काठमाडौँ १५ नोभेम्बर २०२४ । मानव अधिकार तथा शान्ति समाजबाट बेलायतवासी लिम्बू भाषाको प्रवर्द्धक लिला सेलिङ माबो पुरस्कृत हुने भएकी छन् ।
समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत वर्ष २०८१ को ‘स्रष्टा सम्मान पुरस्कार’बाट माबोसहित १४ जना पुरस्कृत हुने भएका छन् । लिलालाई ‘चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान’ दिइनेछ । पुरस्कारको राशि जनही २० हजार रुपैयाँ रहेको छ ।
कात्तिक २८ गते सम्पन्न पुरस्कार छनोट समितिको बैठकको निर्णयअनुसार प्राणीशास्त्री वैज्ञानिक प्रा डा मुकेशकुमार चालिसेलाई ‘मानबहादुर रावल वातावरण स्रष्टा सम्मान’, संस्कृतका विद्वान् प्रा डा ऋषिराम पोखरेललाई ‘जोगमाया बराल स्रष्टा सौगात’, नेपाल भाषाकी अधिकारकर्मी प्रा डा चुन्दा बज्राचार्यलाई ‘पवित्रादेवी चौलागाईं मानव अधिकार स्रष्टा सम्मान’, साहित्यकार विवेक ओझालाई ‘कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान’, साहित्यकार बाबा बस्नेतलाई ‘भूमिप्रसाद बराल स्रष्टा सौगात’ र बान्तावा भाषाका प्रवर्द्धक पदम ‘राईलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान’ पुरस्कार प्रदान गरिनेछ ।
त्यसैगरी शान्ति समाजले पुरातत्वविद् प्रकाश दर्नाललाई राधादेवी दाहाल ‘सद्भाव स्रष्टा सम्मान’, साहित्यकार विवश पोखरेललाई ‘महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान’, साहित्यकार सत्यदेवी खड्कालाई ‘जनककुमारी रेग्मी स्रष्टा सौगात’, साहित्यकार गोपी सापकोटालाई ‘पद्यप्रसाद दाहाल स्रष्टा सौगात’, भोजपुरी साहित्यमा योगदान पुर्याउने पुजा बहारलाई ‘राधादेवी दाहाल स्रष्टा सौगात’, मैथिली साहित्यमा योगदान गर्ने विजेता कर्ण (चौधरी) लाई ‘श्रीप्रसाद दाहाल स्रष्टा सौगात’ र थारु साहित्यमा योगदान गर्ने भूमिका थारुलाई ‘श्रीनारायण दाहाल स्रष्टा सौगात पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कृत हुनेमा सात जना महिला स्रष्टा छन् भने सातवटै प्रदेशको प्रतिनिधित्व रहेको छ । पुरस्कृत स्रष्टाहरूले मानव अधिकार, शान्ति, लोकतन्त्र, वातावरण र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त नेवारी, संस्कृत, मैथिली, भोजपुरी, थारु, बान्तावा र लिम्बू गरी सात भाषामा विशेष योगदान गरेका छन् ।
लिला हाङ्मा सेलिङ्ग माबोः २०२८ वैशाख १२ गते पूर्वी लिम्वुवान याङरक ओयाम गाँउ पाँचथरमा जन्मनुभएकी सेलिङ्ग माबोले बेलायतको युनिर्भसिट अफ सरेबाट एमएस्सी गर्नुभएको छ । लिम्बु भाषाको प्रवद्र्धनमा योगदान गर्नुभएकी स्रष्टा माबोको याक्थुंग लिम्बु भाषामा सेमाङ्गलक् नामक कविता संग्रह प्रकाशित छ । सामाजिक न्याय, पहिचान र मुन्धुममा कलम चलाउने माबोले लिम्बु भाषामा गीत समेत लेख्नुभएको छ र उहाँको रचना आठ कक्षामा लिम्बु भाषा पाठ्यक्रममा समावेश छ । उहाँका लाहुरेनी पिडा नामक नेपालीमा कविता संग्रह र मेमोवाएर अफ अ गोर्खा वाइफ ड्युरीङ लकडाउन नामक पुस्तक अंग्रेजीमा समेत प्रकाशित छ ।






