
प्रस्तुति: चिम्खोले काईला – बेलायत
मेजर प्रेम बहादुर आले मेम्बर अफ भिक्टोरिया अर्डर (एमभिओ) कुईन्स गोर्खा इन्जिनियरका पुर्ब गोर्खा मेजर हुन्। मेजर आले बृटिश आर्मीको ल्याण्ड फोर्सेस लेभलको ब्याटमेण्टिङ खेलाडी हुन् भने बटालियन लेबलको भलिबल खेलाडी पनि हुन्। मेजर आले, बेलायतको स्वर्गीय हजुर महारानी इलिजाबेथ दोस्रोको बाहुलीबाट एमभिओ मेडलद्वारा विभूषित भएका व्यक्ति हुन् । उनी हालसालै मगर संघ युके, केन्ट शाखाको ९ औं अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका छन्।
प्रेम बहादुर आलेको जन्म बाबा इश्वर सिङ आले र आमा देउमाया आलेको कोखबाट सन् १९६४ सालमा तनहुँ जिल्ला, भिमात नगरपालिका वडा नम्बर ९ अस्पाक्दी गाउँमा भएको थियो। उनको बाल्यकाल आफु जन्मेको अस्पाक्दी गाउँमै बितेको थियो भने प्राराम्भिक शिक्षा बुचाखानी प्रथामिक बिद्यालयबाट शुभाराम्भ गरेका थिए। प्रथामिक बिद्यालय र निम्न माध्यामिक बिद्यालयको अध्ययन सकेपछि उनि माध्यामिक बिद्यालय अध्ययन गर्नको लागि कान्ती माध्यामिक बिद्यालय खस्यौली तथा बुटवल झरेका थिए। उनले कान्ती माध्यामिक बिद्यालय बुटवलबाट प्रबेशिका परिक्षा विशिष्ट अंक ल्याएर दोस्रो श्रेणीमा उतिर्ण गरेका थिए।
मेजर आलेले कान्ती माध्यामिक बिद्यालय बुटवलबाट प्रवेशिका परिक्षा उतिर्ण गरेपछि क्याम्पस स्तरको अध्ययन गर्न पोखराको पृथिवी नारायण क्याम्पसमा भर्ना भएका थिए। उनले क्याम्पसमा बिज्ञान बिषय लिएर अध्ययन गरेका थिए। पृथिवी नारायण कलेजमा अध्ययन गर्ने क्रममा साथीहरुको लहैलहैमा डाक्टर तथा इन्जिनियर बन्ने मोहलाई त्यागेर लाहुरे बन्न छाती नाप्न पुगेका थिए। चौडा छाती, सुगठित शरीर भएका, आएस्सी अध्ययन गरेका र खेलकुदमा रुचि राख्ने आलेको लाहुरे बन्ने सपना पहिलो प्रयासमा सफल भयो र उनि सन् १९८५ मा बृटिश आर्मीमा आबद्ध भएका थिए।
मेजर प्रेम बहादुर आलेले बृटिश आर्मीको आधारभूत तालिम हंगकंगको सेकोङस्थित मलाया लाइन्समा लिएका थिए। उनले बृटिश आर्मीको आधारभूत तालिम उतिर्ण गरेपछि उनि हंगकंगको पेरोन ब्यारेकमा कुईन्स गोर्खा इन्जिनियरको तालिम केन्द्रमा बेसिक कमब्याट इन्जीनियरिङको तालिम लिएका थिए। बेसिक कमब्याट इन्जीनियरिङ तालिममा मेजर आले सर्बोत्कृष्ट बिद्यार्थी घोषित भएका थिए। उनी कमब्याट इन्जीनियरिङ तालिममा सर्बोत्कृष्ट बिद्यार्थी भएकै कारण उनले रोजेको ट्रेड इलेक्ट्रिसियन ट्रेड प्राप्त गर्न सफल भएका थिए। बेसिक कमब्याट इन्जीनियरिङको तालिम सम्पन्न गरे पश्च्यात उनी कुईन्स गोर्खा इन्जिनियरको ६९ स्क्वाडन बेलायतमा आबद्ध भएका थिए।
मेजर आले कुईन्स गोर्खा इन्जिनियरमा कार्यरत रहदा उनले धेरै बर्ष इलेक्ट्रिसियनको क्षेत्रमा बिताएका थिए। उनि जुनियर लिडर काडर र कमब्याट इन्जीनियरिङ कलास वान तालिममा उनि सर्बोत्कृष्ट बिद्यार्थी घोषित हुदै सर्बप्रथम भएका थिए भने कमब्याट इन्जीनियरिङ फिल्ड सेक्सन कमाण्डरको तालिममा दोस्रो पोजिसन तथा ए ग्रेडिङ्ग प्राप्त गर्न सफल भएका थिए।
