लाहाङ चेम्जोङ
युकेमा बसोवास गर्ने लिम्बू समाजको लागि गत जुलाई दुईवटा कारणले गर्दा चर्चा गर्नलायकको बन्यो । एक, पहिचान र लिम्बुवान आन्दोलनका युवानेता कुमार लिङ्देनको युके भ्रमण र अर्को नेपाली गीत, संगीतका लोकप्रिय गायक पहिलो नेपाली तारा दिपक लिम्बूको सांगीतिक भ्रमण । यी दुईजना नेता र गायकहरुलाई लिम्बुवानी राजनीतिको परिधिभित्र राखेर बहस गर्ने कोसिस स्तम्भकारको हुनेछ ।
गायक दिपक लिम्बू लिम्बुवानमै जन्मेर हुर्केकाले लिम्बुवानको राजनीतिबाट अलग हुने कुरै भएन, त्यसमा पनि उनी लिम्बुवानको राजनीतिलाई नजिकबाट विश्लेषण गर्न पनि सक्दा रहेछन् भन्ने थप कुरा थाहा भयो । लिम्बुवानको बारेमा उनले बोलेका कुराबाट बहसको सुरुआत गर्ने कोसिस गर्नेछु । लिम्बुवान प्राप्तिको आन्दोलनलाई नजिकबाट सहयोग गर्न भनेर स्थापना भएको स्वतन्त्र संगठन ‘लिम्बुवान नागरिक समाज युके’ यतिबेला समाजसेवी नरेन्द्र मावोहाङको नेतृत्वमा युकेमा सशक्त भूमिकामा छ । यो समाजले गायक दिपक लिम्बूलाई सम्मान गर्न एक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा लिम्बूले भनेका थिए– ‘तपाईंहरुले लिम्बुवानलाई धेरै सहयोग गर्नुभयो । तर सहयोगको सदुपयोग कति भयो भनेर पनि विचार गर्नुहोस् ।’ यो भनाइभित्र निक्कै गहिरो रिडल लुकेको छ । काडमाडांैलाई कर्मथलो बनाएका लिम्बू जब इटहरी पुग्थे, जताततै लिम्बुवान लेखेको देख्थे, लिम्बुवानको झन्डा देख्थे र लिम्बुवानको चर्चैचर्चा सुन्थे अनि लिम्बुवान पुगेको महसुस गर्ने गर्थे र अहिले प्रश्न गर्छन्– ‘खोई ! त्यो लिम्बुवानी सत्ता ?’ सायद, धेरैले सोधिरहने प्रश्न यही हुनुपर्छ । यो प्रश्नको उत्तर पक्कै पनि गायक लिम्बूसँगै भ्रमणमा युके आएका नेता कुमार लिङ्देनले दिन्छन् भन्ने लाग्छ । यो प्रश्नसँग नेता लिङ्देनले भाग्नै मिल्दैन ।
लिङ्देन युकेमा करिब दुई साता बसे र एक दर्जन जति कार्यक्रममा बोले अनि फर्के । गायक लिम्बूको प्र्रश्नको वरिपरि नेता लिङ्देन कसरी घुमे र युकेवासी लिम्बूहरुले कसरी लिए । चर्चा सुरु गरौँ । यो युके भ्रमण नेता लिङ्देनको दोस्रो पटक थियो । गज्जबको कुरा के रह्यो भने पहिलोपटक युके भ्रमण गराउन पहलकदमी गर्ने युके निवासी उनका कार्यकर्ताहरु अहिले उनको साथमा कोही पनि छैनन् । त्योबेला, उनलाई युकेमा परिचय गराउने मुख्य व्यक्ति युमा लिम्बू उनको आगमनसँग लगभग बेखवर थिइन् । उनी यतिबेला लिङ्देनको पार्टीबाट मुक्त भइसकेकी छिन् भने याक्थुङ चुम्लुङको महिला कमिटीको अध्यक्ष भएर सशक्त काम गरिरहेकी छिन् । लिङ्देनका तत्कालीन युके अध्यक्ष लोकेन्द्र तबेबुङ पनि उनीसँग अलग छन् । यसपालि भने