
एटा संवाददाता
अल्डरसट । भेडी गोठालेको जीवन कथामा बनेको नेपाली चलचित्र ‘क्यु प्ह«ो छे’ अर्थात् भेडी गोठालेको बिशेष प्रर्दशन गरिने भएको छ । तमु प्ये ल्हु संघ युकेको सामुदायिक भवन तथा क्होइबो धीं निर्माण सहयोगार्थ आउने शुक्रबार २१ सेप्टेम्बर साँझ ५ बजे अल्डरसटस्थित एम्पायर हलमा प्रर्दशन गर्न लागिएको हो ।
भेडी गोठ गुरुङहरुको परम्परागत पेशा हो । जुन गोठमा गोठालेको महत्वपूर्ण भूमिका रहेको हुन्छ । कहिले लेक, कहिले बेसी गरिरहने भेडी गोठालेको वास्ताविक जीवन कसरी बितेको हुन्छ भन्ने बिषयलाई चलचित्रमा देखाउन खोजिएको छ ।
मिलन डि जि ईन्टरनेशनल प्रालिको पहिलो प्रस्तुती भेडी गोठाले अमेरीका, हङ्गकङ्ग, कतार, नेपाल, दुवाई लगायत देशहरुमा सफल प्रर्दशन भएपश्चात बेलायतमा पहिलो पटक प्रर्दशन गर्न लागिएको हो । जुन चलचित्रको लेखन तथा निर्देशन सुवास गुरूङले गरेका छन् । दुर्गा गुरुङ मिलन कार्यकारी निर्माता रहेको सो चलचित्रलाई बिक्रम गुरुङ (हङकङ), देउ कुुमारी गुरुङ (अन्जना), देउकी सिंजाली (दिपीका मिलन) र बिजया गुरुङ (हङकङ) ले निर्माण गरेका हुन् ।
अत्यन्तै मिठो गीतहरु समेत रहेको चलचित्रमा आरके गुरुङ, बसन्त सापकोटा, सूर्य गुरुङको संगीत रहेको छ । त्यस्तै, मेलिना राई, आरके गुरुङ, सुवास गुरुङ, बसन्त सापकोटा, शान्ति गुरुङले स्वर दिएका छन् । प्रकाश गुरुङ ‘काश’ को कोरियाग्राफी, सुवास गुरुङ तथा ध्वज गुरुङको नृत्य र मोहन गुरुङको मेकअप रहेको चलचित्रमा राजेश गुरुङ, आश्मी गुरुङ, सनम गुरुङ, खुशी गुरुङ, मेख गुरुङ र गौरी गुरुङको अग्रणी भूमिका रहेको छ ।
सामुदायिक भवन निर्माणमा सहयोगार्थ प्रर्दशन गर्न लागिएको चलचित्र हेरि दिनहुनका लागि आयोजक तमु प्ये ल्हु संघ युकेले बेलायतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा अनुरोध गरेका छन् ।






