
लन्डन ३० सेप्टेम्बर २०२४ । नेपालका बिढीपहिरो पीडितलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । एनआरएनएको आइतबार सम्पन्न भर्चुअल बैठकले पहिलो चरणमा बाढीपीडितका निम्ति १ करोड सहयोग गर्ने निर्णय गरेको अध्यक्ष डा. बद्री केसीले जानकारी दिए ।
बैठक एनआरएनए उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सहयोग संकलन समिति गठन गरेको छ । संघका पदाधिकारी, क्षेत्रीय संयोजक र राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष समितिमा रहने छन् ।
राष्ट्रिय समितिको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा भौतिक रूपमा उपस्थित भएर राहत वितरण गर्ने तयारी छ ।
बैठकले विपद् प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न सोम सापकोटा र कृष्ण तिमल्सिनासहितको समिति गठन गरेको छ । उक्त समितिले आफ्नो प्रतिवेदन केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्नेछ । नेपालमा गत असोज ११ र १२ गतेको भरी वर्षाका कारण बागमती र कोशी प्रदेश बढी प्रभावित भएका छन् । गण्डकी र मधेश प्रदेश पनि प्रभावित भएका छन् ।
बाढीपहिरो र डुबानमा परी १९२ जनाको मृत्यु भएको छभने ३० जना बेपत्ता भएका छन् । १९४ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।