लिङ्देनले फेरिएका पात्रहरुसँग कार्यक्रमहरुमा सहकार्य गरे । खैर, युकेमा निक्कै चर्चा बटुले । लिम्बुवान तथा पहिचानको आन्दोलनसँग प्रत्यक्ष तथा परोक्ष सरोकार राख्ने युकेवासी व्यक्तिहरुले एक पटक उनीसँग छलफल तथा अन्तरक्रिया गरौं भनेर चासो राखे । पहिलो संविधानसभामा बहत्तर हजार मत ल्याई दुईजना सभासद भएको पार्टीको अध्यक्ष लिङ्देन दोस्रोपटक युके भ्रमण गर्दैगर्दा छब्बिस हजार मत प्राप्त गरी प्रदेश एकमा एकजना सभासद भएको पार्टीको अध्यक्षको हैसियतमा युकेमा युकेवासी लिम्बुवानका जनताबीचमा छलफल गर्दैथिए । यसपटक, अध्यक्ष लिङ्देनले आफ्नो समय नेपालमा र युकेमै पनि प्रतिकुल हुँदाहँुदै युके भ्रमण गरेका थिए । किनभने थुप्रै समस्याहरुले उनी घेरिएका थिए ।
युकेमा उनको मुख्य कार्यक्रम युके समितिको अधिवेशन थियो । तर, युके समितिभित्र दुई गुटबीचमा समस्या थियो । हुनलागेको अधिवेशनबाट केही नेता असन्तुष्ट थिए । पुराना नेता चुडामणि तुम्बाहाम्फे, निक्कै सुझबुझ भएका नेता खेमराज मादेन, तिलबिक्रम लावती, पेपराज लिम्बूलगायत शक्तिशाली नेताहरुले उनको युके आगमनलाई स्वागत गर्न तयार थिएनन् । अन्तत, केही हदसम्म उनले युके समितिभित्र राम्रो भूमिका खेले र असन्तुष्टहरुको सम्बोधन गरे ।
हजारौ लिम्बूहरु भेला भएर सम्पन्न हुने फेल्ताम, लन्डनको सिसेक्वा तङ्नामको भव्य कार्यक्रममा अध्यक्षको हैसियतमा सम्बोधन गर्न त पाए, तर के बोल्ने र के नबोल्ने भन्ने विषयमा सेन्सर लगाइदिए, आयोजकले । यो आफैंमा लिङ्देनलाई युकेका लिम्बूहरुले दिएको नमिठो झापड थियो । कुन अर्थमा भने, लिम्बुवानको अध्यक्षको हैसियतले लिम्बुवानको राजनीतिको विषयमा बोल्न चाहेर पनि पाएनन् । लिम्बुवान आन्दोलनको रेकिकर्ता लिङ्देनले के त्यस्तो बिराए र उनको भाषण सर्वस्वीकार्य भएन, युकेमा । लिम्बुवानजन्य पाँच पार्टीहरु एक भएको हेर्न चाहने युकेका लिम्बूहरुलाई एकता भङ्ग गरेकोमा लिङ्देनप्रति आपत्ति थियो । एकतामा आएको दुई वर्ष नपुग्दै लिङ्देन एकता अघिको पुरानो पार्टीमा फर्केपछि एकता ध्वस्त भएको थियो । यो हर्कत किन गरे ? रिसाएका युकेवासी लिम्बूहरु तथा बुद्धिजिवीहरु सोध्न चाहन्थे । यी रिडलहरुको सामना गर्नु थियो, लिङ्देनले । यसैको मुकाविला गर्दै बित्यो लिङ्देनको दुई साता ।
