डा. प्रेम आले
केपी ओली सरकारको गृहमन्त्री रामबहादुर थापाको बारेमा अहिले सर्वत्र चर्चा छ । जनयुद्धकालमा ‘बादल’ उपनामले चर्चित माओवादी नेता थापा नेपाली राजनीतिमा स्वच्छ छवि बनाएका एक इमान्दार, मेहनती र जनप्रिय नेता हुन् । हक्की स्वभावको, कम बोल्ने तर बोलेको काम गरेर देखाउने गृहमन्त्री थापालाई बेला बेलामा ‘मिडिया मैत्री’ नभएको आरोप पनि लाग्ने गर्छ ।
गृहमन्त्री बनेपछि यसअघि कसैले आँट गर्न नसकेको काम गरेर एकाएक चर्चा कमाएका बादललाई फेरि मिडियाकर्मीहरुले ‘सुनियोजित रुप’मै एकपछि अर्को गर्दै किन विवादित बनाउन खोज्दै छ ? जनतामाझ भ्रम सिर्जना गरेर बादललाई असफल गृहमन्त्रीको पगरी भिराउँदै गरेको यस अवस्थामा देशको राजनीति कतातिर गएको संकेत हुन्छ ? यो लेख यसैमा केन्द्रित रहने छ ।
विचार, सिद्धान्त र नेतृत्वशैलीका कारण नेताहरु जनतामा स्थापित हुन्छन् । त्यस्तै नेताको स्वभाव, जीवनशैली र व्यवहार¬–कार्यशैलीले पनि जनताले उनीहरुप्रति आफ्नो सोच र धारणा बनाउँछ । सबै गुणले सम्पन्न नेताहरु त कमै हुन्छन् । यस्ता कतिपय गुणहरु जानबुझ बनाउन सकिने पनि होइन ती कि वंश र परिवारबाट आएको हुन्छ कि संघर्षमय जीवनको दौरानमा समय र परिस्थितिको अनुकुलता र प्रतिकुलताले निर्माण गरेको हुन्छ । बादल पनि यसको अपवाद होइन । कम बोल्ने स्वभाव भएकोले धेरैलाई उनको भित्री कुरा बुझ्न अप्ठ्यारो हुन्छ । त्यसैले उनलाई ‘मिडियामैत्री नभएको’ आरोप लागेको हुनु पर्दछ । तर अन्य नेताझैं धेरै (अनि कहिलेकाहीं जथाभावी बोल्ने) र सबैलाई आश्वासन बाँडेर खुसी बनाउन चाहने नेताको झुण्डमा उनी पर्दैनन्, पनि । यसलाई उनको कमजोरीको रुपमा चित्रण गर्न खोजिनु गलत हुन्छ । बरु उनी त जनताको लागि पूर्ण रुपले समर्पित ‘एक्सन हिरो’ हुन् । कुरा कम, काम धेरै गरेर देखाउने थोरैमध्येको एक इमान्दार नेता हुन्, उनी ।
केहीले बादलको कामलाई ‘फौजी’ शैलीको भनेर टिप्पणी पनि गरेका छन् । सायद फौजी पृष्ठभूमिबाट आएको बादलको लागि ‘फौजी’ शब्द सुहाउँदो पनि छ । उनका बुवा भारतीय सेनाका सुवेदार मेजर तहसम्म पुग्ने एक इमान्दार, कर्मठ र लगनशील सिपाही थिए । उनका दुई भाइहरु पनि भारतीय सेनाबाट अवकाशप्राप्त गोर्खाहरु हुन् । गोर्खा सैनिकको इमान्दारिता र बहादुरीताको बारेमा त दुश्मनहरुसम्म चकित भएको कुरा यहाँ वर्णन गर्नु जरुरी छैन । यो पृष्ठभूमिबाट आएको बादलको स्वभाव फौजीसरह हुनु स्वाभाविक हो । माओवादी जनयुद्धकालको फौजी रणनीतिकार बादललाई उनको पारिवारिक र ‘लडाकु जाति’को पृष्ठभूमिले पनि ईमान्दार, लगनशील र मेहनती बनाउन सहयोग गरेको हुनु पर्दछ । फौजी मान्छे जस्तो दिएको काम फत्ते नभएसम्म धुरन्धुर लाग्ने, नचाहिँदो प्रतिवाद नगर्ने र कसैसित पनि प्रतिशोध नसाँध्ने अथवा यसो भनौं, ‘कर्म गर्ने, फलको आशा नगर्ने’ बादलको काममा फौजी शैली हाबी हुनु स्वाभाविकै हो । फौजी शैली नराम्रो होइन, बरु अहिलेको लथालिङ्ग नेपालको सन्दर्भमा यो शैली सटिक छ । यसलाई नराम्रो गर्न खोज्ने नियत नराम्रो हो ।
