लन्डन । बेलायतमा बसोबासरत साहित्यकार संगीता श्रेष्ठ स्वेच्छाले उपन्यास ‘सेतो सिउँदो’ पाठकमाझ पस्केकी छन् ।
स्वेच्छाद्वारा लिखित उपन्यास ‘सेतो सिउँदो’ शनिबार साउथ ह्यारोमा आयोजित एक कार्यक्रममा विमोचन गरिएको हो । सोही अवसरमा पोर्चुगलमा बसोबास गर्ने साहित्यकार सबु श्रेष्ठको मुक्तकसंग्रह ‘अपरिभाषित आभा’को पनि विमोचन गरिएको थियो ।
‘सेतो सिउँदो’ उपन्यासको समीक्षा गर्दै समाजका सल्लाहकार डा रुपक श्रेष्ठले १८ वर्षको उमेरमा लेखिएको उक्त उपन्यासमा तत्कालीन नेपाली समाज र नारी मनोविज्ञानको यथार्थ चित्रण गरिएको बताए । ‘यो मानव सेवाको मूल भाव बोकेको र जीवन बोध गराउने यो उपन्यास सबै उमेर समूहका पाठकहरुका लागि पठनीय छ,” उनले भने ।
उपन्यासकार डा संगीता श्रेष्ठ स्वेच्छाले आफ्ना पिताको प्रेरणाले सेन्ट जेभियर्स कलेजबाट आइएससी दिएर बसेको समयमा आफूले उक्त उपन्यास लेखेको स्मरण गरिन् ।
समाजकी कोषाध्यक्ष प्रतिमा केसीले मुक्तकसंग्रह ‘अपरिभाषित आभा’ को समीक्षा गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ नेत्र चिकित्सक डा बीरेन्द्र अमात्य, कुमार केसी, प्रेम खड्का, गङ्गा भण्डारी, जीत बुढाथोकी, विशन थापा, टेक बहादुर थापा, गोपी सापकोटा, बासुदेव सापकोटा, सारा देवी गुरुङ, माया गुरुङ लगायतका सर्जकहरुले आआफ्ना रचना सुनाएका थिए ।
समाजकी उपाध्यक्ष माया गुरुङले सबै सहभागीहरुलाई स्वागत गरिन भने समाजका अध्यक्ष राज श्रेष्ठले सबैलाई धन्यवाद दिए ।






