पाँचथर १९ अप्रिल २०२४ । स्व. रामप्रकाश समथिङद्वारा संकलित ओयामका जनप्रतिनिधिहरु नामक पुस्तक विमोचन र चर्चा गरिएको छ ।
पाँचथरको आयोयममा एक कार्यक्रमकाबीच पुस्तक विमोचन तथा पुस्तक चर्चा र कविता प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि, लेखक तथा पूर्वमन्त्री श्रीप्रसाद जबेगु लगायतले विमोचन गरेका थिए ।
सो अवसरमा ओयामका शिक्षासेवी भिमकुमार सेलिङद्वारा लिखित ओयाम दर्पण र सेलिङपुत्री लिला सेलिङ माबोद्वारा लिखित याक्थुङ लिम्बू भाषाको कविता कृति सेप्माङ्लकको चर्चा गरिएको थियो ।
पुस्तकमाथि प्रमुख अतिथि जबेगुसँगै फालेलुङ वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङ, साहित्यकार मधुराज केरुङ, मनोज राई, बाबुराम पौडेल र सुनिल आङ्बोले समिक्षात्मक टिप्पणी राखेका थिए ।
सो अवसरमा लेखकद्वय भिमकुमार सेलिङ र लिला सेलिङ माबोलाई याङवरक गाउँपालिका ३ नंम्बर वडा कार्यालयले सम्मान गरेको थियो । लेखनको माध्यमबाट ओयामको प्रतिष्ठा उच्च बनाउन योगदान पुर्याएकोमा लेखकद्वयलाई सम्मान गरिएको वडाअध्यक्ष बिमल राईले बताए ।
कविता प्रतियोगितामा पवित्रा प्रयत्न प्रथम, बिनोद ओडारी द्वितीय र उमा ओडारी तृतीय भएका थिए । उनीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।