गत हप्ता केही ठूला भनिएका पत्रिकाहरुले बादलको विरुद्ध एकाएक बिषबमन गरे । यी पत्रिकाहरुले देशमा हालै घटेको बलात्कार तथा हत्या हिंसाको घटनालाई मुख्य मुद्दा बनाएर लेखेका थिए । एकै दिन उस्तै–उस्तै हेडलाईन दिएर उनको बारेमा आएको नकारात्मक समाचार सुनियोजित थियो भन्न सकिने आधार प्रशस्त छन् । सबै दोष बादलमाथि खन्याएर आफ्नो ‘मालिकभक्ति’ राम्रैसित निर्वाह गरेको बुझ्न गाह्रो छैन । ती मालिकहरु कुन हुन् त ? ती मालिकहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुँजीपति तथा यथास्थितिवादी माफिया गुटहरु हुन् जस्ले नेपालमा गैरलगानी गरेर अकूत सम्पति कमाउँदै आएका छन् । सुशासन र शान्ति भएमा गैरव्यवसायमा अंकुश लाग्ने भएकोले उनीहरुले नेपालमा अस्थिरता कायम राख्न चाहन्छन् । ‘के निहुँ पाउँ र कनिका बुकाउँ’ भनेझैं बलात्कार, हत्या र हिंसाको घटना घटेपछि उनीहरु बुरुक्कै उफ्रेको प्रतित हुन्छ । यस्ता घटनाहरु यसअघि नघटेको होइन हुन्थ्यो । तर त्यो बेला ‘मनी र मसल’ पावरले यस्ता घटनाहरुलाई लुकाईन्थ्यो । भित्र–भित्रै मिलेमतो गरिन्थ्यो, उजुरी गरिँदैनथ्यो । अहिले त्यसो गर्न सक्ने अवस्था नभएपछि घटना पहिलेभन्दा बढी देखिएको हो र विरोधीहरुले सामाजिक संजाललगायत सबै च्यानलहरु प्रयोग गरी यसलाई अनावश्यक बढवा दिएको हो । बास्तविकता यही हो ।
बलात्कारपछि हत्या भएको कन्चनपुरको चर्चित घटनाको छानबिनमा त्रुटी भएको आशंकापछि गृहमन्त्री थापाले तत्कालीन प्रहरी प्रमुखलाई निलम्बन गरेका छन् र तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई पनि केन्द्रमा बोलाएर छानबिनको दायरामा राखेका छन् । साथै गृहमन्त्रीले गठन गरेको उच्चस्तरीय छानबिन समितिले अहिले छानबिन गरिरहेको अवस्था छ । यसको अन्तिम नतिजा नआउँदासम्म ‘यो या त्यो’ बोल्नु उचित हुँदैन । त्यस्तै ३३ किलो सुन प्रकरणबाट सुरु भएको अनुसन्धानले पनि धेरै उपलब्धि हासिल गरेको प्रतित हुन्छ । सुन तस्करसँग जोडिएका केही माथिल्लो दर्जाको प्रहरीहरु, सुन व्यापारी तथा राजनीतिक नेताहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । सत्य–तथ्य ढिलोछिटो आउला नै, आउनु पर्दछ । तर छानबिनको प्रक्रियामा रहेको यस्तो संवेदनशील विषयलाई माध्यम बनाएर अहिले नै गृहमन्त्री ‘सफल या असफल’ भनि पत्रिकामा भन्नु कति उचित हुन्छ ? कस्को खातिर यस्तो अपरिपक्व गैरजिम्मेवारपूर्ण हौवा फिजाइँदै छ ? यस्को जवाफ माथि नै दिइसकिएको छ । त्यो हो उही मालिकका खातिर । अहिले यत्तिसम्म भन्न सकिन्छ कि सुन तस्कर माफियाहरुको संजाल च्यातिएको छ । तिनीहरु आत्तिएका छन् र आफ्नो बचाउको लागि मिडियालाई प्रयोग गरी गृहमन्त्री र सरकारको विरुद्ध ज्यान दिएर लागेका छन् ।