तेजिलो, फुर्तिलो र हँसिलो मेजर आलेले बृटिश आर्मीको रोयल इन्जिनियरले गर्नपर्ने सम्पूर्ण तालिमहरु जस्तै: फिल्ड सेक्सन कमान्डर कोर्स, फिल्ड सार्जन्ट कोर्स, जंगल वारफर कोर्स, ट्रुप कमान्डर कोर्सलगायत धेरै तालिमहरु बेलायत र ब्रुनाईमा लिएका छन्। उनले बृटिश सेनामा कार्यरत रहदा स्यापर, सेक्सन टुआइसी, सेक्सन कमान्डर, ट्रुप सार्जन्ट, ट्रुप स्टाफ, स्क्वाडन सार्जन्ट मेजर, ट्रुप कमान्डर, प्लाटुन कमान्डर, रिसोर्सेस ट्रुप कमान्डर, गोर्खा क्याप्टेन, रेकर्ड करियर एण्ड म्यानिङ्ग अफिसर (आरसीएमओ), कुइन्स गोर्खा अर्ली अफिसर (क्युजीओओ) र गोर्खा मेजर जस्ता महत्वपूर्ण पदहरुको अनुभब तथा जिम्मेवारीहरु बटुली सकेका छन्। उनको गोर्खा मेजर कार्यकालमा स्वर्गीय हजुर महारानी इलिजबेथ दोस्रोलाई गोर्खा इन्जिनियर इन्भिक्टा पार्क ब्यारेकमा भिजिट गराउनमा उनको ठुलो भूमिका रहेको थियो।
मेजर आले सन् २००१ मा कमिसन भएका थिए भने सन् २००८ मा मेम्बर अफ भिक्टोरिया अर्डर (एमभिओ) र २००९ देखि २०१२ सम्म गोर्खा मेजर जस्तो गरिमामय पदको महत्वपूर्ण जिम्मेवारी लिएपछि बृटिश आर्मीबाट सन् २०१२ मा अवकाश प्राप्त गरेका थिए। उनी सन् २०१२ देखि सन् २०२३ सम्म सतन भ्यालेट स्कुलमा कम्बाइन क्याडेट फोर्सेसमा प्रशिक्षकको रुपमा कार्यरत थिए। हालमा उनले उक्त पेशाबाट अवकाश प्राप्त गरिसकेका छन्।
कुइन्स गोर्खा इन्जिनियरमा कार्यरत रहदा मेजर आलेले दुरान मेडल जस्ता महत्वपूर्ण मेडलबाट विभूषित भएका छन्। दुरान मेडल एक बर्ष भारतीय गोर्खा इन्जिनियरको सर्बोत्कृष्ट नतिजा ल्याउने अफिसरलाई प्रदान गरिन्छ भने अर्को बर्ष बृटिश आर्मीको कुइन्स गोर्खा इन्जिनियरको सर्बोत्कृष्ट नतिजा ल्याउने सिनियर नन कमिसन अफिसर तथा अफिसरलाई प्रदान गर्ने गरिन्छ। मेजर आलेले बोरिङ ट्रफी पनि प्राप्त गरेका छन्। जुन ट्रफी हरेक बर्ष कुइन्स गोर्खा इन्जिनियरमा कार्यरत सर्बोत्कृष्ट नजिता ल्याउने लान्स कर्पोरललाई प्रदान गर्ने गरिन्छ।
मेजर प्रेम बहादुर आले श्रीमती पवित्रा कुमारी आले, छोराहरु फ्लाइट लेफ्टेनेण्ट (पाइलट) सुदिप आले, अनुप आले र छोरी सलिना आलेसंग बेलायतको मेडस्टोन भन्ने शहरमा बसोबास गर्दै आएका छन। उनले संसारका बिभिन्न मुलुकहरुको भ्रमण गरिसकेका छ। जस्तै: नेपाल, भारत, बेलायत, हंगकंग, ब्रुनाई, इराक सिंगापुर, थाइल्याण्ड, मलेसिया, फिजी, कतार, दुवाई, अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, साइप्रस, केन्या, बेलिज, कोसोभो, बोजनिया, फ्रान्स, स्पेन, बेल्जियम, हल्याण्डलगायत यूरोपका थुप्रै देशहरुको भ्रमण गरिसकेका छन।
मेजर आले फुर्सदको समयमा बिभिन्न सामाजिक संस्थाका कार्यक्रमहरुमा व्यस्त हुन्छन भने बचेका समय भलिबल, ब्याटमेण्टन र गल्फ खेल्न रुचाउछन्। उनी श्रीमती पवित्रा कुमारी आले, छोराहरु पाइलट सुदिप आले, अनुप आले र छोरी सलिना आलेसंग देश विदेशको भ्रमण गर्न रुचाउछन।






