सोल ४ डिसेम्बर २०२४ । दक्षिण कोरियामा विपक्षीले बुधबार राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेका छन् ।
राष्ट्रपति योलले अल्पकालीन सैनिक शासन लागू गर्ने घोषणापछि रुष्ट बनेको विपक्षीले बुधबार उक्त निर्णय लिएका हुन् । युनले असाधारण सैनिक शासनको घोषणा गरेसँगै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिए र राष्ट्रपतिलाई निर्णय फिर्ता लिन बाध्य बनाए ।
विपक्षी डेमोक्रेयाटिक पार्टी (डीपी) का नेता किम योङ मिनले भने, ‘हामीले तत्काल राष्ट्रपति युनविरूद्ध महाभियोग प्रस्ताव पेश गरेका छौं ।’ उनीहरूले राष्ट्रपति युनविरूद्धको महाभियोग प्रस्तावमा संसदमा मतदान कहिले राख्ने भन्ने बारे निर्णय गर्न बाँकी छ । उच्च पदस्थ विपक्षी नेताहरूले मतदान शुक्रबारसम्म हुन सक्ने बताएका छन् ।
दक्षिण कोरियाको ३०० सदस्यीय संसद्मा विपक्षीदलसँग भारी बहुमत छ तर प्रस्ताव पारित गर्न आवश्यक दुई तिहाइ बहुमत भने पुग्दैन । यसका लागि राष्ट्रपतिको पार्टीबाट केही सांसदको दलबदल आवश्यक छ ।
यसअघि डीपीले युन, उgका रक्षा तथा आन्तरिक मामिलामन्त्री, सैन्य कानुनका कमान्डर र प्रहरी प्रमुखलगायतका अधिकारीविरूद्ध राज्य विद्रोह (कू) को मुद्दा दायर गर्ने बताएको थियो ।
यसैबीच, पछिल्लो घटनाक्रमलाई लिएर देशको सबैभन्दा ठूलो छाता श्रमिक सङ्घले युनले राजीनामा नदिएसम्म अनिश्चितकालीन आम हड्तालको आह्वान गरेको छ ।






