नाइजेरिया १६ अक्टोबर २०२४ । उत्तरी नाइजेरियामा एउटा इन्धन ट्याङ्कर विस्फोट हुँदा करिब एक सय जनाको मृत्यु र ५० जना घाइते भएको प्रहरीले बुधबार बताएको छ ।
प्रहरी प्रवक्ता लवान शिसु आदमका अनुसार मङ्गलबार राति उत्तरी जिगावा राज्यमा ट्याङ्कर दुर्घटनामा परेपछि सडकमा पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै पीडितको मृत्यु भएको थियो । उनले माजिया शहरमा एउटा ट्रकसँग ठोक्किनबाट बच्न खोज्दा ट्याङ्कर पल्टिएको जानकारी दिए ।
दुर्घटनापछि स्थानीय बासिन्दाहरू सवारी साधनको वरिपरि भेला भएर सडक र नालीमा पोखिएको इन्धन सङ्कलन गरिरहेका थिए । नाइजेरियान मेडिकल एसोसिएसनले चिकित्सकहरूलाई बिरामीहरूको चापलाई सम्हाल्न नजिकैका आपत्कालीन कक्षहरूमा जान आग्रह गरेको छ । इन्धन ट्याङ्कर विस्फोटहरू अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरियामा सामान्य हुन् । यहाँ सडकहरू राम्रोसँग मर्मतसम्भार नगरिएको हुन सक्छ र बासिन्दाहरूले प्रायः दुर्घटनापछि इन्धन चोरी गर्ने प्रयास गर्छन् ।