विभिन्न कार्यक्रमहरुमा अध्यक्ष लिङ्देनले एकता तोडिनुको नेपथ्य कारणहरु मुख्यगरी दुईवटा औंल्याए । एक, तत्कालीन नेताहरु वीर नेम्बाङ, स्व. कमल छाराहाङ र सन्जुहाङ पालुङ्वाहरुले आफ्नो बलियो उपस्थिति देखाउन जबरजस्त उठाएका ग्रेटर लिम्बुवानको सन्दर्भ, जनमतसंग्रह, सशस्त्र आन्दोलन र समानान्तर सरकारलगायत । दोस्रो, खगेन्द्र माखिम र सूर्य माखिमबीचको पदिय जुवाडी । दोस्रो कारणको बारेमा खगेन्द्र माखिमले अस्वीकार गर्दै आएका छन् । यदि, पदीय प्रतिस्पर्धा हो भने पनि यो पार्टी फुट्नुपर्ने बलियो कारण बन्नै सक्दैन किनकि यी ऐजन्का नेताहरु दोस्रो दर्जाका नेताहरु थिए । द्वन्द्वात्मक भौतिकवादी दर्शनले व्याख्या गरेअनुसार संगठनमा प्रतिस्पर्धाको द्वन्द्व हुनुपर्छ । यसले संगठनलाई गतिशिलता प्रदान गर्दछ । गतिशील संगठनको गर्भबाट मात्र सक्षम नेताहरुको जन्म हुनसक्दछ । यसलाई संगठनको सामान्य प्रक्रिया मान्नुपर्ने हो, तर पार्टी फुटको कारक तत्वको रुपमा व्याख्या गर्ने कोसिस गर्छन्, लिङ्देन इतर ।
तत्कालीन शिर्ष नेताहरुले उठाएका सन्दर्भहरु जबरजस्त थिए । एकता भएपछिको नयाँ पार्टीमा कार्यकर्ताहरुको अगाडि आफ्नो बलियो उपस्थिति वा अस्तित्व देखाउन जबरजस्त रटान थियो– उनीहरुको । लिङ्देन आफैं सहअस्तित्ववादको व्याख्या गर्छन् – अस्तित्व सबैलाई प्यारो हुन्छ । अस्तित्व जोगाउन केही गर्नु वा केही बोल्नु मानवीय चरित्र हो । तर, तत्कालीन अध्यक्ष लिङ्देनले यो रटान तथा उठानहरुलाई आखा चिम्म गरेर अस्वीकार गरिदिए । यसको विषयहरुमा लिङ्देन राजनीतिक प्रक्रियाभित्र प्रवेश गर्न नै चाहेनन् । कुनै पनि मिटिङ, छलफल, सम्मेलन र अधिवेशनहरुमा गएर सुल्झाउने प्रस्तावहरु अस्वीकार गरिदिए । यो कुरा युकेवासी लिम्बुवानी जनताहरुसँगको अन्तरङ्गहरुमा पनि स्पष्ट पारे तथा स्वीकारे । लोकतान्त्रिक पार्टीको अध्यक्ष तथा अस्तित्ववादी नेताले मिटिङ, छलफल, बहस र सम्मेलनहरुलाई अस्वीकार गर्नु वा अस्वीकार गरिरहनु निक्कै नै अनौठो कुरा हो । रोग लागे निदानको खातिर अस्पताल जानुजस्तै हो, संगठनमा समस्या आए सम्मेलन तथा अधिवेशनमा जानु । यो संगठनको सर्वव्यापी लोकतान्त्रिक विधिभित्र पर्दछ । तर लिङ्देन लोकतान्त्रिक विधि बैठक, छलफल, बहस, सम्मेलन र अधिवेशनको मार्ग हँुदै समस्याको निदानसम्म जान चाहेनन् र लिम्बुवानको आन्दोलनमा सजिलो गरेर बिर्सन नसकिने आपत्ति आइलाग्यो । आफू अध्यक्ष हुँदाहुँदै अल्पमतको केन्द्रीय समिति लगेर एकता पूर्वको पार्टी संघीय लोकतान्त्रिक मञ्चलाई ब्यूँताउने निर्णयमा पुगे । परिणामतः लिम्बुवानको आन्दोलन झर्याम–झुरुम फुट्यो । एकताको सन्दर्भ एकादेशको कथा जस्तो भयो ।