अनर्गल प्रचार प्रसार गरेर बादललाई असफल देखाउन अहिले पार्टीभित्र या बाहिरका गुटहरु लागेका छन् । उनलाई असफल बनाउँदा पार्टीभित्रका केही नेताहरुले आफ्नो भविष्य सुरक्षित हुने ठानेका होलान् । पार्टी बाहिरकाहरुले उनलाई आक्रमण गरेमा सत्ता समीकरणको गुटमा फाटो हुनेछ र भविष्यमा आफ्नो पार्टी बलियो हुन्छ भन्ने लागेको होला । फोहोरी राजनीतिमा यस्तो हुनु अस्वाभाविक होइन । जे होस्, बादल अहिले चारैतिरबाट ब्यापारी तथा राजनीतिक माफियाहरुको घेरामा परेको प्रतित हुन्छ । यो घेरा तोडेर उनी कसरी अगाडी बढ्छन्, त्यो त भविष्यले नै बताउला ।
सिन्डिकेटवाला ठेकेदारलाई कारबाही गर्नेदेखि व्यापारीहरुबाट हप्ता असुल्ने गुन्डाहरुलाई निगरानीमा राख्ने, पक्रने साहसी कदम चल्न बादल पछि हटेको छैन । त्यस्तै विदेशी लगानीहरूको अनुगमन गर्ने र नियमविपरीत गरेकालाई कारबाही गर्ने योजनाहरू बनाइरहेको बेला बादलमाथिको अनावश्यक प्रहार कस्ले गर्दैछ भन्ने कुरा सजिलै अनुमान लगाउन सक्दछ । एनजीओ, आईएनजिओको संचालकदेखि भ्रष्टाचार गर्न नपाएका लुटेराहरू, सुविधा खोसिएका केही नेताहरु र खरिद प्रकरणमा घोटाला गर्न नपाएका निजामति सेवाका देशद्रोही कर्मचारीहरु गृहमन्त्री बादलको दृढ संकल्पदेखि हैरान छन् र यस्ता अनर्गल प्रचारको लागि पैसा खर्चेका छन् । यो कुरा बहुसंख्यक नेपाली जनताले बुझेका छन् ।
हिजो जनयुद्धताका बलियो जनाधार बनाएको बादललाई पूर्वमाओवादी पार्टीभित्रको एउटा खेमाले गृहमन्त्री हुनबाट रोक्न अनेक चलखेल गरेको कुरा यहाँ जोड्न उपयुक्त होला । ‘पार्टी फुटाएर अर्को पार्टीमा गएको व्यक्ति’लाई पुरस्कृत हुने गरी गृहमन्त्रीजस्तो वजनदार मन्त्री बनाउन नहुने भनी लबिङ्ग गरेको एक झुण्ड अहिले पनि उनको विरुद्धमा लागेका छन् । बादल गृहमन्त्रीमा सफल हुँदा उनीहरु अझ पछि पर्ने उनीहरुको बुझाई छ । तर, यहाँ बुझ्नु पर्ने बास्तविकता के हो भने बादलको राजनैतिक इतिहास धेरै लामो छ, उनले जनता, पार्टी र देशको लागि निःस्वार्थ त्याग गरेका छन् । उनी नातावाद, कृपावाद र भ्रष्टाचारबाट मुक्त छन् । त्यसैले उनको पक्षमा पनि कार्यकर्ता र जनताले जोडदार जनदबाव सिर्जना गर्न सक्दछस जुन त्यस्ता केहि झुण्डको शक्ति भन्दा कयौं गुणा शक्तिशाली हुनेछ भन्ने कुरा माथिल्लो कमाण्डका नेताहरुले पनि बुझेका छन् ।
बादलले गरेका कतिपय कामहरुको नतिजा छर्लङ्ग देख्न केही समय पर्खनै पर्दछ । फौजी स्टायलबाट नै किन नहोस् भ्रष्टाचार र माफियातन्त्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जालो नच्याटेसम्म नेपालमा सुशासन र सदाचारको सिस्टम बस्न सक्दैन । त्यसैले देशलाई सुशासन र समृद्धितिर डोर्याउन बादलले गरेका कामहरु धेरै सह्रानीय छन् । नेपालको अहिलेको राजनीति त्यही सत्य–असत्य, अग्रगामी पश्चगामी दुई गुटको लडाईबाट अघि बढिरहेको छ । जति छिटो असत्यमाथि सत्य र पश्चगामीमाथि अग्रगामीको जीत हुन्छ, त्यति छिटो देशले शान्ति, सुशासन र समृद्धि पाउँछ । सत्य र अग्रगामी पक्षधर बादलको जीत सुनिश्चित छ, मात्र ढिलोचाँडो हो ।






