पोखरा १३ जुलाई २०२४ । अग्रज पत्रकार खेमबहादुर सारुमगर ‘कर्म-कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् ।
आदिवासी जनजाती पत्रकार महासंघ कास्कीले शनिबार पोखरा नयाँबजारस्थित तमु धिं नेपालको भवनमा आयोजना गरेको कार्यक्रममा पत्रकार सारुमगरलाई उक्त पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कार तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म तमुको वैवाहिक वर्षगाँठको अवसरमा उनले स्थापना गरेकी हुन् ।

पत्रकार दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा सदस्यहरु शान्ति गुरुङ, हुमबहादुर तमु, उदयबहादुर अमात्य, पञ्चसुब्बा (दिलप्रसाद गुरुङ) र शुशील श्रेष्ठ रहेको पाँच सदस्यीय छनौट समितिले मगरलाई वर्ष २०८१ को ‘कर्म-कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार’ दिन सिफारिस गरेको थियो । पाल्पा घर भई हाल पोखरा बस्दै आएका पत्रकार मगर लामो समयदेखि रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र मालेपाटन पोखरामा आबद्ध छन् ।
कार्यक्रममा मन्तव्य राख्दै पुरस्कार स्थापना गर्ने समाजसेवी तथा तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले आवाजविहीनहरुको आवाज उजागर गर्न आफ्नो परिवारले गरेको सम्मानबाट प्रेरणा मिलोस्ने भन्ने शुभकामना दिइन् ।
उक्त पुरस्कारबाट यसअघि पत्रकारहरु रिता गुरुङ, तिलक पुनमगर, हर्क आलेमगर, राजबहादुर गुरुङ, शान्ति गुरुङ सम्मानित भएको फोनिजले जनाएको छ । यस्तै एम.बि. आस्थामगर, हुमबहादुर गुरुङ, उदयबहादुर अमात्य, रुद्र श्रीसमगर, दीपेन्द्र श्रेष्ठ पनि सम्मानित भइसकेका छन् ।