जताततै एकताको माहोल भइरहेको अवस्थामा प्रतिकूल नायक भएर लिङ्देनले फुट्नुको औचित्य सावित गर्दै हिँडे र युकेमा पनि सोही गर्ने कोसिस गरे । उनमा विभाजनप्रति कुनै किसिमको खेद तथापश्चताप् देखिएन । अब हुने सम्भावना बोकेको जनमुक्ति पार्टी र मङ्गोल नेशनल अर्गनाइजेशनहरुसँगको एकता पनि उनले अस्वीकार गरे । एकताको कार्यदिशाले कम्युनिस्टहरुलाई फेरि एकपटक सत्तामा पुर्याएको आँखै अगाडिको सबुतलाई उनले चासोसम्म नदिएको महसुस युकेवासी लिम्बुवान पक्षधर जनताहरुले गरे । एकताको कार्यदिशाले मात्र लिम्बुवान आन्दोलन उठ्न सक्छ भन्ने विचार राख्ने युकेका लिम्बूहरुलाई नेता लिङ्देनले निरास बनाए । बरु, युकेवासी लिम्बूहरु अध्यक्ष लिङ्देनको जानकारी नै नभएको पक्षबाट उत्साहित भए, त्यो थियो– कविको रुपमा । जब प्रवासी नेपाली साहित्यका अध्यक्ष जितेन्द्र चेम्जोङ र विश्व नेपाली साहित्य महासंघका अध्यक्ष बिश्वासदीप तिगेलाको सक्रियतामा अध्यक्ष लिङ्देनको एकल कविता वाचन कार्यक्रम सम्पन्न भयो, तब कविको रुपमा उनको निक्कै चर्चा सुरु भएको छ । यसपटकको भ्रमणले अध्यक्ष लिङ्देनलाई राजनीतिक पात्रको रुपमा भन्दा पनि साहित्यिक सर्जकको रुपमा युकेवासी लिम्बूहरुको माझमा स्थापित गराएको छ ।
युके भ्रमणमा सँगै आएका गायक दिपक लिम्बूको ‘लिम्बुवानी सत्ता (शक्ति) खोई ?’ भन्ने प्रश्नको जवाफ अब कुहिरोको कागजस्तै भएको देखिन्छ । यो कुरा वि.सं. २०६४/६५ तिरको हो । लिम्बुवानको नाम नेपाली राजनीतिक वृत्तमा झलझली थियो । तत्कालीन गीर्जाप्रसाद कोइरालाको सरकारलाई पाँच बुँदे सम्झौता पत्रमार्फत लिम्बुवानको ग्यारेन्टी गर्छु भनी लालमोहर दिलाइ माग्ने शक्ति थियो–लिम्बुवान । लिम्बुवानका हरेक नागरिकले लिम्बुवानी सत्ताको महसुस गर्न थालेका थिए, जसरी गायक दिपक लिम्बुले इटहरी पूर्व जाँदा महसुस गर्थे । किनबेच र ढिलासुस्तीमा जकडिएको अदालतको विकल्पको रुपमा लिम्बुवानको कार्यलयहरु स्थापित हुन खोजिरहेका थिए । चोक र गल्लीहरुमा हुने बदमासी नियन्त्रणमा लिम्बुवानको भूमिकाहरुको माग निक्कै बढेको थियो । जताततै लिम्बुवानको उपस्थिति देखिन्थ्यो । सत्ता सञ्चालनको स्तरमा लिम्बुवान पुग्दै थियो । अर्को वाक्यमा भन्ने हो भने लिम्बुवान संगठन शक्तिकेन्द्रित राजनीतिक दाउपेचमा प्रवेश गर्दैथियो । तर, लिम्बूवानको त्यो शक्ति (सत्ता) ले संस्थागत हुनै पाएन । टुटफुटको गञ्जागोलभित्र लिम्बुवान नमज्जाले फस्यो । यसमानेमा, लिम्बूवानको संगठन र शक्तिलाई संस्थागत गर्नसक्ने खुबी नेतृत्वमा देखिएन । अहिलेसम्म देखिएको छैन ।
