५ जुन २०२४ लण्डन । विश्व नेपाली साहित्य महासंघ (विनेसाम) ले नवौं वातावरण साहित्य गोष्ठी सम्पन्न गरेको छ । भर्चुअलरुपमा आयोजना गरिएको कार्यक्रममा चार दर्जनभन्दा बढी सर्जकले पर्या सिर्जना (कविता, मुक्तक, गजल, गीत, लघुकथा र हाइकु) वाचन गरेर सुनाए ।
जुम प्रविधिमार्फत् सञ्चालित विश्व वातावरण दिवसलाई पारेर गरिएको साहित्य गोष्ठीमा प्रमुख अतिथि संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान पूर्वकुलपति, पागल बस्ती उपन्यासको लागि मदन पुरस्कार प्राप्त साहित्यकार सरु भक्त थिए । पचासको दशकमा पोखराबाट आफूले संरक्षण कविता यात्रा संयोजन गरेको स्मरण गर्दै ‘वैदिककालमै मानिसलाई पृथ्वीको चिन्ता थियो, त्यसर्थ अहिले आएर विश्वको वातावरणप्रतिको चिन्ता नयाँ होइन वातावरणीय समस्या नयाँ हुन’ भनेर आफ्नो मन्तव्यको क्रममा भने ।
त्यसैगरी विशिष्ट अतिथि- समालोचक/साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराई थिए । आफ्नो छोटो मन्तव्यको क्रममा आफूले लेखेको सिद्धान्तको पुस्तक ‘उत्तर आधुनिक विमर्श’ मा ‘इको क्रिटिसिजम् सिर्जना तथा समालोचनाको नविनतम क्षेत्र’ भनेर एक अध्याय लेखेको जानकारी दिँदै अब साहित्यकारले पर्या चिन्तनतिर लागेर सिर्जना कोर्नपर्ने बेला आएको बताए । साथै समाजशास्त्र, राजनीति, इकोलोजी, वायोलोजी, वन विज्ञान, अर्थशास्त्र, क्लाइमेट चेन्ज जस्ता विषयहरुको समिस्श्रण हो पर्या साहित्य भन्दै पर्या साहित्य सिद्धान्तको पनि वर्णन गरे ।
यस कार्यक्रमका मुख्य वक्ता- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत वातावरण अधिकृत रीना चौधरीले समग्रमा नेपालको वातावरणीय अवस्था के कस्तो छ भनि औल्याइन् । उनले अहिलेको मनसुन सिजनमा बाढी पहिरो जस्ता विपत ब्यवस्थापन गर्न सरकारको पूर्वतयारी पूर्ण भैसकेको पनि जानकारी दिइन् । वन तथा डढेलो नियन्त्रण र व्यवस्थापनको जिम्मेवारी बहन गरेकी चौधरीले नेपालमा अधिकांश डढेलो मानवीय कारणले हुने भन्दै यसको नियन्त्रणमा सरकारसँग स्रोत र साधन कमी रहेको दुखेसो ब्यक्त गरिन् ।
साहित्यपोस्टले पर्या–अभियन्ता तथा साहित्यकार विजय हितानसँगको सहकार्यमा ‘पर्या–साहित्य’ खण्ड सुरु गरेको छ । यस अन्तर्गत वि.स. २०८० सालभरिमा साहित्यपोस्टमा प्रकाशित पर्या–कविताहरुबाट उत्कृष्ट ३ को छनोट गरी यसै कार्यक्रममा ती कविहरुको नाम पनि घोषणा गरिएको थियो ।
उत्कृष्ट ३ कवितामा प्रथम किशन पौडेलको ‘बुढो बागमतीको आलाप’, द्वितीय समीम वैरागीको ‘नदुखाइदिनु मेरो छाती’, र तृतीय भारती न्यौपानेको ‘धरा’ भएको छ ।
खुपेन सुनुवारको ‘आदिम हिमनदीको विद्रोह आधुनिक सभ्यताविरुद्ध’, नारायण भट्टराईको ‘भिजेको सिरानीमाथि हरिया सपना’, प्रज्ज्वल अधिकारीको ‘औरही नदी’, राजु प्रधान हिमांशुको ‘दन्तेकथा जस्तो लाग्छ मेरो नातिलाई’, रुपा थापाको ‘पृथ्वी बलिरहेछ’, शरद्शोभाको ‘सच्चा राष्ट्र सेवक’, र सुमन भट्टराईको ‘पर्या–क्रान्ति’ उत्कृष्ट १० कवितामा परेका छन् ।
वासुदेव अधिकारी, विमला तुम्खेवा र विजय हितान सम्मिलित तीन सदस्यीय निर्णायकको समूहले यो निर्णय गरेको हो ।
प्रथम, द्वितीय र तृतीय हुने कविताका सर्जकहरुलाई क्रमशः रू १५ हजार, १० हजार र ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने छ । पुरस्कृत कविहरुलाई विनेसाम केन्द्रले दसैँ–तिहारबीचमा काठमाडौंमा आयोजना गर्ने ‘विश्व सम्मेलन’का बीच भौतिक रुपमै पुरस्कार प्रदान गर्नेछ ।
यो वर्षको वातावरण दिवसको नारा ‘भूमि पुनस्र्थापना, मरुभूमिकरण र खडेरी प्रतिरोध’ रहेको थियो ।
सन् २०१६ मा लण्डनदेखि सुरु भएको वातावरण साहित्य गोष्ठीको यो नवौं शृङ्खला हो । नेपालमा पर्या साहित्यलाई साँगठानिक तरिकाले प्रवर्धन गर्ने उद्देश्यले ‘नेपाली पर्या साहित्य प्रतिष्ठान’को स्थापना पनि गरिसकिएको विजय हितानले जानकारी दिए ।
गोष्ठीमा विनेसाम नेपाल प्रमुख तथा संगठन सचिव कल्पना पौडेल जिज्ञासुले स्वागत मन्तव्य राखेकी थिइन् । विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेसीको सभापतित्वमा चलेको कार्यक्रमको संयोजन तथा संचालन विनेसाम केन्द्रीय उपाध्यक्ष विजय हितानले गरेका थिए ।






