कजाकिस्तान २५ डिसेम्बर २०२४ । अजरबैजान एअरलाइन्सको यात्रुबाहक विमान पश्चिमी कजाकिस्तानमा बुधबार दुर्घटनाग्रस्त भएको छ ।
हावाहुरीका कारण निर्धारित गन्तव्यमा जान नसकेपछि मार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । कजाकिस्तानका अधिकारीहरूले बाकूबाट रूसको ग्रोज्नीका लागि उडेको एम्ब्रेयर १९० विमान क्यास्पियन सागरको पूर्वी किनारामा तेल र ग्याँसको केन्द्र अक्टाउ शहर नजिकै दुर्घटना भएको बताएका छन् ।
कजाकिस्तानका अधिकारीले भनेका छन्, “विमानमा रहेका ३० भन्दा बढी यात्रुको मृत्यु भएको हुनसक्ने बताएका छन् । मृतकको सङ्ख्या अझै औपचारिक रूपमा पुष्टि हुन सकेको छैन ।”
विमानमा ६२ यात्रु र पाँच चालक दलका सदस्य थिए भने २८ जनालाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । उक्त विमान अजरबैजानको राजधानी बाकुबाट क्यास्पियन नदीको पश्चिमी किनारमा रहेको दक्षिणी रुसको चेचन्यास्थित ग्रोज्नी शहरका लागि उडेको थियो ।