बिर्तामोडको लिम्बुवान एकताको घोषणासभामा उपस्थित जनताको उभार देखेपछि तत्कालीन सर्वमान्य नेता वीर नेम्वाङले भनेका थिए– ‘पचासौं हजार जनता ओइरिए । अब लिम्बुवान उठ्यो ।’ अध्यक्षको हैसियतले कुमार लिङ्देनले ती ओइरिएका पचासौं हजार जनताको नेतृत्व गरिरहेका थिए । नेपालको राष्ट्रिय राजनीतिमा अध्यक्ष लिङ्देन र लिम्बुवान एकताको चर्चा र परिचर्चा हुन थालेको थियो । लगभग लिम्बुवानी सत्ता फर्कंदै थियो । यसमानेमा, अध्यक्ष लिङ्देनलाई लिम्बुवान आन्दोलन तथा पहिचानको आन्दोलनको सार्थक नेतृत्व गर्ने अवसर फेरि एकपटक मिलेको थियो, जुनखाले राजनीतिक अवसर लरतरले आउँदैन । ‘एक जुगमा एकदिन एकपटक आउँछ’ भनेजस्तै थियो, त्यो समय । त्यस्तो अवसर, वि.सं. २०४७/४८ तिर आदिवासी नेता गोरेबहादुर खपाङ्गी र काजीमान कन्दङ्वाहरुलाई प्राप्त भएको थियो । पहिचान राजनीतिका दोस्रो भाग्यमानी नेता कुमार लिङ्देन भएका थिए । तर, चुके जसरी खपाङ्गी र कन्दङ्वाहरु चुकेका थिए ।
एकता भङ्ग गरेपछि नेता लिङ्देन कसरी राजनीतिक मैदानमा देखिन्छन् भन्ने थियो । तर देखिए, हात्ती र स्यालको कथित घमासन युद्ध जस्तो भएर । शासकहरु हात्ती जस्तो बढेमानको भएर आइसके, स्याल पूmर्ति लडाइरहे जस्तो । यो युद्ध नसुहाउने भयो । त्यसोभए के गर्नु पथ्र्यो ? शान्तिपूर्ण आन्दोलनको कार्यदिशा भनेको विचार र मुद्दा मिल्नेहरुबीचको एकता नै हो । एकताको कार्यदिशाले मात्र शासकहरुसँग प्रतिरोध गर्ने क्षमता प्राप्त हुनसक्छ । तत्कालीन एमाले र माओवादीको एकताले सत्ता प्राप्तसम्मको दिशानिर्देश गर्यो । तत्कालीन सात दल र माओवादीबीचको मोर्चा (एकता) ले ६२/६३ को आन्दोलनमार्फत राजतन्त्रलाई घुँडा टेकायो । ४७ सालको बाम घटक र कांग्रेसको मोर्चाबन्दी (एकता) ले निर्दलीय व्यवस्थालाई ढालेर बहुदलीय व्यवस्था ल्यायो । नेपाली राजनीतिमा परिवर्तनहरु सम्भव भएका छन्, एकता र मोर्चाबन्दीले मात्र ।
अहिले लिम्बुवान तथा पहिचानको आन्दोलन एकदमै नाजुक अवस्थामा पुगेको छ । मुलुक अर्धसंघीयतासम्म मात्र पुगेको छ । अतिवादी हिन्दुत्वको संरक्षक राजतन्त्र ढले पनि बाहुनवाद जिउँदै छ । पहिचानमा आधारित स्वायत्त राज्यहरुको निर्माण गर्ने आन्दोलन कति पनि पूरा भएको छैन । नाममात्रको धर्मनिरपेक्षताले अल्मल्याएको छ– जनता । मुलुकी संहिता जारी हँुदै गर्दा विभेदकारी कानुनहरु लागू भइरहेका छन् । रेशम चौधरी, लक्ष्मण थारुलगायत दुई दर्जन थारु नेताहरु जेलमा कोचिएका छन् ।
यी असमान तथा एकलवादी मुद्दाहरुको विरुद्ध लड्न स्यालको धाकले हुन्छ र ? गैरसरकारी संस्थाका कार्यक्रमजस्ता कार्यक्रमहरुले जनताका विश्वास प्राप्त हुन्छ र ? सडकमा हिँडेर र चोकमा कुर्लेर आन्दोलनको आँधीबेहरी ल्याउन सम्भव छ र ? तसर्थ, पहिचानवादीहरुको सशक्त एकताले मात्र हिन्दुवादी राज्यसत्तासँग भिड्न सामथ्र्य राख्दछ । पहिचानवादीहरुको निमित्त एकताको कार्यदिशा तय गर्न अति जरुरी छ । यसको लागि अध्यक्ष लिङ्देनले राजनीतिक नैतिकता इमान्दारपूर्वक प्रदर्शन गर्नुपर्दछ ।






