगर संघको केन्द्रीय कार्यालयको सभा हल काठमाडौंमा एक कार्यक्रम आयोजना गरी समितिका आजीवन सदस्य तथा मगर संघ बेलायतका सल्लाहकार सदस्य क्याप्टेन हरि बहादुर थापा मगर, मगर प्रकाशन समितिका सहसंयोजक एवम् मगर संघ अमेरिकाका निवर्तमान अध्यक्ष कुलदीप रानामगर, मगर प्रकाशन समितिका आजीवन सदस्य तथा मगर संघ बेलायतका सल्लाहकार खुम बहादुर कुँवर मगर र मगर प्रकाशन समितिकै आजीवन सदस्य तथा मगर संघ अमेरिकाको सदस्य मञ्जु थापामगरलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले मगर जातिको पहिचान स्थापित गर्नका लागि सम्पूर्ण मगरहरुले आ–आफ्ना क्षेत्रबाट योगदान दिनु पर्ने बिचार राखेका छन् । “मगरहरुको गाउँपिच्छे फरक फरक संस्कार र संस्कृति आझै पनि जिबित छन् तर ती संस्कार र संस्कृतिहरुको अभिलेखीकरण हुन सकेको छैन” अध्यक्ष पुनले भने, “हाम्रो चलन चल्ती, भाषा, कला र संस्कृतिको लिखित दस्तावेजीकरण गरेर यसको संरक्षण र प्रवर्धनमा शिक्षित मगरहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।”

मगर प्रकाशन समितिका संयोजक डा.नरमाया थापामगरको अध्यक्षतामा सम्पन्न भएको सम्मान कार्यक्रममा मगर प्रकाशन समितिका संरक्षक डा. विष्णुकुमार सिंजालीमगरले मगर प्रकाशन समिति गठन गर्नुको औचित्यबारे प्रकाश पारेका थिए । कार्यम्रममा मगर प्रकाशन समितिका सल्लाहकार सदस्य देउ बहादुर रानामगर, सम्मानित व्यक्तित्वहरु क्याप्टेन हरि बहादुर थापामगर, कुलदीप रानामगर, खुम बहादुर कुँवर मगर लगायतले मगरसम्बन्धी जर्नल, पुस्तक तथा साहित्यक कृतिहरुको प्रकाशनले मगर जातिको राम्रा अभ्यास, भाषा कला, र संस्कृतिको संरक्षणमा सहयोग पुग्ने बिचार राखेका थिए ।

प्रकाशन समितिका सचिव असबीर सारुमगरको सञ्चालनमा सम्पन्न सम्मान कार्यक्रममा कोषाध्यक्ष प्रमिला थापामगले स्वागत मन्तव्य राखेका थिए ।
मगर प्रकाशन समितिका कोषाध्यक्ष प्रमिला थापामगरका अनुसार हाल सम्म समितिको सदस्य शुल्क, आजीवन सदस्य शुल्क, आर्थिक सहयोग संकलन, पुस्तक वितरण तथा बैँकबाट प्राप्त व्याज गरी २४ लाख १५ हजार ३१९ रुपियाँ अक्षरकोषमा जम्मा भएको छ । संकलित कोष मध्ये १२ लाख १२ हजार रुपियाँ कृति प्रकाशनमा खर्च भएको र १२ लाख ३ हजार ३१९ रुपियाँ बैँकको बचत खातामा मौज्दत् रहेको कोषाध्यक्ष थापाले बताए ।

मगर प्रकाशन समितिको स्थापना पश्चात प्राचीन मगर र अक्खा लिपी, मगर अध्ययन भाग २, मगर खामको पहिलो हाईकु सङग्रह, मगर खामको पहिलो सस्मरण सङग्रह जिन्दागीलै वल्दे रङ्क, मगर खाम भाषाको पहिलो बालगीत सङग्रह (कोलापी), मगर खाम भाषाको पहिलो नाटक आदलाका स्युल, खाम भाषाको शब्दकोष, पुन मगरहरुको कथा संग्रह, तराली मगर संस्कृति र तिछुरोङ पोइके भाषाको वर्णमाला र रुपरेखा जस्ता १४ कृतिहरु प्रकाशन गरी बिक्रि बितरण गरिरहेको प्रकाशन समितिले बताएको छ ।

समितिका संयोजक डा.नरमाया थापामगरका अनुसार केही कृतिहरु प्रकाशनको क्रममा छन् । सम्मान कार्यक्रममा प्रकासित कृतिहरु प्रकाशनका लागि सहयोग गर्ने मगर संघ अमेरिका तथा निवर्तमान अध्यक्ष कुलदीप रानामगरलाई समितिका संयोजक थापाले विशेष धन्यवाद दिए । यस संस्थामा हालसम्म जम्मा ७३ जना सदस्यहरु छन् । १७ जनाको कार्य समिति रहेको प्रकाशन समितिमा तीनजना आजीवन सदस्य, ४५ जना साधारण सदस्य र आठ जना सहयोगीदाताहरु रहेको प्रकाशन समितिले जनाएको छ । मगर जाति सम्बन्धी अध्ययनमूलक जर्नलहरुको प्रकाशन गरी मगरहरुको मौलिकता, भाषा–संस्कृति, राम्रा अभ्यास र चालचलनहरुको संरक्षण र प्रबद्र्धन गर्ने उद्देश्यकाले मगर प्रकाशन समितिको गठन भएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!