लन्डन २६ डिसेम्बर २०२४ । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बिहीबार राति निधन भएको छ । उनी ९२ वर्षका थिए ।
सिंह बिहीबार घरमा अचानक बेहोस भएपछि दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्स (एम्स) लगिएको थियो। उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण उनको उपचार भइरहेको थियो र बिहीबार घरमा अचानक बेहोस भएका उनलाई तुरुन्तै घरमा सामान्य उपचारपछि राति ८:६ बजे नयाँ दिल्लीस्थित एम्समा मेडिकल इमर्जेन्सीमा लगिएको थियो ।
“सबै प्रयासका बावजुद उहाँलाई बचाउन सकिएन र राति ९:५१ बजे उहाँलाई मृत घोषित गरियो, “ एम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ। सिंहले राज्यसभामा ३३ वर्ष सेवा गरेपछि यसै वर्षको सुरुमा राज्यसभाबाट अवकाश लिएका थिए ।
सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनोमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए ।






